|

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीलाई कोरोना संक्रमण पुष्टि भएको छ। ज्ञवालीले पिसिआर परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको बताएका छन्। उनी अहिले बुटवलस्थित आफ्नै घरमा होम आइसोलेसनमा रहेका छन्।

ज्ञवालीले आफूलाई कोरोना संक्रमण पुष्टि भएपछि आफूसँग पछिल्लो समय सम्पर्कमा रहेका सबैलाई  सचेत रहन आग्रह गरेका छन्। उनले सम्पर्कमा रहेका व्‍यक्तिहरूलाई परीक्षणको दायरामा आउनसमेत आग्रह गरेका छन्।

ज्ञवाली कोरोना महामारी सुरु भएदेखि नै बर्दघाट नगरभित्र क्वारेन्टाइन व्‍यवस्थापन, स्वाब संकलन लगायतका काममा निरन्तर खट्दै आएका थिए। क्वारेन्टाइन व्‍यवस्थापनमा र अफ्ठेरो परिस्थितिमा पनि नगरभित्रको स्वास्थ्य क्षेत्रलाई चुस्त दुरुस्त राख्‍न खटेबापत केही दिन पहिला बर्दघाट नगरपालिका-१२ ले उनलाई सम्मानसमेत गरेको थियो ।

कोरोना संक्रमण भए पनि ज्ञवालीले आफ्नो स्वास्थ्यमा भने कुनै समस्या नहरेको बताएका छन्। उनले आफू निरन्तर स्वास्थ्यको क्षेत्रमा खटिरहेकै समयमा संक्रमित हुन पुगेको र केही समय कोरोनासँग जुध्नुपर्ने भएकोले तत्कालका लागि सेवामा खट्न नपाउँदा दुःखी भएको बताएका छन्।

उनले पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गइरहेको अवस्थामा नगरवासीहरूलाई सचेत र सजग रहनसमेत आग्रह गरेका छन्। कोरोनालाई हल्का रुपमा नलिन र स्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न पनि ज्ञवालीले आग्रह गरेका छन्। आफू छिट्टै कोरोनालाई जितेर उही उत्साहका साथ नागरिकको सेवामा फर्किने बताउँदै उच्च मनोबलका साथ होम आइसोलेसनमै बसेको बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.