|

रौतहट : नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमको नेतृत्वमा भएको राजपुर काण्डका अर्का एक आरोपित पक्राउ परेका छन्। 

राजपुर नगरपालिका वाड नं. ४ स्थित शेख इद्रिशको गोठघरमा करिब एक दर्जनका व्यक्तिको ज्यान जाने गरी भएको घटनामा संलग्न फरार रहेका ५५ वर्षीय बद्री सहनीलाई शुक्रबार साँझ पक्राउ गरेको हो।

बाराको सिम्रोनगढ नगरपालिका-४ का सहनीलाई  प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम र रौतहट प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता भरत श्रेष्ठले जानकारी दिएका छन्। उनलाई रौतहटको बौधीमाई नगरपालिका-७ बंगुल एरियाबाट पक्राउ गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए। 

२०६४ साल चैत २८ को संविधानसभा निर्वाचनको अघिल्लो दिन चैत २७ मा चुनावमा बुथ कब्जा गर्ने उद्देश्यले आफैंले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री अफताव आलम हाल जेलमा छन्। आलमलाइ गत वर्षको असोज २३ गते रौतहट प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो। 

सोही घटनामा मारिएका भनिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंहका बाबु श्रीनारायण सिंह राजपुतको जाहेरीमा सहनी पनि अभियुक्त किटान गरिएको छ। मुख्य अभियुक्त आलमका भाइ महताब आलमसहित अन्य ४ जना अझै फरार छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.