साहित्य

नेपाली नृत्यकलाका अग्रणीको रोचक कथा- 'कहिले म नाचेँ, कहिले जिन्दगीले नचायो'
SHARES

फागुन २०, २०७३

    समयको चालका अघि मान्छेको चालको के कुरा!

    दरबारको थिएटरदेखि जनताका आँगनसम्म, नेपालका दूरदराजदेखि विश्वका प्रसिद्ध अडिटोरियमहरूसम्म, नर्तक भैरवबहादुर थापा कहाँ-कहाँ मात्र नाचेनन्। नाचगानमार्फत् रनवन थर्काउँदै प्रसिद्धि कमाएका भैरव हिजोआज भने नाच्न सक्दैनन्। अब त्यो उमेर रहेन।

    भीमसेनको अन्त्य नाटकमा भैरव।

    एक साताअघि मात्र ८५औँ जन्मदिन मनाएका थापाको नाच्ने उमेर गयो त के भो! नृत्यप्रति यतिविघ्न लगाव थियो कि, उनले नाचको नयाँ तरिका पहिल्याई छाडे। पहिले स्टेजमा नाच्थे, अहिले अक्षरमा नाच्दै छन् अर्थात, उनी पुस्तक लेख्दैछन्।

    कार्यक्रम सकिएपछि माओ उठेर स्टेजमा आए। भैरवसँग हात मात्र मिलाएनन्, कोटको माथिल्लो खल्तीमा सिउरिएको कलम झिकेर उपहार दिए। प्रधानमन्त्री चाउ एन लाईले त भैरवको कार्यक्रमको अवधि नै दुई साताका लागि बढाइदिए र अरू प्रान्तमा पनि कार्यक्रम गर्न पठाए।

    साठी वर्ष लगाएर पुस्तक लेखे

    एउटाले बोलेको कुरा अर्कोले सजिलै बुझ्छ, भाषाको माध्यमले। एउटाले लेखेको कुरा अर्कोले सजिलै पढ्छ, अक्षरका माध्यमले। एउटा सङ्गीतज्ञको धूनमा अर्कोले सजिलै बाजा बजाउँछ, नोटेसनको माध्यमले। तर नृत्यशैली-संप्रेषणको काम त्यति सजिलो छैन। के किताब हेरेर नाच सिकिएला?

    'सकिन्छ,' भैरवले आफ्नो प्रकाशोन्मुख पुस्तक 'नृत्याक्षर विज्ञान'को पाण्डुलिपि मेरो हातमा थमाए र भने, 'यसमा मैले संसारका सबैजसो प्रचलित नाचका 'फर्म'हरूलाई लिपिबद्ध गरेको छु। यो किताब पूरा गर्न मलाई साठी वर्ष लाग्यो।'

    त्यसो त मलाई नाचको 'न' पनि थाहा छैन। तथापि पाण्डुलिपि हेरेर चकित भएँ। उनको मेहनत असाधारण थियो। नाच्दा चलायमान हुने शरीरका हरेक अंगहरू, जसको प्रयोगबाट नर्तकले भावभङ्गिमा प्रकट गर्छ, ती हर-मिहिन चाललाई उनले सङ्केत र त्यसको व्याख्यामार्फत् लिपिबद्ध गरेका छन्। यसरी नृत्यलाई पुस्तकमार्फत् संप्रेष्य बनाउने उनको कोसिस कलाक्षेत्रको नुतन आविष्कार ठहरिन सक्छ। पुस्तक कत्तिको व्यावहारिक हुन्छ, त्योचाहिँ भोलिले देखाउला।

    माओले उपहार दिएको त्यो कलम

    भैरवको आफ्नै कथा छ, उनको किताबको आफ्नै। भैरवको कथामा छिर्नुअघि यो किताब लेख्ने उनको सोच र जोशबारे छोटो उपकथा हालौँ।

    आजभन्दा ६० वर्षअघि, जतिखेर नेपाल-चीन दौत्य सम्बन्ध स्थापना भएको एक वर्ष पनि भएको थिएन, चीनले नेपाललाई साँस्कृतिक सम्झौताको प्रस्तावसहित मैत्रीपूर्ण चीन भ्रमणको निम्तो दियो। दुवै देशका सांस्कृतिक प्रस्तुतिहरू हुने भए। तर त्यतिखेरका दरबारिया हर्ताकर्ताहरूले भैरवको नाम भ्रमण मण्डलमा समावेश नै गरिदिएनछन्। देश-विदेशमा ख्याती पाइसकेको 'भैरव नृत्य दल' र त्यसका प्रमुख भैरवबहादुरको नाम सूचीमा नदेखेपछि राजा महेन्द्रले खोजीनीति गरे रे! 'राजाकै आदेशमा रातको १२ बजे दरबारमा नृत्य प्रतियोगिता भयो', भैरवले किस्सा सुनाए, 'त्यै प्रतियोगिताबाट म चीन भ्रमणका लागि अप्रत्यासित रूपमा छानिएँ।'

    चीनमा माओ र चाउ एनलाई का साथमा भैरव (बायाँबाट पहिलो)।

    त्यसरी चीन पुगेका उनले चीनियाँ अध्यक्ष माओत्से तुङ, प्रधानमन्त्री चाउ एन लाईलगायतका व्यक्तित्वसहित विशाल दर्शक समूहका माझ 'किसान' शीर्षकको एकल भाव नृत्य र टेम्बोरियन नाच देखाए। 'यो प्रस्तुति नेपाल-चीन मैत्री इतिहासमा पहिलो साँस्कृतिक प्रस्तुति थियो,' थापा मुस्कुराए, 'त्यतिबेला म जम्मा २२ वर्षको थिएँ।'

    कार्यक्रम सकिएपछि माओ उठेर स्टेजमा आए। भैरवसँग हात मात्र मिलाएनन्, कोटको माथिल्लो खल्तीमा सिउरिएको कलम झिकेर उपहार दिए। प्रधानमन्त्री चाउ एन लाईले त भैरवको कार्यक्रमको अवधि नै दुई साताका लागि बढाइदिए र अरू प्रान्तमा पनि कार्यक्रम गर्न पठाए। 'धेरै प्रान्तमा पुगियो। हाम्रो नाच पनि देखाइयो, उनीहरूको पनि हेरियो', भैरवले भने।

    उनलाई कुन्मिङ प्रान्तमा चिनियाँहरूले देखाएको नाच विशेषै लागेछ। चीनियाँ शास्त्रीय नृत्य थियो त्यो। त्यस नाचबारे टिपोट गरी नेपाल ल्याउने र यहाँ अभ्यास गरेर मञ्चन गर्ने उद्देश्यले दोभाषेमार्फत् सोध्दै-खोज्दै नर्तकहरूकहाँ पुगेका भैरवको योजनाले तब हावा खायो, जतिखेर उनीहरूले सोधे, 'डान्सको नोटेसन हुँदैन, कसरी टिपोट गर्नुहुन्छ?'

    'अब कसरी भन्ने! म त हेरेको हेर्‍यै भएँ', बल्ल उनले पुस्तक लेखनको पोयो खोले, 'बस्, यो किताब लेखनको बिउ रोपिएको त्यही दिन हो। मैले अभ्यासबाट सिकेको हुँ, पढेर नाच्न सिकेको होइन। मलाई त्यसबेलासम्म नाचको नोटेसन हुन्छ कि हुन्न पनि थाहा थिएन। जुन दिन डान्सको नोटेसन हुँदैन भन्ने थाहा भयो, आफैँ भिड्ने सोच बनाएँ। २०१३ साल असोज २० गते त्यही माओले उपहार दिएकै कलमले 'नृत्याक्षर विज्ञान'को पहिलो अक्षर कोरेँ', थापाले भने। 

    यो पुस्तक नेपाली, अङ्ग्रेजी, हिन्दी र चीनियाँ भाषामा एकैसाथ छाप्ने उनको योजना छ। 'समीक्षक हरि अधिकारीले अङ्ग्रेजी अनुवाद गर्दै हुनुहुन्छ, चेतन कार्कीले हिन्दीमा,' थापाले भने, 'अब चीनियाँ अनुवादका लागि मान्छे खोज्दै छु।'

    गज्जब भयो। राजिनामाको जवाफमा बेलायती रक्षा मन्त्रालयले उनलाई धन्यवाद मात्र दिएन, तीन वर्ष सेवा गरेवापत जागिर छाडेको ५० वर्षपछि मासिक १० हजार रूपैयाँ पेन्सन पनि पठाउन थाल्यो।

    कहिले टार्जन थापा, कहिले डान्सर थापा

    भैरव के नाचे र! त्यो भन्दा बढी त उनलाई जिन्दगीले नचायो।

    अब उनको जीवन-कथा सुनौँ।

    'बनायो भने मेरोबारे काइदाको फिल्म नै बन्छ', उनी मस्त हाँसे, जब मैले उनलाई सुरुबाटै कथा सुरु गर्न भनेँ, उनले भने, 'नियतिले जता-जता डोर्‍यायो, उतै-उतै गइयो।'

    गोर्खाबाट काठमाडौँ झरेका भैरवको परिवार पुस्तौँदेखि सैन्य पृष्ठभूमिका हुन्। भैरवका बुबा पदमबहादुर थापा दरबारका डिठ्ठा थिए। वीरशमशेरका रोलकलवाला छोरा तेजशमशेरका हजुरिया। पदमबहादुरलाई नाचगानमा खुब रुचि थियो। काठमाडौँका जमघटहरू सकेसम्म छुटाउँदैनथे। पिताकै कारण भैरवमा पनि नाचगानप्रति रुचि जागिसकेको थियो। भैरवले सानैमा मास्टर गुप्तसेनसँग सङ्गीत सिक्न थाले।

    उनको परिवारिक थातबासको डोरी राजनीतिसँग जोडिएको थियो। शासनसत्ताको राजनीति जुन-जुन बक्ररेखामा हिँड्थ्यो, थापाको परिवार त्यतै-त्यतै डोरिन बाध्य हुन्थ्यो। जुद्धशमशेरले तेजशमशेरलाई वीरगञ्ज धपाएपछि थापा परिवार पनि वीरगञ्ज निर्वासित भयो। भैरव आफ्ना मातापितासँगै कहिले वीरगञ्ज त कहिले दाइको पछि लागेर इलाम पुगे।

    इलाम पुग्दैमा भैरवको यात्रामा 'ब्रेक' लाग्नेवाला थिएन। इलामबाट उनी अध्ययनका लागि बनारस पुगे र त्यहाँबाट सिङ्गापुर। इन्डिया छउञ्जेल उनी विद्यार्थी थिए, इन्डिया छाडेर सिङ्गापुर पुग्दासम्म भने उनको परिचय फेरिइसकेको थियो। उनी ब्रिटिस आर्मीको सदस्य बनेर सिङ्गापुर हान्निएका थिए।

    जंगलमा सैन्य तालिम लिँदै भैरव (दायाँ)।

    'क्लर्कको रूपमा भर्ती भएको म आर्मीमा नाचगानकै कारण प्रसिद्ध भएँ। मेसमा खाना खाने बेला बाजा बजाएर सुनाउँथेँ। कहिले नाच देखाएर सिनियर-जुनियरलाई मनोरञ्जन गराउँथेँ। फिल्डमा जाँदा पनि डोरीको सहारामा कहिले वल्लो रूख, कहिले पल्लो रूख फालहालेर देखाँउथेँ,' थापाले पुराना दिन सम्झिए, 'कोही मलाई डान्सर थापा भन्थे, कसैले टार्जन थापा। म मेसमा नछिरेसम्म कोही पनि खाना खानसमेत बस्दैनथे।'

    कहिले हङकङ, कहिले सिङ्गापुर त कहिले मलेसिया। यसरी आर्मीमा उनको तीन वर्ष बित्यो। उनी बर्दीधारी जीवनमै रत्तिए। खासमा उनीसँग विकल्प पनि थिएन। किनकि आर्मीमा तीन वर्ष पूरा नगरी छुट्टी पाइँदैनथ्यो। तीन वर्ष लाग्नासाथ उनी छ महिने छुट्टी स्वीकृत गराई काठमाडौँ आए।

    भुरुङखेलको जमघट र भैरव नृत्य दलको जन्म

    आफ्नो नाट्य समूहका साथ भैरव

    जागिर उनको बाध्यता थिएन। उनले त लहलहैमा आर्मी 'ज्वाइन' गरेका थिए।

    काठमाडौँ फर्किनेवित्तिकै आमाले दुखेसो पोखिन्। मायामिश्रित मातृ-दुखेसोमा बुढेसकालमा आफूलाई एक्लै छाडेर छोरो फेरि नविदेसियोस् भन्ने अन्तर्य लुकेको थियो। भैरव द्विविधामा परे।

    'ठीकै छ, भर्खर आएको छु। छ महिनाको छुट्टी बाँकी नै छ। सोचौँला नि!', आमालाई थुम्थुम्याउँदै उनी काठमाडौँ डुल्न थाले। नयाँ काठमाडौँभित्र ऊ जमानाको काठमाडौँ खोज्न थाले, जहाँ उनले बाल्यकाल बिताएका थिए। 'म कसरी आर्मीमा गएँ भन्ने भन्दा छुट्टीमा नेपाल आएपछि के भयो, त्यो सुनाउँछु,' भैरवले भने, 'भुरुङखेलमा भएको एउटा साँस्कृतिक कार्यक्रम कसरी मेरो जीवनको 'टर्निङ प्वाइन्ट' बनिदियो, त्यो सम्झँदा आज पनि तरङ्गित हुन्छु।'

    २०१० साल असोज ४ गतेको कुरा। भैरवका वामपन्थी मित्र विष्णु सिलवालले उनलाई साँस्कृतिक कार्यक्रम हेर्न भनी काठमाडौँको भुरुङखेल पुर्‍याएछन्। कार्यक्रमको आयोजना किसान संघले गरेको थियो। उनीहरू त्यहाँ पुग्दा खुट्टा हाल्ने ठाउँ थिएन। हजारौँको संख्यामा मान्छेहरू भेला भएका थिए।

    भैरव मञ्चको अग्रभागमा हेर्छन् त, ओहो! को मात्र छैन त्यहाँ! बालकृष्ण सम, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, हृदयचन्द्रसिंह प्रधान, सिद्धिचरण श्रेष्ठ, धर्मराज थापा, कलानाथ अधिकारी, पुष्पलाल, मनमोहन अधिकारी आदिआदि। नेपाली कला-साहित्य र राजनीतिका मूर्धन्यहरूको कुम्भमेला जस्तो। भैरव चकितै परेछन्।

    विष्णु र भैरव ठेलमठेल गर्दै मञ्चनजिक पुगे। निर्धारित समयमा कलाकारहरू आइनपुगेकाले दर्शकदीर्घाबाट हुटिङ भइरहेको थियो। दर्शकको आक्रोशले सीमा नाघ्दै थियो। त्यही बेला उद्‍घोषक निर्मल लामाको आँखा भैरवमाथि पर्‍यो। विष्णु सिलवालका घनिष्ठ मित्रसमेत रहेका निर्मलले भैरवलाई हतारिँदै आग्रह गरे, 'तपाईंको त लुगा पनि अनौठो रहेछ, 'काउब्वाई'को जस्तो। केवल पेस्तोलको ठाउँमा छुरी भिरेको! पन्ध्र-बीस मिनेटजति छुरा घुमाउने खेल वा कुनै चटक भए पनि देखाइदिनुस् न प्लिज! त्यतिञ्जेलसम्म हाम्रा कलाकारहरू पनि आइपुग्छन्।'

    'हेर्नोस्, म ब्रिटिस आर्मी हुँ। छ महिने छुट्टीमा घर आएको। मलाई चटक-सटक आउँदैन', लामाको कुरा सुनेर भैरवको पारो छुटेछ।

    तर निर्मल रोकिनेवाला थिएनन्। दर्शकहरू खाउँला जस्तो गर्दै थिए, त्यसैले उनले तानेरै भैरवलाई मञ्चमा पुर्‍याए। नेपथ्यबाट सङ्गीत गुञ्जिन थाल्यो, यता भने मञ्चमै दुई जनाको घम्साघम्सी पर्ला जस्तो भइसकेको थियो। दर्शकलाई पनि हो न हो कार्यक्रम सुरु भयो भन्ने भान परेछ, चारैतिरबाट तालीको कर्तलध्वनि गुञ्जियो।

    'जबर्जस्ती तानेर लाँदा कसरी नाच्ने मुड बन्छ?', भैरवले ६ दशकअघिको  घटना सम्झिए,  'मलाई के गरौँ, के गरौँ भइरहेको थियो, त्यही बेला नेपथ्यबाट म सानो छँदा नाच्ने गरेको धून बज्यो। यसो मञ्चको पर्दातिर हेर्छु, मास्टर गुप्तसेन गाइरहेका छन्। तीनै गुप्तसेन, जो मलाई उहिल्यै तबला सिकाउने गर्थे।'

    गुप्तसेनलाई देखेपछि उनको मुड फर्कियो। उनी यस्तो नाचे कि दर्शकको 'वान्स मोर' नरोकिएकाले लगातार पाँच पटक नाच्नुपर्‍यो। त्यति मात्रै होइन, भैरवकै नाचका लागि कार्यक्रम थप चार दिनका लागि लम्ब्याइयो। 'जन-रङ्गमञ्चमा मैले खुलेर नाचेको त्यो पहिलो पटक थियो,' भैरवले भने।

    बस्, त्यो घटनाबाट उनको जीवन बदलियो। कैयौँ दिनसम्म बधाईको ओइरो मात्र लागेन, बालकृष्ण समले घरैमा डाकेर उनलाई 'अमरसिंह' नाटकमा दोहोरो भूमिका दिए। नाटकमा बीचबीचमा हुने नृत्यको संयोजन गर्ने जिम्मा पनि भैरवलाई सुम्पिए, भैरवकै नेतृत्वमा नृत्य दल नै खडा गरे र त्यसको नामकरण पनि सम स्वयंले गरिदिए, 'भैरव नृत्य दल।' यसरी २०१० सालको फागुन १० गते भैरव नृत्य दल जन्मियो, जसले नेपाल मात्र नभई संसारका महत्त्वपूर्ण मञ्चहरूमा आफ्नो प्रस्तुति दियो र कालान्तरमा नेपाली कला-सँस्कृतिको क्षेत्रमा आफ्नो विशिष्ठ स्थान बनायो।

    नाचघरको जागिरदेखि चलचित्रको निर्देशनसम्म

    भैरवको जीवनमा योजनाबद्ध तरिकाले केही पनि भइराखेको थिएन। न बनारस जाने कुरा, न त आर्मीमा भर्ना हुने कुरा। भैरव नृत्य दल पनि विना योजना नै जन्मिएको थियो। तर बिस्तारै-बिस्तारै उमेर र परिस्थितिले भैरवलाई परिपक्व बनाइरहेको थियो। उनी भन्छन्, 'त्यतिञ्जेलसम्म मलाई केटौले चञ्चलताले डोर्‍याइराखेको थियो। भुरुङखेलको कार्यक्रमपछि म फेरिएँ। कलाको खास गरिमा बुझेँ, कलामा विचार हुनुपर्दोरहेछ भन्ने जानेँ। तर तबसम्म पनि जागिरमा फर्किऊँ कि नफर्किऊँ भन्ने दोधार कायमै थियो।'

    यता बालकृष्ण समको निर्देशनमा 'अमरसिंह' नाटकको रिहर्सल सुरु हुँदा उता उनको छुट्टी सकिन लागिसकेको थियो। नाटक मञ्चन हुँदासम्म छु्ट्टीको अवधिले नेटो नै काटिसकेको थियो। भुरुङखेलको चौरमा 'जीवनदायिनी मन्त्र' भेट्टाइसकेका भैरव अब किन विदेश फर्कन्थे! नेपालका वरिष्ठ कलासाधकहरूको संसर्गमा डुबिसकेका उनले दोधार चिर्दै अन्ततः जागिरमा नफर्कने निधो गरे। सिङ्गापुर बैंकमा जम्मा भएको आफ्नो मेहनतको कमाइ पनि माया मारे। 'सञ्चारको कठिनाइका कारण उता खबर गर्न सम्भव भएन', उनले भने, 'यहीँको ब्रिटिस एम्बेसीलाई सेवामा नफर्कने जानकारी दिएँ', थापाले भने।

    अब भैरवको जीवनमा नृत्यबाहेक केही रहेन। रिहर्सल गर्नु, आफ्नो टोलीको रेखदेख गर्नु र कार्यक्रम लिएर देश-विदेश डुल्नु नै भैरवको मूल कर्म भयो। साँस्कृतिक संस्थानमा 'डान्स डाइरेक्टर'को जागिर खाए। 'मनको बाँध' र '२५ बसन्त' गरी दुई चलचित्रमा नृत्य निर्देशन गरे। जीवनमा जे-जति काम गरे, नृत्यकै विषयमा गरे।

    'तपाईं संस्कृति मन्त्रालयमा जानोस्, त्यहाँका कर्मचारी को नातिकाजी, को प्रेमध्वज? छुट्याउन सक्दैनन्', थापाले भने, 'कलाकार मर्छ, मन्त्री वा सचिवले झण्डा ओढाइदिन्छ, सकियो। पश्चिममा एउटा कहावत् छ, 'आफ्टर डेथ- डाक्टर।' हाम्रो राज्य मृत्युपछि बिरामी हेर्न आउने डाक्टर जस्तो छ।'

    यस्तो पनि हुँदोरै'छ

    अब अलिकति उत्तरार्द्धको कुरा, जब भैरव पचहत्तर वर्षमा चल्दै थिए, पुत्रद्वय महाराज र सम्राट पनि क्रमशः सङ्गीत र चलचित्र क्षेत्रमा चम्कँदै थिए। एक किसिमले जीवन ठीकठाक चल्दै थियो। यही वयोवृद्ध उमेरमा भैरवलाई कसैले सुनाइदियो, 'तपाईंले नेपालमा त राम्रो उन्नति गर्नुभयो। तर तपाईंले ब्रिटिस आर्मीबाट अझैसम्म राजीनामा दिनुभएको छैन। तपाईंलाई गाह्रो पर्नसक्छ।'

    'कुरा ठीकै हो, आर्मी कानुनको कुरा पर्‍यो,' तीन वर्ष आर्मीमा सेवा गरिसकेका उनले यस विषयलाई नजरअन्दाज गर्न उचित ठानेनन्, 'त्यसरी जानकारी नदिई छाड्नेहरूलाई ब्रिटिस आर्मीमा 'डेजर्टर' भनिन्छ। जतिखेर पनि 'एरेस्ट' गर्नसक्छ। त्यसैले मैले जागिर छाडेको झण्डै ५० वर्षपछि ७५ वर्षको उमेरमा राजिनामा पत्र पठाएँ।'

    गज्जब भयो। राजिनामाको जवाफमा बेलायती रक्षा मन्त्रालयले उनलाई धन्यवाद मात्र दिएन, तीन वर्ष सेवा गरेवापत जागिर छाडेको ५० वर्षपछि मासिक १० हजार रूपैयाँ पेन्सन पनि पठाउन थाल्यो। 'अहिले दश वर्षजति भयो, पेन्सन बुझ्न थालेको! छैन त मेरो जीवन फिल्मको कथा जस्तो?', भैरव आँखिभौँ उचाल्दै मुस्कुराए।

    नेपालमा कला समीक्षक नै छैनन्

    'आजीवन नृत्य-साधना गर्नुभयो, ब्रिटिस आर्मीको जागिरै छोडेर नेपाल बस्नुभयो, यो स्वान्त सुखायका लागि मात्र थियो कि देशका निम्ति केही गरौँ भन्ने भावनाले पनि खिचेको थियो?' कुराकानीको बिट मार्ने उपक्रम गर्दै मैले सोधेँ। प्रश्न सुनेर भैरव एकछिन केही बोलेनन्। शून्यतिर टोलाइराखे। सायद मनमनै शब्दहरूको जोडघटाउ गर्दै थिए।

    'न मलाई कसैले आजसम्म यो प्रश्न सोध्यो, न कहिल्यै म आफैँले सोचेँ। म त बस् नाचिरहेँ', एकछिन गम खाएपछि उनले भने, 'जब म नाच्न सुरु गर्दै थिएँ, मलाई राष्ट्र भनेको के हो भन्नेसमेत थाहा थिएन। तर जब म नाच्दै गएँ, देश-विदेशमा राष्ट्रकै प्रतिनिधित्व गर्ने भइसकेको थिएँ।'

    हुन पनि उनको कर्म मनोरञ्जन मात्रै थिएन। स्वान्त सुखाय मात्रै थिएन। उनी नाचेनन् मात्रै, नाचेरै बाँचे। कैयौँलाई नाच्न सिकाए। विदेशीहरूले उनकै नृत्यमार्फत् नेपालको सँस्कृति हेरे। उनको नाचमा नेपालको व्यक्तित्व झल्किन्थ्यो। देशको पनि व्यक्तित्व हुन्छ नि, हुन्न र! 'भैरव नृत्य दलको हरेक प्रस्तुतिमा नेपालीपन झल्काउने कोसिस रहन्थ्यो', भैरवले भने।

    नेपालमा कलाकारहरू प्रशस्त भए पनि कला समीक्षकको खडेरी भएको उनी बताउँछन्। 'कलाकारले आफ्नो कला देखाउने हो, तर समीक्षकले कलाको महत्त्व स्थापित गर्नसक्छ', थापा भन्छन्, 'साहित्यमा प्रशस्त समीक्षक छन्, दुर्भाग्यवस हाम्रोमा राम्रा कला-समीक्षकचाहिँ छैनन्, जसले कलाक्षेत्रकै गरिमा उठाउन मद्दत गरोस्।'

    उनी पुरानो समय सम्झने क्रममा साथीहरू शङ्कर लामिछाने, तुल्सीनाथ ढुंगेललगायतलाई सम्झेर भावुक बने। 'त्यो युग स्वर्णयुग थियो, जहाँ कलासहित्यको स्थान निकै उँचो थियो,' नोस्टाल्जिक हुँदै भैरवले भने, 'शङ्कर जाँदा म डेढ वर्षसम्म 'नर्मल' हुनसकिनँ।'

    भो, राज्यको कुरा नगरौँ!

    राज्यप्रति पनि भैरवको गुनासो छ, तर यसबारे बोल्नुको कुनै तुक देख्दैनन्।

    'तपाईं संस्कृति मन्त्रालयमा जानोस्, त्यहाँका कर्मचारी को नातिकाजी, को प्रेमध्वज? छुट्याउन सक्दैनन्', थापाले भने, 'कलाकार मर्छ, मन्त्री वा सचिवले झण्डा ओढाइदिन्छ, सकियो। पश्चिममा एउटा कहावत् छ, 'आफ्टर डेथ- डाक्टर।' हाम्रो राज्य मृत्युपछि बिरामी हेर्न आउने डाक्टर जस्तो छ।'

    हुन पनि सबै चीजहरू चुस्त-दुरुस्त चलेको अवस्थामा राज्यले कला-साहित्यको ज्यादा खोजीनीति गर्दो हो। यस्तो भद्रगोलको बेला कला-साहित्यको विषय कसरी राज्यको प्राथमिकतामा पर्थ्यो!

    कुनै समय देशको प्रतिनिधित्व गर्दै देश-विदेश चहारेका भैरव अहिले बुढेसकालमा महिनैपिच्छे राजधानीका तीनवटा अस्पतालको चक्कर काट्छन्। आँखा, मुटु र घुँडामा समस्या छ। 'खर्च त कति हो कति', तैपनि मुस्कुराउँदै भन्छन्, 'भो, राज्यको कुरै नगरौँ। कलाको कुरा गरौँ न! साहित्यको कुरा गरौँ।'

     

     

पवनराज पौडेल

पत्रकार पौडेल थाहा संचार नेटवर्कको स्टेशन म्यानेजर हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]