|

धनकुटा : वडा कार्यालयबाट सेवा सुविधा उपभोग गर्न कठिनाई भएको भन्दै पाख्रीबासका नगरबासीले सीमा हेरफेरको माग गरेका छन्‌।

​जिल्लाको साविक पाख्रीबास नगरपालिका वडा नं.४ (हाल वडा नं. ३) कसेनी टोलमा बसोबास गरिरहेका टोलवासीहरूले सीमा हेरफेर गर्न माग राख्दै नगरपालिका कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन्‌। 

पाख्रीबास नगरपालिका वडा नं.३ कसेनी टोलमा बसोवास गरिहेको ६० घर टोलवासीले हाल पाख्रीबास कृषि अनुसन्धान केन्द्र नजिकै रहेको वडा कार्यालयबाट प्रवाह हुने सेवा सुविधा लिन हदैसम्म कठिन भएको भन्दै नगर प्रमुख वृषवहादुर राईलाई ज्ञापन पत्र बुझाएका हुन्‌।

​पाख्रीबास नगरपालिकाको नयाँ संरचना अनुसार हालको वडा नं. ३ को भौगोलिक सीमा उत्तरतर्फ धनकुटा नगरपालिका–१ हिले र दक्षिणतर्फ कसेनी भुल्केसम्म जोडिएको छ। हालको वडा नं. ३ कसेनीमा वसोवास गर्ने नगारिकहरूलाई राज्यले प्रदान गर्ने सेवा सुविधा उपभोग गर्न असहज भएको उनीहरूले बताएका छन्‌।

​उनीहरूले आफुहरू बाध्य भएर टोलवासीको संयुक्त निर्णयले हस्ताक्षर संकलन गरी पुनः हालको पाख्रीबास नगरपालिकाको वडा नं. ४ मा समेटी दिन निवेदन दिएको कसेनी टोलका चकेन्द्र कुमार राईले बताए। उनले संघीय संरचना अनुसार तत्कालिन गाविस भन्दा पनि अपायक परेकाले कसेनी टोलका जनताहरूलाई सिंहदरबारको अधिकार घरघरमा भनिरहँदा सेवा लिन कठिन भएको नगर प्रमुख वृष वहादुर राई सामु गुनासो गरे। 

ज्ञापनपत्र बुझाउन पाख्रीबास नगरपालिका कार्यालय पुगेका कसेनी टोलका अर्का अगुवा मिलन देवान राईले स्थानिय सरकार संचालन ऐन २०७४ को परिच्छेद–२ को दफा ६ मा व्यवस्था भएको सीमा हेरफेर सम्वन्धि कानुनी आधारलाई टेकेर आफूहरूले माग गरेको बताएका छन्‌। उनले कसेनी टोलका ६० घरका करिव ३ सय सदस्यहरूको संयुक्त भेला र मञ्जुरीबाट निर्णय गरेर वडाको सिमाना हेरफेरको विषयमा नगरपालिकामा ज्ञापनपत्र दिन टोलवासीको अगुवाई गरेर आफूहरू आएको बताए।

कसेनी टोलवासीले बुझाएको सीमा हेरफेर सम्वन्धी ज्ञापन पत्र बुझ्दै पाख्रीबास नगरपालिकाका प्रमुख वृषवहादुर राईले टोलवासी मागलाई सम्वोधन गर्न आवश्यक प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएका छन्‌। उनले टोलवासीको पुर्ण सहमती हो भने टोलवासीहरूको आम भेला बोलाएर आमभेलाको निर्णय सहित नगरपालिका अघि बढ्ने बताए।

टोलवासीले नै आफूहरू राजीखुशी साथ पाख्रीबास वडा नं. ३ बाट वडा नं. ४ मा समाहित हुन तयार हुन्छन् भने नगर कार्यपालिकाले प्रक्रिया अघि बढाउने प्रमुख राईले बताए। उनीहरूले पाख्रीबास नगरपालिका कार्यालयमा बुझाएको ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय धनकुटामा समेत बोधार्थ दिएका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.