प्रमुख सञ्‍चारविज्ञ भन्छन् : प्राविधिक समस्या देखियो

|

काठमाडौं : राष्ट्रपतिको कार्यालयले सञ्‍चालनमा ल्याएर भेरिफाइड गरेको केही दिनमै ट्वीटर ह्यान्डल @ShitalNiwas गायब भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख सञ्चार विज्ञ टीकाप्रसाद ढकालसहितको समूहले खोलेर भेरिफाइडसमेत भइसकेको ट्वीटर ह्यान्डल अचानक गायब भएको हो।

राष्ट्रपतिका प्रमुख सञ्‍चारविज्ञ ढकालले नयाँ भेरिफाइड एकाउन्टमा साइबर हमला भएको भन्दै डिएक्टिभ गरिएको बताएका छन्। प्राविधिक समस्या देखिएकाले बन्द गर्नुपरेको तर्क उनले गरेका छन्। 

'राष्ट्रपति कार्यालयका सूचना र जानकारी साझा गर्ने उद्देश्यले चलाइएको @ShitalNiwas ह्यान्डलमा प्राविधिक समस्या देखिएकाले उक्त खाता बन्द गरिएको छ', उनले भनेका छन्, 'कार्यालयको सूचना र सञ्चारका लागि तत्कालै नयाँ खाता तयार गरी प्रस्तुत गर्नेछौं। यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छु।'

ढकालले अब अर्को ह्‍यान्डल नयाँ सुरक्षा प्रणालीसहित खोलिने जानकारी दिएका छन्। ढकालले ट्वीटरले सरकार तथा राष्ट्र प्रमुखका लागि फायरवाल सेक्युरिटी प्रणालीसहितको अर्को एकाउन्ट ल्याउने पनि जिकिर गरेका छन्। 

'भेरिफाइड भएको उक्त एकाउन्टको सुरक्षा विवरण बाहिरिएको बुझेका छौं। त्यहीकारण बन्द गरेका हौं, यसमा अरु कुनै कारण छैन', उनले भनेका छन्, 'फायरवाल सेक्युरिटी प्रणालीसहित अर्को ह्यान्डल खोल्दैछौँ।'

तर नेपाली कांग्रेसका गगन थापाको 'प्यारोडी एकाउन्ट'का यसअघि चलाइएको ह्यान्डलको नाम परिवर्तन गरेर राष्ट्रपतिको कार्यालयका लागि @ShitalNiwas कायम गरिएको भन्दै अहिले सामाजिक सञ्‍जालमा मजाकको विषय बनाइएको छ। प्यारोडी एकाउन्टलाई राष्ट्रपतिले प्रयोग गरेको भन्दै व्यंग्य गरिएपछि भेरिफाइड यो ह्‍यान्डल तत्कालै डिएक्टिभेट भएको छ। 

यसअघि ढकालले सोमबार @ShitalNiwas ट्वीटर एकाउन्ट भेरिफाइ भएको बताएका थिए। ‘खोलेर पनि प्रयोग नगरी रहेको एकाउन्टलाई नै एक्टिभ गरिएको थियो', उनले भनेका छन्, 'तर साइबर हमलासहितका समस्या देखिएपछि नयाँ ह्‍यान्डल बनाउनु पर्ने भयो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.