|

बुटवल :  नेपाली कांग्रेसका सांसद वीरेन्द्र कनौडियाले प्रदेश-५ को नाम र राजधानी प्रस्तावको विषयमा मुख्यमन्त्रीले तानाशाही शैली अपनाएको आरोप लगाएका छन्।

बैठक सुरु हुनुअगावै उठेर संसद् बैठक अवरुद्ध गरेको कांग्रेसले नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डको बुई चढेर गरेको निर्णय भन्दै आरोप लगाएको हो।  प्रदेश-५ को राजधानी दाङ र प्रदेशको नाम लुम्बिनी प्रस्ताव गरिएको छ। 

‘केपी र प्रचण्डको बुईमा चढेर गरेको निर्णयप्रति आपत्ति छ। दाङ किन र या बुटवल किन भन्ने औचित्य पुष्टि होस्’ उनले भने, ‘प्रदेशको नामकरण र राजधानी तोक्ने जस्तो खुसीको दिनमा बाहिर निषेधाज्ञा लगाएको छ।’ 

उनले मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो राजनीतिक स्वार्थका कारण अहिले यो अवस्था आएको पनि आरोप लगाए। उनले स्थानीय सरकार बनेको तीन वर्ष भइसके पनि कतिपय स्थानीय तहमा अझै आफ्नै भवन बन्न नसकेको भन्दै राजधानीका निम्ति दाङमा तत्कालै सम्भव नभएको पनि बताए।  

उनले शालीन प्रतिपक्षी पाएकोले मुख्यमन्त्रीले पेलेर गएको टिप्पणी गर्दै दुई तिहाईको दम्भ नदेखाउन भनेका छन्। ‘मुख्यमन्त्रीसँग पनि भनेको छु पटक-पटक कुराकानी पनि भएको छ’ कनौडियाले भने, ‘राजनीतिक सहमतिबाट निष्कर्ष निकालौँ भनेका छौँ। यस्तो शालीन प्रतिपक्षी अरु प्रदेशमा कतै भेट्नु हुन्न। पेलेर जाने, दुई तिहाइ दम्भ नदेखाउनुस्।’ 

राजधानीको स्वामित्व सबैले लिनेगरी सहमतिको राजनीति गर्न पनि उनले मुख्यमन्त्री पोखरेललाई आग्रह गरे।  ‘देशमा कोरोनाले आजित बनाएको छ जनताको जीवन बचाउनु छ। भोकले मर्ने अवस्था देशको प्रदेशको अवस्था छ,’ उनले मुख्यमन्त्रीलाई आरोप लगाउँदै भने, ‘आफ्नो भोट बैंक बढाउन स्वार्थको राजनीति गर्न भएन। राजनीति संवाद, सहमति विना औचित्य छैन।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.