|

महाभारत एउटा विशालकाय ग्रन्थ हो। जय नामक काव्यबाट भारत हुँदै महाभारतको रुप लिएको एक लाख श्लोक भएको स्मृति ग्रन्थ हो। यसका सबै पात्रहरु आफैँमा वर्चस्व राख्छन् र कुनै पनि पात्र मुख्य भूमिकामा देखिँदैन। तर पनि सुरुमा पारिवारिक इतिहासको रुपमा लेखिएको जय नामक स्मृतिग्रन्थ पछि गएर पूर्वीय साहित्यको महत्वपूर्ण सामग्री बन्न गयो।

यसमा मुख्य पात्र को हो भन्ने पनि छैन नत कुनै पनि पात्रलाई कमजोर मान्ने कुरो छ। सबै उत्तिकै शक्तिशाली छन्। हरेक पात्रलाई हटाउँदा महाभारतको चरित्र नै परिवर्तन हुन्छ। तर पनि सबैभन्दा मुख्य पात्रको रुपमा पछि गएर वसुदेव पुत्र वासुदेव कृष्णको महत्व देखिन्छ।

पाण्डवहरुले महाराजा द्रुपदपुत्री द्रौपदी अर्थात् कुमारी कृष्णासँग विवाह गर्नका लागि , वाण हान्ने कलाको  सौर्य देखाए पछिमात्र कृष्णको प्रवेश हुन्छ महाभारतमा। द्रौपदीसँगको भेट र कृष्णसँगको भेट सँगै हुन्छ पाण्डवहरुको। कृष्ण र कृष्णासँग एकैपटक विवाह मण्डपमा भेट हुन्छ जहाँ ब्राह्मणले क्षत्रीय भेलामा हुने प्रतिस्पर्धामा भाग लिन पाउने कि नपाउने भन्ने विवाद देखिएपछि। 

वास्तवमा दूध खानका लागि एउटा दुहुनो गाई चाहन्थे द्रोण अनि साथी द्रुपदले आधा राज्य दिने वाचा गरेका थिए गुरुकुलमा बस्दा। लाग्यो द्रोणलाई मिल्ने साथी राजा भएको छ, छोरो अश्वत्थामा पनि जन्मिएको छ कृपीको गर्भबाट। केही त देलान् बस्न , खान र पढाउनका लागि।

प्रतिस्पर्धामा कर्णले आफ्नो क्षमता देखाएर द्रौपदीलाई आफ्नो जीवन संगिनी बनाउनै पाएनन् किनभने उनी सूतपुत्रको रुपमा परिचित भएकाले क्षत्राणीले सूतपुत्रलाई वरण नगर्ने विवाद उब्जिएको थियो।

सूतपुत्रले प्रतिस्पर्धामा भाग लिन पाउने कि नपाउने भन्ने विवादका बिचमा नै ब्राह्मण पुत्रले प्रतिस्पर्धामा भाग लिन पाउने कि नपाउने भन्ने विवाद देखिनु स्वाभाविकै थियो। तर ब्राह्मणलाई भाग लिन दिइएको थियो किनभने सायद ती ब्राह्मण पुत्रले त्यो प्रतिस्पर्धामा जित्ने सम्भावना कसैले देखेको थिएन होला। कृष्णलाई यो सबै थाहा थियो।

वेद व्यासले पाण्डवहरुको जीवनको एउटा महत्वपूर्ण मोड भएकाले त्यहाँ कृष्णको प्रवेश गराएर कथालाई नयाँ मोड दिएर त्यो महाभारतकालको नयाँ इतिहासको सुरुवातको छनक दिएको देखिन्छ।

यहाँ त्यो महाभारतभित्रका थुप्रै पात्रहरुमध्ये एकजना त्यस्तो पात्रको कुरा गरिन्छ जसको उत्पत्ति नै कुरुवंशको अन्त्यका लागि भएको देखिन्छ। हुन त कुरु वंश भन्ने बित्तिकै पाण्डव र कौरब दुवै नै हुन् तर त्यो बेलाको इतिहासलाई मिहिनरुपमा विश्लेषण गर्दा देवव्रत अर्थात् भीष्म पितामहसँग शुद्ध कुरुवंशीहरुको अन्त्य भएको देखिन्छ।

द्रौपदी

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी। पाँच नाथ अर्थात् पञ्च पाण्डव—युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव। बडो नाटकीय तरिकाले पाँचजना कौरबसँग विवाह भएको देखिन्छ। कौरब किन भनेको भने वास्तवमा धृतराष्ट्र र पाण्डुका छोराहरुलाई विभाजन गर्नका लागि धृतराष्ट्र महाराजका छोराहरुलाई कुरुका सन्तान अथवा कौरव भनिएको र पाण्डुका सन्तान पाँचओटा छोराहरुलाई पाण्डव भनिएको हो।

द्रुपद महाराजले आचार्य द्रोणसँग बदला वा प्रतिशोध लिनका लागि यज्ञ गरे। त्यही यज्ञबाट किशोर एकजना र किशोरी एकजना उत्पन्न भएको बताइन्छ महाभारतमा। हो तिनै किशोरीलाई नै नामाकरण गरिँदा कृष्णा भनियो जो याज्ञसेनी हुन्। यज्ञको झर्झराउँदो ज्वालाबाट फुत्त निस्किइन्। अर्को किशोरसँगै। अर्थात् जुम्ल्याहा सन्तान। किशोर र किशोरी। किशोर, जसको नामाकरण धृष्टद्युम्न भनेर गरियो। तिनै धृष्टद्युम्न नै महारभारतको युद्धमा पाण्डवतर्फका सेनापति थिए। बहिनीको पक्षमा लड्न गएका तर भित्रीरुपमा आचार्य द्रोणको निधनका कारक बन्नका लागि जन्मिएका। यसको पनि कारण थियो किनभने द्रुपद जब महाराज भए,उनका साथी द्रोणले केही अपेक्षासहित भेट्न जाँदा अपमान गरेका थिए।

वास्तवमा दूध खानका लागि एउटा दुहुनो गाई चाहन्थे द्रोण अनि साथी द्रुपदले आधा राज्य दिने वाचा गरेका थिए गुरुकुलमा बस्दा। लाग्यो द्रोणलाई मिल्ने साथी राजा भएको छ, छोरो अश्वत्थामा पनि जन्मिएको छ कृपीको गर्भबाट। केही त देलान् बस्न , खान र पढाउनका लागि।

भित्र चाहिँ राज्यको केही भागको समेत लालसा थियो क्या रे। तर द्रुपदले अपमान गर्दै एउटा ब्राह्मणको मगन्ते गुरु मेरो कसरी साथी हुनसक्छ भन्दै लाञ्छना लगाए। त्यहीँबाट सुरु भयो प्रतिशोध। पछि उनै द्रोणाचार्यले कुरुकुलमा गरुकुल चलाए। पढाए। धृष्टद्युम्नलाई पनि पढाए, शिखण्डीलाई पनि पढाए कौरब र पाण्डवसँगै।

शिखण्डिनीबाट शिखण्डी भएका थिए राजा द्रुपदका किन्नर सन्तान। जन्मँदा छोरी अनि पछि छोरा भएका। काशीराजकी छोरी अम्बाको पुनर्जन्मबाट द्रुपद महाराजाका दरबारमा जन्मेकी छोरी जो पछि छोरा हुन पुगेका थिए।

सूतपुत्र कर्णलाई भने वास्ता नगरेको पाइन्छ द्रोणले पनि भीष्म पितामह अर्थात् ज्येष्ठ कुरु देवव्रत अर्थात् भीष्म पितामहले पनि। कर्णमा एउटा विद्रोह भित्रभित्रै दन्केको थियो, धृष्टद्युम्नमा प्रतिशोध जमेको थियो, कृष्णासँग पाँचजनाकी पत्नी हुनुपरेकोमा क्षुब्धता बढेको थियो। दुर्योधनमा काकाका छोराहरुले राज्य गर्ने हुन् कि भन्ने कारणले जसरी हुन्छ उनीहरुलाई वैधानिकरुपमा राज्य वञ्चित गर्ने क्षूद्रता बढेको थियो। शकुनिमा आफ्नी सखल्ल बहिनी गान्धारीलाई जन्मान्ध धृतराष्ट्रको जिम्मा लगाएकोमा पूरा कौरब वंशसँगै बदला लिने भित्री इच्छा थियो।

शिखण्डी उभयलिङ्गी अर्थात् क्लीव राजकुमार थिए या राजकुमारी थिइन्। अघिल्लो जुनीमा अम्बाको रुपमा उनले पाएको हन्डर अर्कै छ जसका कारणले शिखण्डीनी भएर दु्रपद महाराजका सन्तानका रुपमा जन्म लिएको देखिन्छ। छोरी भएर जन्मे पनि छोराजस्तै व्यवहार गरियो र विवाहसमेत भएको थियो। पछि उनको लिङ्ग परिवर्तन भयो र पुरुषको रुपमा गणना गरियो। ती पनि महाभारतमा महारथीका रुपमा लड्न आएका थिए बहिनीका पक्षमा।

उनको लक्ष्य भनेको देवव्रत अर्थात् ज्येष्ठ कुरु भीष्म पितामहको हत्या गरेर अघिल्लो जुनीको दुःखको बदला लिनु थियो। सबैको कोही न कोहीसँग केही न केही कुरामा प्रतिशोध लिनै पर्ने देखिन्छ महाभारतको सम्पूर्ण अध्ययन गर्दा।

कृष्णा आफैँ महाकालीकी अवतार थिइन्। महाभारतका सबै पात्रहरु यसरी संरचित छन् कि कुनै पात्र विना त्यो महाकाव्य पूर्ण हुनै सक्दैनथ्यो। द्रौपदी त्यस्ती पात्रा हुन् जसको जीवनमा सुख, दुःख र सम्मान, अपमान सबै देखिन्। अन्ततः द्रौपदीलाई महाभारत युद्धले पुत्रपीडाको दुःख उपलब्ध गरायो र उनको सन्तानले भारतको शासन पनि गर्न पाएनन्।

द्रौपदीलाई धृष्टद्युम्नकी बहिनी नै भनौँ अब , किनभने को पहिले जन्मियो भन्दा पनि महाभारतमा धृष्टद्युम्नलाई पुरुष क्षमताको तर्फबाट नेतृत्व गर्ने बनाइयो भने कृष्णालाई प्रकृतिका तर्फबाट महाभारतको कारण बनाइयो। हो तिनै कृष्णालाई भनियो  द्रौपदी , पाञ्चाली, यज्ञसेनी या याज्ञसेनी।

उनको कृष्णा नाम एकप्रकारले न्वारानकै भन्नुपर्‍यो। महाराज द्रुपदकी छोरी भएकीले उनलाई द्रौपदी भनियो। पाञ्चाल राज्यकी राजकुमारी भएकीले पाञ्चाली भनियो र यज्ञबाट उत्पन्न भएकीले याज्ञसेनी भनियो। पाँचओटा ब्राह्मण कुमारहरुसँग उनको विवाह भयो जो वास्तवमा पाण्डुकुमार थिए , ब्राह्मणको भेषमा।

वार्णव्रतबाट सुरुङको बाटोबाट भागेपछि पाण्डवको भेष राजकुमारबाट ब्राह्मण कुमार भएको थियो। त्यही भेषमा नै द्रुपद महाराजको घोषणा बमोजिमको शर्त पूरा गरेर द्रौपदीलाई स्वयंवरका लागि योग्य भएका थिए। शर्त थियो युद्ध कौशल वा वाणको कौशल। तल पानीमा हेरेर फनफन घुमिरहेको चक्रमा रहेको माछाको आँखामा निशाना लगाउनु जो थियो।

अङ्गदेशका मानार्थ राजा  कर्णले त त्यो शर्तबमोजिमको कौशल पूरा गरेका थिए तर सूतपुत्र भनेर द्रौपदीले स्वयंवरमा समेत बस्न अस्वीकार गरिन्। पालो आयो ब्राह्मण कुमारको जो वास्तवमा अर्जुन थिए। उनले कौशल पूरा गरेर अरुले गर्न नसकेको काम फत्ते गरेर द्रौपदीका हकदार भए। दिउँसो भर माग्दा जेजे पाइन्छ कुमारहरुले बसेको डेरामा लैजाने र राजमाता कुन्तीको आदेश बमोजिम बाँडेर लिन्थे। यहाँ पनि राजकुमारीलाई अर्जुनले युद्ध कौशलद्वारा जिते पनि घरमा लिएर गएपछि आमालाई चकित पार्नका लागि आफूले ल्याएको चिज हेर्न अनुरोध गरे।

माता कुन्तीले पाँचजना बाँडेर लिनू भनेपछि त्यहाँ असमन्जस्य बढ्यो। कुन्तीको मुखबाट कुरो बाहिर आयो, बाँडेर लिने कुरा भयो तर कसरी त? एउटी राजकुमारीलाई पाँचजना कुमारहरुले कसरी बाँड्ने त ? समस्या आयो। बल्ल श्रीकृष्ण र व्यासले अघिल्लो जुनीमा नै तय भएको पाँच पतिको भाग्य अहिले पूरा भएकोले यसमा कुनै अप्ठेरो नहुने बताए पछि कुरो मिल्यो र पाँचजनासँगै बेग्लाबेग्लै पाणिग्रहण सम्पन्न भएको थियो। त्यसैले पाण्डवजस्ता महारथीहरुकी रानीले चीरहरण जस्तो बेलामा मौन बस्दा भनियो —पाँच नाथकी अनाथिनी।

युधिष्ठिर धर्मराजका अंश, भीम महाबली वायुका अंश, अर्जुन स्वर्गका राजा इन्द्रका अंश थिए जो कुन्तीका गर्भबाट जन्मिए। अनि माद्रीको गर्भबाट जन्मिनेमा परे नकुल र सहदेव जो जुम्ल्याहा पनि हुन्। उनीहरु जुम्ल्याहा देवता अश्विनी कुमारका सन्तान हुन्। तर त्यो बेलाको उत्तर वैदिक समयमा कुल निर्माण र निरन्तरताका लागि पतिको आदेशमा पत्नीले नियोग गरेर बच्चा जन्माउने चलन थियो।

जस्तो कि मरिसकेका विचित्रवीर्यका नामबाट व्यासमार्फत् अम्विकाबाट धृतराष्ट्र, अम्बालिकाबाट पाण्डु र दासीमार्फत् विदुर जन्मिएका थिए। ती तिनैजना कुमारहरुको पिताको नाम विचित्रवीर्य नै थियो। यसरी नियोगको अर्को चरणमा पाण्डुकी पत्नीहरु कुन्ती  र माद्रीबाट छोराहरु जन्माइए पाण्डुको आदेशमा। त्यसैले ती सबै सन्तान पाण्डुकै मानिए र पाण्डव भनिए।

पाञ्चाल राज्यकी राजकुमारी , हस्तिनापुर साम्राज्यकी साम्राज्ञी तथा संसारकी सुन्दरीमध्येकी एक द्रौपदीको जीवनचर्या जसरी चल्ने अनुमान थियो, त्यसरी पक्कै चलेन भन्नेकुरा महाभारतमा पाइन्छ। उनी अयोनिजा देखिन्छिन्  किनभने उनलाई प्रसव वेदनाबाट जन्माइएको नभई यज्ञबाट फुत्त बाहिर आएको भन्ने जस्तो व्यासले देखाएका छन्।

हस्तिनापुरका राजगुरु तथा आफ्ना विस्मृत तथा अपमानित साथी द्रोणले पाण्डवमध्येका सबैभन्दा ठूला धनुर्धारी अर्जुनमार्फत् आफूसँग लिएको प्रतिशोधको ज्वालामा दन्किएका द्रुपद महाराजका लागि राजगुरु द्रोणाचार्यसँग बदला लिनु नै बाँकी जीवनको उद्देश्य रहेको थियो।

शिखण्डी , जसलाई युवराजको रुपमा समाजमा प्रचार गरिएको थियो, उनी क्लीव थिए तर पनि महारथी नै थिए। न पुरुष, न महिला। उनीहरुलाई सौर्यका हिसाबले पुरुषमा गणना नगरेर महिलाजस्तै मानिन्थ्यो। महिलासँग वीर पुरुषले बराबरीमा लड्ने भनेको अपुरुषार्थी मानिन्थ्यो। त्यसैले शिखण्डीलाई महिलाको रुपमा जन्मेर पनि पछि पुरुषत्व प्राप्त गरेकाले उनलाई तेस्रो लिङ्गी वा उभय लिङ्गी वा क्लीव मानिएको थियो।

त्यस्तो क्लीव सन्तानबाट द्रोणाचार्य जस्ता महान धनुर्धारी योद्धालाई जितेर शरणागती बनाउनु वा मार्नसक्नु शिखण्डीबाट सम्भव नहुने कुरामा द्रुपद विश्वस्त थिए। त्यसैले शूरवीर पुत्रप्राप्तिका लागि यज्ञ गर्नु पर्ने सुझाव उनले पाए र बीर पुत्र जसले द्रोणाचार्यको वध गर्न सकोस् भनेर यज्ञ गरियो। नभन्दै हातमा तरबार र धनु , शरीरमा कबचसहितको किशोर भनौँ या युवा यज्ञबाट निस्कँदा युवकमात्र निस्किएनन्, सँगै उनकी बहिनी पनि आइन् श्यामवर्णकी सुन्दरी।

धृष्टद्युम्नलाई आफ्नो जन्मको कारण थाहा थियो। उनको उत्पन्न गर्नका लागि बोलिएका मन्त्रहरुले नै स्पष्ट गरेरमात्र उनको जन्म भएको हुनुपर्छ। कसैलाई नटेर्ने धृष्ट युवाको रुपमा उनको  जन्म भएको थियो। अयोनिज पुरुष। त्यो समयमा गुरुहरुमध्ये सबैभन्दा तीक्ष्ण र क्षमतावान राजगुरु भनेको नै कुरु दरबारमा रहेका गुरु द्रोणाचार्य थिए जसलाई सहजीकरण गर्नका लागि राजगुरु कृपाचार्यले सहयोग गरेकै थिए।

कृपाचार्य कौरवको दरबारमा राजगुरुको रुपमा स्थापित थिए। उनकै बहिनी ज्वार्इँ द्रोणाचार्य , कौरव र पाण्डवलाई एउटै पाठशालामा शिक्षा दिनका लागि दरबारबाट नियुक्त गरिएका आचार्य थिए। त्यसताका सबैभन्दा चतुर र तीक्ष्ण गुरुको रुपमा पुजित द्रोणाचार्य पनि आफ्ना अतीतका मित्रका वचन वाणबाट छियाछिया भएको मन लिएर बाँचेका थिए प्रतिशोधको ज्वाला छातीभित्र लुकाएर, भुसभित्रको आगोजस्तै गरी।

 द्रोणलाई त्यस्तो पात्रको अत्यन्त आवश्यकता थियो जसले द्रुपदलाई पाता कसेर उनको चरणमा ल्याएर घोप्ट्याओस् र आफ्नो इच्छाअनुसारको दण्ड दिन पाइयोस्। उनले पाण्डवमध्ये पनि अर्जुनमा त्यो क्षमता लुकेको देखे र प्राणभन्दा पनि प्यारो छोरो अश्वत्थामाभन्दा पनि विश्वासपात्रको रुपमा सिकाउन थाले युद्धकला, हतियार।

त्यसबेलामा गुरुकुलका आचार्यहरु स्वतन्त्ररुपमा दरबारभन्दा टाढा कतै राजकुमार तथा ऋषि कुमारहरुलाई शिक्षा दिन्थे। शिक्षाको सबै प्रवन्ध सरकारले गथ्र्यो। विद्यार्थीहरुलाई ब्रह्मचर्याश्रमको कडा बन्धनमा राखेर सबै शिक्षार्थीहरुलाई एउटै समान व्यवहार गरिन्थ्यो। सबै शिक्षार्थीहरुले पालैपालो गरेर गृहस्थहरुसँगबाट भिक्षा ल्याएर भण्डारमा दाखिला गर्नुपथ्र्यो। अर्थात् को राजकुमार वा को ऋषिकुमार, सबैलाई एउटै व्यवहार गरिन्थ्यो।

तीक्ष्ण र सक्षम विद्यार्थीका रुपमा ऋषिकुमार द्रोण थिए , त्यसैले द्रोणसँग मित्रता गाँस्न सबै जसो शिक्षार्थीमा लालसा रहन्थ्यो जसमा पाञ्चाल कुमारले बाजी मारेका थिए द्रोणसँग मित्रता गाँस्न। उनीहरुका बीचमा मित्रता अत्यन्तै हार्दिक थियो, लाग्थ्यो, त्यो हार्दिकता ब्रह्मचर्याश्रममा मात्र होइन, पछि गृहस्थाश्रम, वानप्रस्थाश्रम र सन्यासाश्रममा समेत रहिरहने छ। आजीवन रहने छ। मित्रता भनेको क्षणिक हुने त कुरै भएन। मित्रता कस्तो त भन्दा द्रोण र द्रुपदको जस्तो भन्ने भनाइ नै थियो गुरुकुलमा। आत्मीय, हार्दिक र धवल सम्बन्ध मानिन्थ्यो उनीहरुका बीचमा।

राजाको गृहस्थाश्रम भनेको राजपाठको समय हो। राजालाई आफू वृद्ध भएको जनताको सेवामा सक्षम हुन नसकेको जस्तो लाग्ने बित्तिकै वानप्रस्थाश्रममा जाने चलन थियो  ७० र्षभन्दा बढी हुन लागेपछि सन्यासाश्रममा प्रवेश गरिन्थ्यो। प्रायशः राजाहरु युद्धमा नै स्वर्गारोहण हुन्थे या आजन्म राजपाठमा नै लाग्न चाहन्थे। तर पनि आदर्श राजाले जनताको चाहनाबमोजिम नै आफ्ना युवा भाइ वा पुत्र वा पौत्रलाई राज्य सुम्पेर वानप्रस्थ जाने चलन थियो।

त्यसैबीच महाराज प्रिषतको स्वर्गारोहण भएपछि युवराज दुपदको राजा हुने पालो आयो र उनले राजपाठ सम्हाल्नका लागि गुरुकुलबाट बेलैमा विदा लिए। पहिलेदेखि गुरुकुलमा नै युवराज द्रुपद र ऋषिकुमार द्रोणको भेट भएको  थियो सहपाठीको रुपमा।

अत्यन्तै गाढा मित्रता भएकाले भावी पाञ्चाल नरेश दु्रपद बारम्बार आफू राजा भएपछि द्रोणलाई केके दिन सकिन्छ, त्यसको आश्वासन बाँडिरहन्थे। कतिसम्म भने आफू राजा भएपछि मुख्य मन्त्री वा सल्लाहकारका रुपमा समेत द्रोणलाई राख्ने र राज्यको करिब आधी हिस्सासमेत दिएर राख्ने महत्वाकाँक्षाले द्रोणलाई एउटा स्वैरकल्पनाको बाटो देखाउने गथ्र्यो।  जसरी हुन्छ जीवनभर दुई साथीहरु नछुट्टिने प्रण बारम्बार गर्थे द्रुपद।

द्रोणमा पनि पाञ्चाल नरेश द्रुपदको दरबारमा जाने र पुराना मित्रताका अनुभव साटासाट गरेर युवापनको याद ताजा गराउने इच्छा बारम्बार आउँथ्यो। मौका जो मिलिरहेको थिएन।

कृपाचार्यकी जुम्ल्याही बहिनी कृपीसँग ऋषिकुमारबाट महान धनुर्धारी भएका द्रोणसँग विवाह भयो। द्रोणबाट द्रोणाचार्य भएका ओजस्वी र तेजस्वी ब्राह्मणको चर्चा चारैतिर चलेको थियो। चर्चा चल्नुको कारण थियो, ब्राह्मण आफैँ धनुर्धारी हुँदैनथे, धनुर्विद्यामात्र पढाउँथे। तर द्रोणाचार्य अरु पनि धनुर्विद्याको सिकाइको खोजीमा भौँतारिरहेको बुझिन्थ्यो। मानौँ आफैँ ठूलो धनुर्धारी भएर युद्ध लड्नु छ र कसैलाई जितेर आफ्नो बशमा ल्याउनु छ।

नियतिको खेला सधैँ सरल रेखामा हिँड्दैन। युवा वयको एउटा लय र सुरिलो झन्कार एकैनास जीवनको एकतारेमा झङ्कृत भइरहँदैन। तिनै अभिन्न साथीहरु, द्रुपद र द्रोण पछि एकअर्काका महान शत्रु भए जसका कारणले धृष्टद्युम्न र कृष्णाको उत्पत्ति भयो।

द्रुपदलाई द्रोणले युद्धमा मारे अनि धृष्टद्युम्नले द्रोणलाई युद्धमा मारे। कुरु परिवारभित्रको मारामारको त्यो कथाभित्र द्रौपदीको कथा झन विचित्ररुपले गुत्थिएको छ। शिखण्डीको कथा पनि त्यसैगरी जेलिएको छ प्रतिशोधको आगो निभाउनका लागि। द्रौपदीको कथा त्यसैगरी उधिनिएको छ प्रतिशोधको ज्वाला समन गर्नका लागि।

मानिन्छ, कृष्णा आफैँ महाकालीकी अवतार थिइन्। महाभारतका सबै पात्रहरु यसरी संरचित छन् कि कुनै पात्र विना त्यो महाकाव्य पूर्ण हुनै सक्दैनथ्यो। द्रौपदी त्यस्ती पात्रा हुन् जसको जीवनमा सुख, दुःख र सम्मान, अपमान सबै देखिन्। अन्ततः द्रौपदीलाई महाभारत युद्धले पुत्रपीडाको दुःख उपलब्ध गरायो र उनको सन्तानले भारतको शासन पनि गर्न पाएनन्।

द्रौपदीको जीवन विम्बले दुःख, सुख, मान , अपमान र सन्तुष्टिको संगमलाई एकै ठाउँमा देखाएको छ र सनाथ र पौरखी राजकुमारहरुकी अनाथ महारानीको रुपमा महाभारतले प्रस्तुत गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.