|

  • नमीन ढकाल-

इलाम : समयमै बजेट निकासाभए पनि इलाममा चालू आर्थिक वर्षको ७ महिनामा जिल्लामा १४ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ। अधिकांश कार्यालयले यस अवधिमा पुँजीगत खर्च १० प्रतिशतभन्दा कम मात्र गरेका देखिन्छ। केही कार्यालयले त ३ प्रतिशतमात्र बजेट खर्च गरेका छन्।

जिल्लाको भौतिक पूर्वाधार तथा विकास निर्माण सम्बन्धी कार्यमा आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ६६ करोड ७१ लाख रुपैयाँ निकासा भएकोमा २३ करोड ४९ हजार रुपैयाँ मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ।

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, जिल्ला डिभिजन सडक कार्यालय, जिल्ला विकास समितिको कार्यालय, सिञ्चाइ विकास डिभिजन कार्यालय लगायत मुख्य विकास कार्यालयले आफ्नो बजेटको २५ प्रतिशत पनि खर्च गर्न सकेका छैद्दन्।  कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार सवैभन्दा कम पुँजीगत खर्च गर्नेमा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रहेको छ। विकासको रकममध्ये ५७ प्रतिशत हिस्सा ओगटेको सो कार्यालयले हालसम्म ९ करोड ९९ लाख रुपैयाँ मात्र खर्च गरेको छ। मेची अञ्चलका ४ जिल्ला कार्यक्षेत्र रहेको यस कार्यालयले कुल बजेटको १० प्रतिशत मात्र पुँजीगत खर्च गरेको हो।

डिभिजन सडक कार्यालयको ३४ करोड ६८ लाखको १४ प्रतिशत रकममात्र खर्च गरेको छ। कार्यालयले हालसम्म मेचीका ४ जिल्लाको सडक एवं पुल निर्माणको लागि ४ करोड ८५ लाख मात्र खर्च भएको हो।

सिञ्चाइ डिभिजन कार्यालयले हालसम्म १७ प्रतिशत बजेटमात्र खर्च गरेको छ। सो कार्यालयमा विनियोजित ११ करोड २० लाखमध्ये १ करोड ८७ लाख रुपैयाँमात्र खर्च भएको छ। जिल्ला विकास कार्यालय इलामले कुल वजेटको २२ प्रतिशत रकम खर्च गरेको देखिन्छ। जिविसले ६ करोड ८० लाख रुपैयाँमध्ये १ करोड ५१ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको छ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले १२ करोड ८९ लाखमध्ये ४ करोड ६ लाख अर्थात कुल रकमको ३१ प्रतिशत मात्र खर्च गरेको छ। विगतका वर्षहरुमा पनि समयमा विकास निर्माणको काम हुन नसक्दा जिल्लामा करोडौ रुपैयाँ बजेट फ्रिज हुँदै आएको छ।

प्रमुख कोष नियन्त्रक रविन कोइराला भन्छन् ‘ पुँजीगत बजेट खर्च गर्दा खरिद ऐन पालना गर्नुपर्ने भएकाले प्रक्रियागत ढिलाइ हुनाका साथै ठेकेदार लगायत विविध पक्ष सहभागी हुने भएकाले खर्च कम भएको देखिएको हो।’ उनले बजेट खर्चमा गत बर्षको तुलनामा सुधार भएकझो बताए। कतिपय काम भइरहेपनि उक्त कामको रकम निकासा नहुँदा पुँजीगत खर्च कम भएको देखिएको पनि उनको भनाइ छ।

राजस्व संकलन बढयो

चालु बर्थिक वर्षमा इलाममा राजस्व संकलन भने विगतको वर्षभन्दा उच्च देखिएको छ। चालू आर्थिक वर्षको ७ महिनामा २० करोड २४ लाख रुपैयाँ राजस्व संकलन भएको छ। अघिल्लो आर्थिक वर्षको यही अवधीमा १६ करोड १० लाख रुपैयाँ राजस्व संकलन गरेको थियो।

सवैभन्दा बढी राजस्व संकलन गर्नेमा करदाता सेवा कार्यालय रहेको छ। सो कार्यालयले ७ महिनामा १० करोड ८८ लाख राजस्व संकलन गरेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ। कुल राजस्व संकलनको ५० प्रतिशत हिस्सा करदाता सेवा कार्यालयले ओगटेको छ।

जिल्ला वन कार्यालयले ३ करोड ४ लाख, यातायात व्यवस्था कार्यालयले ८७ लाख १८ हजार रुपैयाँ संकलन गरेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.