|

बाँके : ‘हुनेले दिऔं, नहुनेले लैजाऔं’ भन्ने उद्देश्यले नेपालगन्जको दुई स्थानमा फुड बैंक स्थापना गरिएको छ।  

कोरोना–१९ का कारण गरिएको लकडाउनले दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई लक्ष्य गरी फुड बैंक स्थापना गरिएको नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले बताए। 

गैरसरकारी संस्था महासंघ नेपाल, बाँकेको हलमा स्थापना गरिएको फुड बैंकको औपचारिक उद्घाटन गर्दै मेयर डा. राणाले फुड बैंकले खान नपाएका गरिबका दुःखमा मल्हम लगाउन सघाउने बताए। फुड बैंकका लागि उपमहानगरपालिकाले पाँच लाख बराबरको खाद्यान्न सहयोग गर्ने भएको छ। फुड बैंकका लागि मेयर राणाले ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणासमेत गरे। 

कारकाँदो र भेरी अस्पताल रोडमा फुड बैंक स्थापना भएको छ। उद्घाटन कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले बैंकले चुलो निभेका गरिब तथा असहायलाई राहत पुग्ने बताइन्। उनले परोपकारी भावनाका साथ स्थापना भएको फुड बैंकले साँच्चिकै अप्ठेरोमा परेकाहरूमा निहित हुनुपर्ने बताइन्।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले फुड बैंकका लागि आवश्यक सहयोग गर्ने आश्वासन दिए। फुड बैंक सञ्चालन तथा व्यवस्थापन समितिका संयोजकसमेत रहेका गैरसरकारी संस्था महासंघ, बाँकेका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत फुड बैंकका सह–संयोजक डा.विनोद कर्णले गरेका थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.