कानुनविद र संविधानविद छैनन् वकिल मात्र छन्

|

काठमाडौं : नेकपा एमालेले मेची-महाकाली राष्ट्रिय जागरण अभियानका विषयमा जानकारी दिन बुधवार सञ्चारमाध्यमका सम्पादकहरुसँग छलफल गर्‍यो। महासचिव ईश्वर पोखरेलले संविधानको पक्षमा किन लाग्न जरुरी छ भनेर जनतालाई बताउन अभियान थालिएको बताए। 'यो अभियान निर्लज्जतापूर्वक संविधानको विरुद्ध उभिन खोज्नेहरुका बिरुद्ध हो। कसैलाई तेजोबोध गर्न वा विरोध गर्न होइन' उनले भने। 

जनतामा भ्रम फिजाउनेबिरुद्ध अभियान

एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामो संविधानका विरुद्ध लाग्नेहरुका विरुद्ध अभियान गर्न लागेको बताए। 'संविधानमा अधिकार र अवसरका सन्दर्भमा विभेद छैन। तर गुड गभर्नेन्स, सुशासनका सम्बन्धमा कतिपय पक्षहरु भोलि हामीले परिमार्जन गर्नुपर्नेछ। सुशासनको निम्ति, अधिकारको पक्षमा त्यस्तो विभेद छँदैछैन र अधिकारमा कमी छँदै छैन' ओलीले भने,'सकेसम्म भ्रम फिजाउने, जनता अल्मल्याउने, जनतामा असन्तुष्टि भड्काउने कामहरु भइरहेका छन्। त्यसका विरुद्ध हो यो अभियान।'

संविधान नमान्‍ने, कार्यान्वयन हुन नदिने, पुनर्लेखन गर्नुपर्छ भन्‍ने र संविधानसभालाई नै अस्वीकार गर्नेहरुको बारेमा जनतालाई जानकारी गराउनु आवश्यक रहेको ओलीले बताए। 'यी कुराहरु स्पष्ट पार्नका लागि / हाम्रा उपलब्धीहरुको रक्षा गर्नका लागि यो अभियान थालेका छौ। यही कुरा हामी स्पष्ट गर्न चाहन्छौ' उनले भने। 

कानुनविद्व/संविधानविद् छैनन् वकिल मात्र छन्

ओलीले देशमा संविधानविद्, कानुनविद् नभएर वकिल मात्र भएको भन्दै वकिलहरुले आफ्नो ढंगले संविधानको वकालत गर्ने गरेको उनले बताए। 'मलाई यस्तो लाग्छ संविधानविद्, कानुनविद छैनन् वकिल मात्र छन्' ओली भन्छन्, 'वकिल र संविधानविद, कानुनविद्मा फरक छ। वकिलले वकालत गर्छ। संविधानविद, कानुनविदले संविधानको व्या्ख्या गर्छ। त्यो चाहिँ नेपालमा अलि देखिदैन।'

ओलीका नाममा बिजनेस

अहिले एमाले मधेसी विरोधी हो भनेर भ्रम फैलाइएको भन्दै ओलीले यस्तो गतिविधि देशकै विरुद्ध बेइमानी भएको बताए। 'एमाले मधेसी विरोधी छ भन्‍ने भ्रम फैलाइएको छ। बिपरीत कुरा बताइएको छ। जबकी मौका पाउदा एमालेले जुन बजेट दिएको छ, त्यो कहिलेपनि थिएन। सायद भविष्यमा पनि त्यसो गर्न गाह्रो होला। तर एमाले अध्यक्ष केपी ओली त मधेसविरोधी भनेर भ्रम फिजाइँएको छ।'

व्यक्तिगत तवरमा आफूलाई जे भनेपनि सरोकार नराख्ने भन्दै देशका विरुद्ध भने बेइमानी गर्न नदिने बताए। 'व्यक्तिगत तवरमा मलाई जे भनुन् म त्यति सरोकार  राख्दिन। मलाई गाली गरेर मेरो नाममा  कसैको बिजनेस चल्छ, जीविका चल्छ भने त्यो पनि ठीकै छ। त्यो पनि सन्तोषकै कुरा हो' ओलीले भने, 'तर देशका लागि मिसाएर त्यसभित्र बेइमानीका कुटिलताहरुको बिक्री गर्नु चाहिँ राम्रो होइन। त्यसका विरुद्ध जान दिँदैनौं।'

गृहमन्त्री ज्यू ! लाइट्ली नलिनुस्

कार्यक्रममा अध्यक्ष ओलीले गृहमन्त्री विमलेन्द्र निधिलाई उत्तेजित अभिव्यक्ति नदिन आग्रह गरे। 'हाम्रा देशका माननीय उपप्रधान तथा गृहमन्त्रीलाई अलिकति सम्झाउनुपर्छ जस्तो लाग्या छ। म उहाँलाई सम्झाउन चाहन्छु। गृहमन्त्री भनेको देशको हुन्छ। पार्टी विशेषको हुदैन, भूगोल विशेषको हुदैन' ओलीले भने, 'म उहाँलाई सम्झाउन चाहन्छु, नेकपा एमाले उहाँलाई मन पर्छ कि पर्दैन ? बेग्लै कुरा हो। यस देशको जनताले छानेर पठाएको, प्रतिपक्षको संवैधानिक हैसियत भएको र उहाँभन्दा अगाडि सरकारको नेतृत्व गरेको पार्टी हो। यसको संवैधानिक हैसियत छ। त्यो उहाँले सम्झिनु राम्रो हुन्छ।'

ओलीले शान्ति सुरक्षा कायम गर्ने आफ्नो कर्तव्यमा ध्यान दिन गृहमन्त्रीलाई सुझाव दिए। 'म उहाँलाई सम्झाउन चाहन्छु उहाँको कर्तव्य शान्ति सुव्यवस्था कायम गर्ने हो। उत्तेजना फैलाउने होइन। गृहमन्त्रीले तदनुसार नै व्यवहार गर्नुपर्छ' उनले भने ' उहाँको अभिव्यक्तिप्रति विरोध आपत्ति प्रकट गर्दै कुनै अप्रिय घटना घटेमा यो उक्साहटका निम्ति गृहमन्त्री जवाफदेही हुनुपर्ने भनेका छौं। यसका निम्ति माननीय गृहमन्त्री जी लाइट्ली नलिनुस्। उहाँमात्रै होइन उहाँभन्दा धेरै अगाडिका गृहमन्त्रीहरु हामीले देख्या छौं हेक्का होस्।'

अबको चुनावमा भुलचुक सुध्रिन्छ

प्रतिपक्षले चुनाव गराउ भनिरहदा सत्तारुढ दलहरु नै विभाजित भएको भन्दै सत्ता गठबन्धनमै समस्या रहेको बताए। उनले गएको चुनावमा ११ सिटमा जिताएका मधेसवादी दलहरुलाई त्यो पनि यसपालि जनताले भुलचुक सुधार्ने बताए। 'संविधान संशोधन तराईका सम्पूर्ण सिटमा उहाँहरुले जितेको त ११ वटा सिट हो। त्यो भुलचुक पनि अब आउने चुनावमा जनताले सच्याउछन्' उनले भने, '११ वटा सिट दिएर जुन बर्बाद भयो। यो पनि गलत भयो त्यसलाई आगामी निर्वाचनमा सच्याउँछन्।'

एमालेले संसद अवरोध गर्दा अलोकतान्त्रिक भन्‍नेहरुले संविधान बिपरीत संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव लोकतान्त्रिक कि अलोकतान्त्रिक भनेर बुझ्न आवश्यक हुने अध्यक्ष ओलीले बताए।

नेता ओलीले निर्वाचन गइसकेपछि लोकतान्त्रिक प्रक्रियाबाट आएको जस्तोसुकै परिणाम पनि स्वीकार्नुपर्ने बताए। निर्वाचन परिणाम मधेशी मोर्चाले स्वीकारेन भने? भनेर पत्रकारले गरेको जवाफ दिँदै ओलीले भने 'लोकतान्त्रिक अभ्यासबाट आएका कुनैपनि परिणामलाई स्वीकार्नु पर्छ। चुनाव भए परिणाम अस्वीकार गर्ने। संविधानसभामा आफू पर्याप्त भएन भने अस्वीकार गर्ने। आफूले भनेजस्तो भएन भने अस्वीकार गर्ने हुँदैन।'

सार्वभौमसत्ता जनतामा भएको र त्यो जनतालाई सचेत गराएर, सङ्गठित गराएर नै अगाडि जानुपर्ने भन्दै ओलीले बिगार्ने, भड्काउने तत्वहरु पनि सक्रिय भएको बताए। विखण्डनकारी तत्वहरु सक्रिय रहेको भन्दै एमालेलाई आउन नदेउ लखेट जस्ता कुरा गर्नेहरुसँग चुनावमै भेट गर्ने बताए। 'विखण्डनकारी तत्वहरु पनि सक्रिय देखिन्छन्। अपराधिक क्रियाकलाप पनि देखिन्छन्। एमालेलाई आउन नदेउ, लेखट जस्ता कुराहरु आउछन्' ओलीले भने, 'पछि चुनावमै भेटौला उहाँहरुसँग। किन हतार गर्ने। हामीलाई दन्त बजानमा, बक्तृत्वकलामा जित्‍नु छैन। चुनावमै भेटौला।'

दुई नम्बर बनाउदा गल्ती भो, सच्याउन चाहान्छौ

नेता ओलीले संविधान जारी गर्दा दुई नम्बर प्रदेश त्यस ढंगले बनाएर गल्ती गरिएको भन्दै ५ नम्बर प्रदेशका सन्दर्भमा पनि कांग्रेसकै जोडबलमा पहिले प्रस्ताव लगिएको बताए।

'दुई नम्बर प्रदेश त्यस ढंगले बनाउन हामीले मान्‍न हुन्थेन। हिजो गल्ती गरियो'ओली भन्छन्, 'पाँच नम्बर प्रदेशको सम्बन्धमा पहिलो प्रस्ताव कांग्रेसकै जोडबलमा हामीले त्यसमा सहमति जनाएका थियौं। तर पछि त्यसको मनसाय बुझिसकेपछि हामीले त्यसलाई सच्यायौं र कांग्रेस त्यस सहमतिबाट अहिले बनेको ५ नम्बर प्रदेश जुन छ त्यसमा आइसक्यो। हामीले अगाडि बढेर सच्याउने कुरा गरेका हौं र कांग्रेसले त्यसमा मञ्‍जुर गरेको हो।'

हिजो जति बिग्रिएपनि अब भने त्यसलाई ठीक पार्ने पक्षमा एमाले रहेको उनले बताए। तराई र पहाड पुर्णरुपमा छुट्याउने योजना रहेको भन्दै उनले त्यो नेपालको हितमा नभएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.