|
फाइल तस्बिर

रसुवा : रसुवागढी नाकाबाट चिनियाँ सामग्री दैनिकरूपमा नेपाल भित्रने क्रम  बढेको छ। आयात हुने सामग्री केरूङदेखि रसुवागढीको मितेरी पुलसम्म चिनियाँ कन्टेनरले पुर्‍याउने गरेको छ।

नेपाल भित्रने चिनियाँ सामग्रीमध्ये बढी मात्रामा तयारी पोशाक रहेको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए।

कोभिड १९ उत्पत्ति भएयता गत असार २० देखि नाका सञ्चालनमा आएको र भन्सार शुल्कबापत हालसम्म ५० करोड रुपैयाँ राजस्व असुल भएको जनाइएको छ। परीक्षणका लागि दैनिक आठदेखि दशवटा कन्टेनर भन्सार हातामा प्रवेश गर्ने गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म टिमुरेले जनाएको छ।

सामग्री लाद्ने कार्यका लागि ३२ भरिया र  रसुवागढीबाट  टिमुरेमा रहेको भन्सार हातामा कन्टेनर ल्याउन १७ चालकको  व्यवस्थापन गरिएको सुरक्षा निकायले जनाएको छ। कोभिड १९ को जोखिम न्यूनीकरण  गर्न भरिया तथा चालकलाई रसुवागढी क्षेत्रमा छुट्टै बसोबासको व्यवस्था मिलाइएको सशस्त्र प्रहरीले जनाएको छ।

कन्टेनरका सामग्री भन्सार जाँचपास भएपछि सम्बन्धित सवारी साधनका चालकले आफ्नो गन्तव्यतर्फ लाने व्यवस्था मिलाइएको बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.