|

कालिकोट : ऊर्जा मन्त्रालयले कर्णाली अञ्चलका ५ वटै जिल्लाका प्रत्येक घर परिवारलाई तिला जलविद्युत् आयोजना–१ मा कम्तीमा एक–एक लाखको सेयर दिलाउने निर्णय गरेको छ। सरकारको यो निर्णयसँगै कर्णालीका स्थानीयवासी उत्साहित भएका छन्।

कर्णालीमा ठूलो जलविद्युत् आयोजना बन्न लागेको र कर्णाली स्थानीयलाई सेयर दिने सरकारी निर्णयले यहाँका स्थानीयवासी उत्साहित भएका हुन्। तिला आयोजना सम्पन्न गर्न झन्डै ६४ करोड अमेरिकी डलर खर्च हुने अनुमान गरिएको उर्जा मन्त्रालयले जनाएको छ।

तिला कर्णाली जलविद्युत् आयोजनाको प्रवर्द्धक एससी पावर कम्पनीका फिल्ड प्राविधिक दर्बबहादुर शाहीले भने, ‘ऊर्जा मन्त्रालयको निर्णयले स्थानीयवासी निकै उत्साहित भएका छन् ।’ उनले भने, ‘जलविद्युत् आयोजनाको काम छिटो अगाडि बढाउन स्थानीयले मागसमेत गरेका छन्।’

कर्णालीका डोल्पा, हुम्ला, जुम्ला, मुगु र कालिकोटका सबै परिवारलाई एक–एक लाख रुपैयाँको सेयर दिने निर्णय कर्णालीवासीका लागि निकै उत्साहपूर्ण रहेको कालिकोट उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यबहादुर शाहीले बताए। ‘तिला जलविद्युतमा स्थानीयको लागानी बन्न लागेको छ ।’ उनले भने, ‘लामो समयदेखिको हाम्रो मागलाई सरकारले सम्बोधन गरेको छ।’

कर्णालीका अति गरिब घर परिवारलाई सहुलियतपूर्ण ऋण उपलव्ध गराएर सेयरमा राख्ने सरकारको निर्णयले यहाँको गरिबीमा न्यूनीकरण आउने नेकपा एमालेका कालिकोटका अध्यक्ष नगेन्द्र शाही (नेशनल) ले बताए। ‘कर्णालीको जलविद्युत, पर्यटन, जडिबुटीमार्फत देशको मुहार फेर्न सक्नेछ।’  

उनले भने, ‘आयोजनामा कर्णाली विपन्न परिवारलाई ऋण दिएर सेयर लगानी गर्न पाएमा गरिबीमा न्यूनीकरणसमेत हुनेछ।’ तिला–१ र २ को पिपिए सम्झौता भइसकेको र पिडिए सम्झौता हुन केही ढिलाइ भएका कारणले काम अगाडि बढ्न नसकेको एसी पावर कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.