|

दार्चुला : दार्चुलामा पछिल्लो समय कोरोना संक्रमण हुनेको संख्या १ सय ४८ पुगेको छ। असोज २१ गते एकैपटक ४६ जनामा संक्रमण देखिएपछि जम्मा जाँच गरेका १ हजार ९ सय २६ जनामध्ये १ सय ४८ मा संक्रमण देखिएको हो।

असोजमा मात्रै ८९ थपिए

गत जेठ १५ गते महाकाली नगरपालिकाका एक पुरुषमा कोरोना संक्रमण देखिएसँगै सुरु भएको दार्चुलाको संक्रमित संख्या असोज महिनामा मात्रै ८९ थपिएको छ। तीन महिनाको अवधिमा देखिएको कोरोनाको संक्रमणभन्दा बढी असोज महिनाको यो अवधिमा देखिएको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ।

तीन महिनाको अवधिमा भेटिएका कोरोना संक्रमित संख्याको दोब्बर हुनुमा असोज महिनामा देखिएको संख्याको महत्वपूर्ण भूमिका रहेको छ।

सुरक्षा गस्ती बन्द

जिल्ला सदरमुकाम खलंगास्थित सशस्त्र प्रहरीको ४४ नम्बर गणमा ४१ जना सशस्त्र प्रहरी जवानमा कोरोना संक्रमण देखिएसँगै सशस्त्रले गस्ती गर्न छाडेको छ। गस्ती गर्दा अन्य व्यक्तिहरुसँग समेत सम्पर्क हुने र कोरोना संक्रमण बढ्ने जोखिमलाई मध्यनजर गरी गणमा आवतजावत नै बन्द गरेको सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बमले बताए।

संक्रमणलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले बजारमा गस्ती गर्न छाडेको हो। ‘कोरोना संक्रमण देखाइसकेपछि लापरबाही गर्नु भएन, गस्ती गर्दा अन्य व्यक्तिहरुसंग पनि सम्पर्क हुन सक्छ, संक्रमणलाई मध्यनजर गरी गस्ती बन्द गरेका हौँ’ गणपति बमले भने। कोरोना संक्रमण देखिएकाहरुलाई 'ग' भित्रै छुट्टै बसाई व्यवस्थापन मिलाइएको र १४ दिनपश्चात् नियमित गस्तीमा सशस्त्र प्रहरी खटिने उनको भनाइ छ।

मापदण्ड पालना नगर्दा संक्रमण बढ्यो

स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले भीडभाडका कारण र जनस्वाथ्यका मापदण्डको पालना नगर्दा कोरोना संक्रमण बढ्दै गएएको बताए।

जिल्लामा सुरुको भन्दा पछिल्लो समय संक्रमितहरुको संख्या बढी रहेको छ। यसरी कोरोना संक्रमण बढ्नुको कारण स्वास्थ्य सुरक्षाका मापदण्ड नपनाउनु र भीडभाड मुख्य कारण रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी कार्कीको भनाई छ।

भीडभाड हुने क्षेत्रमा कोरोनाको बढी जोखिम रहेको उनले बताए। अहिले नै समुदायस्तरमा कोरोना फैलिसकेको भन्न सकिने बताउदै उनले अब समुदायमा पनि कोरोना फैलिने जोखिम रहेको संकेत गरे। ‘कोरोना संक्रमणबाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउनु नै उत्तम उपाय हो’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.