|

  • विमला अधिकारी

लमजुङ : सुन्दरबजार नगरपालिका–७ मा रहेको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, लमजुङ क्याम्पसमा विद्यार्थीबीच झडप भएको छ । क्याम्पसमा अध्ययनरत नेविसंघ र अनेरास्ववीयुका विद्यार्थीबीच सोमबार बिहान ८ बजे झडप भएको हो।

आसन्‍न स्ववियु निर्वाचनको विषयमा देखिएको विवाद झडपमा परिणत भएपछि  झडपमा नेपाल विद्यार्थी संगठनका १३ जना विद्यार्थी घाईते भएका छन्। घाइतेमध्ये छैटौँ सेमेस्टरमा अध्ययनरत दिपेन्द्र रेग्मीको अवस्था गम्भिर छ। उनको टाउकोमा गम्भीर चोट लागेको छ।

दीपेन्द्रलाई थप उपचारको लागि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं लगिएको नेविसंघले जनाएको छ। अन्य १२ जनाको स्थानीय कर्मदा हस्पिटलमा उपचार भैरहेको छ। तीमध्ये १० जना विद्यार्थी सामान्य उपचारपछि फर्किएका छन्। २ जना भने हस्पिटलमै उपचाररत रहेको हस्पिटलका निर्देशक रामचन्द्र अधिकारीले जानकारी दिए।

नेविसंघ क्याम्पस इकाइ सभापति अंकित भट्टराईका अनुसार अनेरास्ववियुको आक्रमणबाट नेविसंघ समर्थित विद्यार्थी हरिष भट्ट, रामहरि लामिछाने, सञ्जय काफ्ले, इशा पौडेल, सीता आचार्य, सुदीप खनाल, दीपेन्द्र रेग्मी, आकृति खनाल, गोकुल कँडेल, किरण बास्तोला, नवराज ढकाल, प्राञ्जल रिजाल लगायत घाइते छन्। 'छात्रालाई समेत आक्रमण गरिएको प्रति नेविसंघ चर्को विरोध गर्दछ,' इकाई सभापति भट्टराईले भने।

नेविसंघ क्याम्पस इकाइ सभापति अंकित भट्टराई र अखिल (क्रान्तिकारी)का क्याम्पस इकाई कमिटिका अध्यक्ष अनिल गौतमले घटनाको चर्को विरोध गर्दै संयुक्त विज्ञप्ति जारी गरेका छन्।

विज्ञप्तीमा नेविसंघ र अखिल (क्रान्तिकारी) को संयुक्त प्यानलको जीत सुनिश्चित देखेर डराएको र अत्तालिएको अनेरास्ववियुले क्याम्पस वार्ता समेत भंग गर्दै विद्यार्थीमाथि रड, खुकुरी, ढुंगा, मुढा प्रहार गरेको आरोप लगाएको छ। क्याम्पसमा अनेरास्ववियुले लगाएको ताला उनीहरुको आक्रमणपछि संयुक्त प्यानलले खोलेको विज्ञप्तिमा जनाइएको छ।

विपिन पराजुली, अमित चौधरी, भपेन्द्र न्यौपाने, मिलन अधिकारी, प्रदीप घिमिरे, अन्जन थपलिया लगायत ४० जना हतियारधारीले आक्रमण गरेको आरोप विज्ञप्तिमार्फत लगाइएको छ।

अनेरास्ववियुसँग हतियार रहेको जानकारी प्रहरी प्रशासनलाई गराएपनि आनाकानी गरेको र जाँच नगरी खुलेआम प्रवेश गर्न दिएकोमा प्रहरी प्रशासन र क्याम्पसको समेत संलग्नता देखिएको आरोप नेविसंघ र अखिल (क्रान्तिकारी)ले आरोप लगाएका छन्। घटनामा संलग् एवं मिलेमतो देखिएका क्याम्पसका कर्मचारी रामजी खड्का, इलाका प्रहरी कार्यालय सुन्दरबजारका प्रमुख सई होमनाथ अधिकारीलाई समेत कारबाही गर्न उनीहरुले माग गरेका छन्।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले सुरक्षा संवेदनालाई मध्यनजर राखेर क्याम्पसको होस्टलभित्र रहेका अनेरास्ववियु समर्थित विद्यार्थीलाई शसस्त्र प्रहरी र नेपाल प्रहरीले बेंसीसहर ल्याएको जानकारी दिए। घटनास्थलमा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाइएको उनले बताए।     

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.