|

रुकुम : रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा निर्माण गर्न लागिएको तरकारी संकलन केन्द्रको काम अलपत्र परेको छ। किसानले उत्पादन गरेको फलफूल तथा तरकारीजन्य वस्तुको सहज संकलन र बिक्रिका लागि निर्माण गर्न लागिएको संकलन केन्द्रको कामले निरन्तरता नपाउँदा अलपत्र परेको हो।

खलंगा बजार र आसपासका किसानले उत्पादन गरेको तरकारीजन्य वस्तुलाई लक्षित गरी निर्माण गर्न लागिएको संकलन केन्द्रको वाल र फिल्ड निर्माणबाहेक अरू काम रोकिएको हो।

मुसिकोट बजार क्षेत्रमा सार्वजनिक जग्गा मिचेर सडक आसपासमा तरकारी व्यवसाय गर्दै आएका साना व्यवसायीलाई समेत लक्षित गरी निर्माण गर्न लागिएको तरकारी संकलन केन्द्रको काम आर्थिक अभावले अलपत्र परेको मुसिकोट नगरपालिकाको भनाई छ।

नगर प्रमुख देवीलाल गौतमले उक्त कार्यक्रमका लागि थप बजेट दिन प्रदेश सरकारसँग अनुरोध गरेपनि यस वर्ष पनि बजेट नआउँदा निरन्तरता दिन नसकिएको बताए। तर, अलपत्र अवस्थामा रोकिएको तरकारी संकलन केन्द्रको कामका लागि जसरी भए पनि बजेट व्यवस्थापनको स्रोत जुटाएरै निरन्तरता दिने नगरपालिकाको योजना छ।

अघिल्लो आर्थिक वर्षको असारदेखि नै सञ्चालनमा आउने भनिएको तरकारी संकलन केन्द्र निर्माणमा साविकको कृषि ज्ञान केन्द्रबाट १३ लाख अनुदान रकम र मुसिकोट नगरपालिकाबाट ११ लाख गरी २४ लाख छुट्याइएको थियो।

अघिल्लो आर्थिक वर्ष ०७५/७६ मा तरकारी संकलन केन्द्रको वाल र फिल्ड निर्मांणका लागि मात्रै अनुदान रकम प्रदान गरिएको कृषि विकास कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख मीनबहादुर केसीले बताए। 

सदरमुकाम खलंगा तथा आसपासका क्षेत्रको तरकारी व्यवस्थापन र बिक्री वितरण सहजताका लागि संकलन केन्द्र जतिसक्दो छिटो सञ्‍चालनमा ल्याउन स्थानीयहरुले माग गर्दै आएका छन्।

हाल बजार तथा सडक छेउमा घुम्ती पसल राखेर व्यवसायीहरुले तरकारी खरिद तथा बिक्री वितरण गर्दै आएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.