शव पोष्टमार्टमका लागि धरान लगियो

|

मोरङ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले घाँटी रेटेर एकजना प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरिएको क्षेत्रमा प्रहरीले 'सर्च अपरेशन' चलाइरहेको छ। 

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मोरङसहित छिमेकी जिल्लाका समेत प्रहरी उतारेर सर्च अपरेशन चलाइएको हो। मिक्लाजुङ गाउँ इलाम, पाँचथर र धनकुटाको सीमाक्षेत्रमा अवस्थित विकट पहाडी क्षेत्र हो। 

त्यस क्षेत्रमा यसअघि पनि विप्लवका कार्यकर्ताले आफ्नो सक्रियता देखाएका थिए। त्यहीँबाट दुई कार्यकर्ता पक्राउ गराउन प्रअ श्रेष्ठले नै सुराकी गराएको आरोप विप्लव समूहले लगाउँदै आएको छ।

सुराकीको आरोपमा मंगलबार हत्या गरिएका मोरङको मिक्लाजुङ गाउँपालिका-१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय श्रेष्ठको शव मंगलबार बिहान स्थानीय बर्खेको जंगलमा भेटिएको थियो।

उनको शवलाई घटनास्थलबाट उठाएर पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। मिक्लजुङको रमितेखोलास्थित बर्खे गाउँस्थित घरबाटै विप्लवका कार्यकर्ताको अपहरणमा परेका उनको घाँटी रेटेर हत्या भएको थियो।

घरबाट एक किलोमिटरको दूरीस्थित जंगलमा दुवै हात पछाडि बाँधेपछि घाँटी रेटेर उनको हत्या भएको थियो। शव पोष्टमार्टमका लागि बिपी प्रतिष्ठान धरान पठाइएको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताएका छन्। 

यो घटनापछि त्यस क्षेत्रमा प्रहरी परिचालन गरेर सर्च अपरेशन चलाइएको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता एसपी कमल थापाले थाहाखबरसँग बताएका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसमेत घटनास्थल क्षेत्रमा परिचालित भएका हुन्। 

'हाम्रो टोली त्यस क्षेत्रमा सर्च अपरेशनमा जुटेको छ। हत्यामा संलग्‍न विप्लवका कार्यकर्ताको खोजी गर्दैछौं', उनले भनेका छन्, 'हत्या हिंसामा संलग्‍नविरुद्ध कडारूपमा प्रस्तुत हुने योजनासहित मातहतका निकायमा पनि समन्वय र निर्देशन गर्दैछौं।'

यो घटनाको मंगलबार साँझ विप्लव समूहका मेची-कोशी व्युरो इञ्चार्ज प्रतापले जिम्मेवारी लिएका छन्। उनले विज्ञप्ति निकालेर पार्टीविरुद्ध सुराकी गरेको आरोप लगाएका छन्। पटक-पटक सम्झाउँदा पनि नमानेपछि प्रतिकारका क्रममा उनको ज्यान गएको जिकिर उनले गरेका छन्। तर, शिक्षक श्रेष्ठको हात बाँधेपछि घाँटी रेटेर हत्या गरेको शवको प्रकृतिले देखाएको छ। 

घटनापछि जिल्ला प्रहरी कार्यालय मोरङबाट डिएसपी मानबहादुर राईको नेतृत्वमा सुरुमा प्रहरी टोली गएको थियो। त्यसपछि मोरङ प्रहरी प्रमुख खड्का आफैं पनि त्यहाँ गएका थिए। प्रदेश प्रहरी कार्यालयको टोली पनि घटनास्थलमा गएको एसपी थापाले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.