|

काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुनै दलको सभा बिथोल्ने अभिव्यक्ति आफूले नदिएको बताएका छन्।

ओली निवास वालकोटमा बिहीबार राति अबेर पुगेका गृहमन्त्री निधिले लहानमा फागुन १५ गते आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आफूले कसैलाई लखेट्ने भन्ने शब्द प्रयोग नगरेको समेत स्पस्ट पारेका थिए। ‘मेची–महाकाली अभियानबारे तपाईले त्यस्तो शब्द प्रयोग गरेको भनेर साथीहरुले भनेका छन्’ भेटमा ओलीको भनाई उधृत गर्दै स्रोतले भन्यो ‘तर मलाई तपाईले त्यस्तो शब्द प्रयोग गर्नु भएको भन्ने विश्वास लाग्दैन।’

एमालेले मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्री निधिले एमाले कार्यकर्तालाई मेची– महाकाली अभियानमा लखेट्ने अभिव्यक्ति दिएको आरोप लगाएको थियो। नेपाल महिला संघद्वारा लहानमा आयोजित निर्बाचन तथा महिला अधिकार सम्बन्धी नेतृत्व विकास तालिमको उद्घाटनका क्रममा मन्त्री निधिले एमालेले संविधान संशोधनमा अबरोध गरेको भन्दै एमालेबिरुद्ध भण्डाफोर गर्नुपर्ने बताएका थिए।

ओलीसंगको भेटमा मन्त्री निधिले संबिधान संशोधनबारे एमालेले प्रयोग गरेको राष्ट्रघाती शब्दप्रति आपत्ति जनाएका थिए। निधिले हिजोका दिनमा प्रदेशको सीमांकन हेरफेर सम्बन्धी तपाईले नै हस्ताक्षर गरेको दस्तावेजलाई सरकारले अघि सार्दा कसरी राष्ट्रघाती हुन्छ भन्ने प्रश्नमा अध्यक्ष ओलीले संविधान संशोधन देशको हितमा नभएको भनेको तर पार्टीको आधिकारिक दस्ताबेजमा राष्ट्रघाती शब्द उल्लेख नगरिएको प्रष्ट पारेका थिए।

भेटमा गृहमन्त्री निधिले एमालेको मेची–महाकाली अभियानका क्रममा सुरक्षाको व्यबस्था गर्न आफूले सुरक्षा निकायलाई निर्देशन दिएको जानकारी गराएका थिए। 
निधिले एमालेको सभा विथोल्न भनेको दाबी गर्दै एमाले नेताहरु उनीविरुद्ध खनिँदै आएका छन्। ओलीले बुधबार पनि अन्तर्क्रिया कार्यक्रममा निधिको नाम नै लिएर गृहमन्त्रीले एमालेको सभा बिथोल्न उत्तेजना फैल्याएको भन्दै त्यस्तो अभिव्यक्ति रोक्न निधिलाई चेतावनी दिएका थिए।

ओलीले गृहमन्त्री निधिलाई कुनै दलको सभा बिथोल्ने अभिव्यक्ति नदिन चेतावनी दिएपछि गृहमन्त्री निधि ओलीलाई भेट्न बिहिबार राति ओली निवास बालकोट पुगेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.