|

स्याङ्जा : खोलाको छेउछाउ बस्न र माछा मार्न औधी रुचाउने माझी समुदायको पेसा संकटमा पर्न थालेको छ। ‘न त खोलामा माछा छन्, न त व्यवसाय गर्न लगानी छ’, यस्तै समस्यामा जुधेकी पुतलीबजार नगरपालिका–१३ की उमा माया माझी भन्छिन्।  

अहिले उमाजस्तै पुतलीबजार–१३ का २४ घरधुरीका माझी समुदाय कुखुरा पालनतर्फ आकर्षित हुन थालेका छन्। पुतलीबजार नगरपालिकाले यस्ता समुदायको पहिचान गर्दै कुखुराको खोर, चल्ला, आवश्यक औजार, दाना र औषधि वितरण गरेपछि उनीहरुको दैनिकीमा परिवर्तन आएको हो।

परम्परागत पेसाभन्दा आधुनिक पेसासँग जोडाउन सके यी समुदायको आयआर्जन वृद्धि हुने बताउँदै नगरप्रमुख सीमा कुमारी क्षत्रीले भनिन्, ‘२४ घरधुरीका १ सय २५ जनालाई व्यावसायिक कुखुरापालनमा आकर्षित गरेका छौँ।’ 

माझी समुदायका बच्चाबच्ची विद्यालय जाने गरे पनि युवा युवती र ज्येष्ठ नागरिकहरु माछा मार्ने र गिटी बालुवा बोकेर गुजारा चलाउँदै आएका छन्। उनीहरु कुलतमा पनि फसेका कारण बचाउन पनि यो कार्यक्रम प्रभावकारी हुने कृषि शाखा प्रमुख मनिषा लामिछानेले बताइन्। 

यी समुदायले उत्पादन गरेका कुखुरा सहज निर्यात गर्न गोरेटो बाटो, अतिविपन्न २ परिवारलाई घरसमेत निर्माण भएको छ।  

पुतलीबजार नगरपालिकाको कार्यालयबाट आर्थिक तथा प्राविधिक सहयोगपछि नेपालबाटै लोपोन्मुख अवस्थामा रहेको माझी बस्तीको मुहार फेरिएको छ। माझी बस्तीमा खरले छाएका पुराना घरलाई अहिले जस्ताले छाइएपछि उनीहरुले आफ्नो जीवनस्तर उकासिएको महसुस गरेका छन्। स्याङ्जाको कालिगण्डकी र आँधीखोलाको तटमा यी समुदायको बाक्लो बसोबास रहँदै आएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.