लुटपाट गर्ने महिला र सुन किन्ने पसले पक्राउ
लुटपाट गर्ने महिला र सुन किन्ने पसले पक्राउ
काठमाडौं : उपत्यकाका विभिन्न स्थानबाट बालबालिकाहरूले लगाएका गहना लुट्ने दुईजना पक्राउ परेका छन्। बालबालिकाले कानमा लगाएका मुन्द्रासहितका गहना लुटपाट मा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौंको बालाजु मनमैजु, कपन, कपुरधारा, गल्कोपाखा, स्युचाटार, कोटेश्वर, बालकुमारी, गोठाटार, पानी ट्याङ्की, महांकाल, आरुबारी, नारायणटार लगायतका ठाउँबाट नानीहरुका कानका मुन्द्रा २२ पटकसम्म लुट्ने एकजना महिलालाई गोकर्णेश्वर नगरपालिका-८ जोरपाटी, माकलबारीबाट प्रहरीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले म्याग्दी घर भइ काठमाडौंको बालाजु डेरा गरी बस्ने ३२ वर्षीय संगीता क्षेत्रीलाई पक्राउ गरेको हो। नानीहरुका गहना लुटमा संलग्न महिला पक्राउ परेपछि हालसम्म २० जना अभिभावक सम्पर्कमा आइसकेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
लुटमा संलग्न महिला पक्राउ परेपछि परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले आफ्ना बालबालिकालाई अपरिचित व्यक्तिसँग सुरक्षित रहने उपाय सिकाउन पनि आग्रह गरेका छन्। 'महिलाले बालबालिकाहरुलाई चकलेट-आईसक्रिम दिएर आमाको साथी हुँदै फकाउने गरेको पाइएको छ', उनले भने, 'फकाउँदा नमानेमा डर त्रास देखाएर उनले बालबालिकाका कानका मुन्द्रा लुट्ने गरेको खुलेको छ।'
त्यसैगरी उनले लुटेका मुन्द्रा किनेको अभियोगमा प्रहरीले काभ्रेको रोशी नगरपालिका-१२ घर भइ ललितपुरको सौगलमा बस्ने ३० वर्षीय मुरली विकलाई पनि पक्राउ गरेको छ। उनले ललितपुरको कनिवहालमा दर्ता नगरी सुन पसल चलाएको खुलेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।