|

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिकाले कोरोना भाइसर (कोभिड १९ ) को संक्रमण कम भएका ठाउँमा विद्यालय सञ्चालन गर्ने तयारी बढाएको छ।

उपमहानगरले विद्यार्थी सिकाइ सहजीकरण कार्ययोजना बनाएर विभिन्न क्षेत्र छुट्याएर विद्यालय सञ्चालनको तयारी गरेको उपमहानगरका शिक्षा समिति संयोजक देवराज विश्वकर्माले जानकारी दिए। 

लामो समयसम्म विद्यालय सञ्चालन नगर्दा बालबालिकामा नकारात्मक प्रभाव परेको भन्दै अब जोखिम नक्सांकन गरेर विद्यालय सञ्चालनमा बढेको उनले बताए।कार्ययोजना अनुसार कक्षाकोठा वा सिकाइ केन्द्रमा आकार अनुसार बढीमा १५ देखि २० जनासम्म विद्यार्थी राख्ने गरी अध्यापन गराउने उल्लेख गरिएको छ। 

विद्यार्थी सिकाइ सहजीकरणका लागि संक्रमणको अवस्था हेरेर विद्यालयको वर्गीकरण समेत गरिएको छ। तुलसीपुर भित्रमा वडा नम्वर ५,६,७,९, १२ र वडा नम्वर ४ को मावि रक्षाचौरलाई उच्च जोखिम भएको क्षेत्रका रुपमा राखिएको छ भने मध्यम जोखिम क्षेत्रका रुपमा वडा नम्बर ४,८,१०,११,१७,१८,१९ का सबै क्षेत्र र वडा नम्वर २ को मावि बालापुर र वडा नम्बर १ को मावि भ्युडहर सुनपुर रहेका छन्। 

यसैगरी न्युन जोखिम रहेका क्षेत्रहरुमा वडा नम्वर १,२,३,१३,१४,१५,१६ का सबै क्षेत्र र वडा नम्वर ९ को मावि सल्लीवन, वडा नम्वर १९ को मावि कुटिचौर रहेका छन्। 

सिकाइ सहजीकरणका लागि सबै क्षेत्रमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर ५० जनाभन्दा कम विद्यार्थीलाई प्रत्यक्ष कक्षा सञ्चालन, ५० भन्दा बढी र १ सयभन्दा कम विद्यार्थी संख्या भएका विद्यालयमा २ सिफ्टमा कक्षा सञ्चालन गर्ने व्यवस्था छ। त्यस्तै १ सयभन्दा बढी र २ सयभन्दा काम विद्यार्थी संख्या भएकोमा सिकाइ केन्दमार्फत सञ्चालन गर्ने र सोभन्दा बढी विद्यार्थी संख्या भएकोमा विभिन्न चरणमा वा सम्पर्क कक्षा सञ्चालन गर्ने निर्देशिकामा व्यवस्था गरिएको छ। 

कक्षा सञ्चालन गर्न पहिलो साता १० देखि १५ मिनेटसम्म प्रधानाध्यापकले परामर्श कक्षा लिने र बढीमा ३ देखि ४ घण्टासम्म मात्रै अध्यापन गराउने निर्देशिकाले तोकेको समितिका संयोजक विकले जानकारी दिए। 

विद्यार्थी सूचना प्रविधिको पहुँचमा भएको अवस्थामा अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्न सकिने गरी व्यवस्था गरिएका उनले जानकारी दिए। विद्यालयहरुलाई सामाजिक दूरी कायम गरेर भर्ना कार्यक्रम बढाउनसमेत अनुमति दिइएको शिक्षा प्रमुख एंव निमित्त प्रमुख प्रशासकीय अधिकृत भाष्करराज गौतमले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.