|

काठमाडौं :  प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा सोमबार स्ववियु चुनाव हुने भएको छ। सोमबार बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने सूचना निर्वाचन समितिले जारी गरेको छ। आरआर क्याम्पसमा त्रिभुवन विश्वविद्यालयले तोकेको फागुन १८ गते भने नेविसंघ र अखिल क्रान्तिकारी प्रचण्डले गरेको तालाबन्दीका कारण चुनाव हुन सकेको थिएन।  

चुनावलाई लक्षित गरेर क्याम्पस वरपर र क्याम्पसभित्र पनि प्रहरी परिचालन गरिएको छ। 'चुनावको कार्यतालिका अगाडि बढेको छ। त्यो अनुसार नै हामी अगाडि बढिरहेका छौं', क्याम्पस प्रमुख निर्मला सुवालले भनिन्, 'सुरक्षाको आवश्यकता भएर प्रहरी राखिएको हो।' 

क्याम्पस परिसरमा फागुन १८ गतेदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। क्याम्पसभित्र स्ववियु निर्वाचन समितिमा रहेका प्राध्यापक र कर्मचारी मात्र पस्न पाएका छन् भने विद्यार्थीलाई प्रहरीले भित्र प्रवेश निषेध गरेको छ। 

नेविसंघ बिनाको चुनाव

सोमबार चुनाव गर्ने भनेपनि नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले उम्मेदवारी दर्ता गर्न पाएको छैन। उसले केही माग राख्दै ती माग पूरा नभए मनोनयन दर्ता नगर्ने बताएको थियो। स्ववियु निर्वाचनको विषयलाई लिएर नेविसंघ र अनेरास्ववियुको फागुन १४ गते झडप भएको थियो। उक्त झडपमा प्रहरीले लाठीचार्ज गरेको थियो। सोही दिन क्याम्पसमा तोडफोड र आगजनी भएको थियो। त्यसको छानबिन हुनुपर्ने, फर्जी विद्यार्थीको भर्ना खारेज हुनुपर्ने र चुनावका लागि शान्तिपूर्ण वातावरण बनाउनुपर्ने भन्दै नेविसंघले आन्दोलन गरिरहेको छ।

'फागुन १८ गते भएको सामान्य मौखिक छलफललाई आधार मानेर सहमति नगरिकन निर्वाचनमा गएको कारणले हामीले आन्दोलन गरिरहेका हौं', नेविसंघका नेता उत्तम साउदले भने, 'कलेजमा आगलागी भएको छ छानबिन किन भएन? कलेज तोडफोड भएको छ यसको कारण के हो? भन्ने हाम्रो माग हो।'

क्याम्पस प्रमुख सुवालले जबरजस्ती चुनाव गराउन लागेको उनले आरोप लगाए। उनले भने, 'क्याम्पस प्रमुख विद्यार्थीका कुरा नसुनेरै कठोर रुपमा चुनावमा लागेकी छन्। आत्मदाह गरेपनि चुनाव गराउने भनेर लाग्नुभएको छ।' उनले यस्तो अवस्थामा चुनावमा सहभागी हुन विद्यार्थी आउनै नसक्ने बताए।

अनेरास्ववियुका नेता तथा पूर्व स्ववियु सभापति राजकुमार राईले भने नेविसंघले आन्तरिक कारणले मनोनयन दर्ता नगरेको बताए। 'उहाँहरु आफै चुनावमा सहभागी हुन सक्नुभएन', राईले भने, 'हामीले उहाँहरुलाई चुनावमा ल्याउन प्रयास गरेकै हो तर उम्मेदवार चयन गर्नमा आन्तरिक विवाद भएकोले चुनावमा सहभागी हुन सक्नुभएन।'

सोमबार हुने चुनावमा अनेरास्ववियु, अखिल क्रान्तिकारी (प्रचण्ड), नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी मोहन वैद्य र विप्लव, संघीय समाजवादी विद्यार्थी युनियन लगायतका विद्यार्थी संगठन रहेको संयुक्त प्यानल र नेपाल क्रान्तिकारी विद्यार्थी संघले उम्मेदवार मनोनयन दर्ता गराएका छन्।

ताला लगाउने र तोड्ने लहर

आरआर क्याम्पसमा स्ववियुको विषयलाई लिएर क्याम्पस प्रशासन, निर्वाचन समितिको कार्यालय, लेखा र भर्ना शाखामा तालाबन्दी गर्ने लहर चलेको छ।

फागुन १४ गतेसम्म नेविसंघ, अखिल क्रान्तिकारी (विप्लव) लगायतका विद्यार्थी संगठनले तालाबन्दी गरेका थिए। उनीहरुले ताला खोलेपछि फेरि नेविसंघ र अखिल क्रान्तिकारी (प्रचण्ड) लगायतले फर्जी भर्ना गरेको आरोप लगाएर ताला लगाएका थिए। त्यो ताला प्रहरी लगाएर फोडेपछि फेरि निर्वाचनको वातावरण नबनेको भन्दै प्रहरी घेरामै रहेको बेला ताला लागेको थियो। त्यो पनि फोडेर चुनावी प्रक्रिया अगाडि बढेको छ।

निर्वाचन अधिकृत नै अपहरण

यसैबीच फागुन २० गते शुक्रबार आरआरमाका स्ववियु निर्वाचन अधिकृत हरिप्रसाद पराजुली अपहरणमा परेका थिए। शुक्रबार दिनभर सम्पर्क बाहिर रहेका निर्वाचन अधिकृत शनिबार मात्र सम्पर्कमा आएको भनेर क्याम्पसले शनिबार बेलुकामात्रै विज्ञप्ति निकालेको थियो।

अपहरणमा परेका निर्वाचन अधिकृत पराजुलीलाई खोज्नको सट्टामा क्याम्पस प्रमुख भने शुक्रबार र शनिबार दिनभर क्याम्पसमा प्रहरीको सुरक्षाघेरामा निर्वाचन कार्यतालिका अगाडि बढाइरहेकी थिइन्। निर्वाचन समितिका सदस्य सचिव विष्णु ज्ञवालीले एक विज्ञप्ति निकालेर जस्तोसुकै परिस्थितिमा पनि चुनाव गराउने भन्दै पराजुलीको अपहरणको विरोध गरेको छ। ज्ञवालीले निकालेको विज्ञप्तीमा जुनसुकै परिस्थितिको सामना गरेर भएपनि निर्वाचन गर्ने उल्लेख गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.