|
घाइते दीपेन्द्र रेग्मी, फोटो: सन्तोष बुढाथोकी

लमजुङ : सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसका विद्यार्थीबीच सोमबार बिहान झडप भएको छ। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ र नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकाबीच क्याम्पसमा लागेको ताला खोल्ने विषयमा झडप भएको हो।

अनेरास्ववियुले आइतबार क्याम्पसमा तालाबन्दी गरेको थियो। ताला खोल्नलाई सोमबार बिहान क्याम्पस प्रशासनले सबै विद्यार्थी संगठनलाई छलफलमा बोलाएको थियो। छलफल गर्न जाँदाखेरी अनेरास्ववियुले सांघातिक आक्रमण गरेको नेविसंघका जिल्ला अध्यक्ष अंकित भट्टराईले बताए। 'हामीलाई क्याम्पसले वार्तामा बोलाएको थियो। हामी निर्वाचन गराउन दबाब दिनलाई क्याम्पस गएका थियौं', उनले भने, 'एमाले कार्यकर्ता र अनेरास्ववियुका नेताहरु रड, इँटा सहित आएका थिए र हामीमाथि आक्रमण गरे।'

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका जिल्ला अध्यक्ष सन्दीप अधिकारीले भने प्रतिरक्षा स्वरुप आफूहरुले बल प्रयोग गर्नुपरेको बताएका छन्। उनले भने, 'नेविसंघ र अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीले हामीले लगाएको ताला फोडेर निर्वाचन गराउन दबाब दिएकोले प्रतिरक्षा गर्नुपरेको हो।'

झडपमा परी दीपेन्द्र रेग्मी र आकृति खनाल गम्भीर घाइते भएका छन्। दीपेन्द्रलाई काठमाडौं रिफर गरिएको छ भने आकृतिको स्थानीय अस्पतालमा उपचार भइरहेको क्याम्पसका विद्यार्थी सन्तोष बुढाथोकीले जानकारी दिए। त्यस्तै घाइते हुनेमा गोकुल कंडेल, नवराज ढकाल, सञ्जय काफ्ले, विश्वास केसी, हरिश भट्ट, प्रतीत खनाल, किरण बास्तोला, र प्राञ्जल रिजाल रहेका छन्।

झडपमा सुन्दरबजार इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक होमनाथ अधिकारी र क्याम्पस प्रमुख लालप्रसाद अम्गालाई पनि सामान्य चोट लागेको छ। झडप भएपछि बेसीशहरबाट थप प्रहरी टोली घटनास्थल पठाएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिएका छन्।

फागुन १८ गते तोकिएको स्ववियु निर्वाचनको विषयमा अनेरास्ववियुले असन्तुष्टी जनाउँदै आएको छ। उक्त क्याम्पसमा माओवादी केन्द्रको विद्यार्थी संगठन र नेविसंघले संयुक्त प्यानल बनाएर स्ववियु चुनावमा सहभागी हुने भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.