गोली हान्न मैले आदेश दिएको छैन :प्रचण्ड

|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको मेची –महाकाली अभियान तत्काल रोक्न गरेको आग्रहलाई एमालेले अस्वीकार गरेको छ। 

सोमबार सप्तरीमा तीन जनाको मृत्यु हुने गरी भएको घटनापछिको राजनीतिक अवस्थाबारे छलफल गर्न बोलाएको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा  प्रधानमन्त्री प्रचण्डले यस्तो प्रस्ताव गरेका थिए। उनले एमालेको अभियानको क्रममा सप्तरीमा मोर्चाका कार्यकर्ताहरु मारिएको र स्थिति गम्भीर हुँदै गएकोले अभियान रोक्न आग्रह गरेका थिए।

‘प्रधानमन्त्री दाहालले हामीलाई हाम्रो मेची –महाकाली अभियान रोक्न आग्रह गर्नु भयो’, बैठकमा सहभागी एमाले उपाध्यक्ष भीम रावलले थाहाखबरसँग भने ‘ तर हामीले नेपालको कुनैं पनि भू भागमा स्वतन्त्रपूर्वक कार्यक्रम गर्ने अधिकार भएकोले शुक्रबारबाटै हेटौंडाबाट अभियानलाई निरन्तरता दिन्छौं भन्यौं।’

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली नागरिक भएको हैसियतले एमालेले मुलुकको जुनसुकै ठाउँमा गएर पनि कार्यक्रम गर्न पाउने नैसर्गिक अधिकार रहेको भन्दै कानुन हातमा लिने आपराधिक क्रियाकलापमा संलग्नलाई सरकारले किन नियन्त्रण गर्न नसकेको भनेर आक्रोश पोखेका थिए। ओलीको जवाफमा प्रधानमन्त्री प्रचण्डले सरकारले जुनसुकै राजनीतिक दलको कार्यक्रमलाई पनि सुरक्षा दिने भन्दै तर हालको ‘गम्भीर परिस्थितिलाई बुझिदिन आगैह गरका थिए। 

एमालेको कार्यक्रममा सांघातिक आक्रमण हुँदा, ढुंगामुडा र पेट्रोल बम प्रहार हुँदा समेत राज्यले अपराधिक कृयाकलापमा संलग्नलाई गिरफ्तार गर्न र स्थितिलाई नियन्त्रणमा लिन नसकेर राज्य किन निरिह बनेको भनी एमाले अध्यक्ष ओलीले जिज्ञासा राखेका थिए। त्यसको जवाफमा प्रधानमन्त्री प्रचण्डले सुरक्षा निकायलाई शान्ति सुरक्षाको लागि एलर्ट नैं राखिएको जनाएका थिए। 

एमाले नेताहरुले सप्तरीमा सुरक्षाकर्मीलाई गोली नचलाउन प्रहरीलाई किन आदेश दिएको भनी प्रश्न गरेका थिए। उपाध्यक्ष रावलका अनुसार एमालेका नेताले प्रहरीलाई गोली नचलाउन आदेश दिएको हो भनी प्रश्न गर्दा प्रधानमन्त्री प्रचण्डले  त्यो झुटो भएको बताएका थिए। 

भेटमा प्रचण्डले आफूले प्रहरीलाई गोली नचलाउन आदेश दिएको भन्ने कुरा कपोलकल्पित, भ्रामकर झुटो भएको बताएका थिए। त्यसपछि एमाले नेताहरुले त्यसोभए सीडीओ र एसपीलाई किन फिर्ता बोलाएको भनी प्रश्न गरेका थिए।

 उनले एमाले शीर्ष नेतासँग अभियानलाई स्थगित गर्न वारम्बर आग्रह गरेका थिए। तर एमाले नेताहरुले एमालेको अभियानालाई सुरक्षा दिन नसकेर डराउने सरकारले स्थानीय तहको निर्वाचन गर्ने हिम्मत कसरी जुटाउला भनी प्रश्न गरेका थिए। 

प्रधानमन्त्री प्रचण्डसँग रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले सप्तरी घटनापछि राजनीतिले ‘गम्भीर’ मोड लिएको भन्दै अभियानलाई स्थगित गर्न आग्रह गरेका थिए। प्रधानमन्त्री र कांग्रेस सभपाति देउवाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई संविधान संशोधन विधेयक पास नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने सात दिने अल्टिमेटम दिएको जनाएका थिए।

‘हामीले मधेसी मोर्चाद्वारा सप्तरीमा हिंसात्मक आक्रमण गरेको भन्दै उनीहरुको क्रियाकलाप रोक्न नसकेर निरिहता प्रस्तुत गरेको सरकारले गम्भीर परिस्थिति भनेको के हो भनेर प्रस्ट हुन प्रश्न गर्‍यौं' रावलले भने। 

बैठकमा प्रधानमन्त्री दाहालसँग नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति देउवा, पूर्वमहामन्त्रीहरु प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला र एमालेबाट अध्यक्ष ओली, उपाध्यक्ष रावल र बामदेव गौतम लगायत सहभागी थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.