|

काठमाडौं सरकारले काठमाडौंलगायत देशभर एन्टिजेन परीक्षण (समुदायमा कोरोना परीक्षण गर्ने विधि) पुनः सुरु गर्ने भएको छ। काठमाडौं उपत्यकामा पुस ५ उपत्यकाका ५० हजार मानिसको परीक्षण गर्ने सरकारले तयारी गरिरहेको छ।

यसअघि दुई पटक यस्तो परीक्षण गरिएको थियो। न्यून संख्यामा परीक्षणका लागि आएकाले सरकारले यस्तो परीक्षण रोकेको थियो। एन्टिजेन परीक्षण मंसिर १६ गतेदेखि सुरु भएको थियो। तर, सोचेजति परीक्षण नभएपछि  दुई दिन मात्रै गरेर मंसिर १८ गतेदेखि सरकारले यो बन्द गरेको थियो।

२ सयभन्दा बढी संक्रमित रहेका र कोभिडबाट पूर्ण रुपमा प्रभावित बनेको क्षेत्रमा यस्तोखाले परीक्षण गरिने भएको हो। पछिल्लो समय मुलुकभर कोभिड संक्रमित घटेसँगै सरकरले देशभरका मुख्य-मुख्य सहरमा पुनः एन्टिजेन परीक्षण सुचारु गर्न लागेको हो।

सबै स्वास्थ्यकर्मीलाई यसबारे तालिम

नेपालमा कोभिड संक्रमित घटे पनि जोखिम नघटेकोले त्यस जोखिमको पहिचान गर्न एन्टिजेन परीक्षण पुनः गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कोरोना फोकल पर्सन महेन्द्र प्रसाद श्रेष्ठले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार आगामी ५ गतेदेखि यो परीक्षण सुरु गरिनेछ। प्राविधिक रुपमा केही ढिलो भए एक सातामा परीक्षण सुरु गरिने उनको दाबी छ।

'उपत्यकामा मात्र एक महिनामा ५० हजार नागरिकको एन्टिजेन परीक्षण गरिन्छ,' उनले भने,' अहिले परीक्षणको लागि स्वास्थ्यकर्मीलाई तालिम दिइसकिएको छ। ठूला-ठूला सहरमा पनि कर्मचारी पठाइसकिएको छ।'

पोखरामा भोलि(शुक्रबार) देखि परीक्षण सुरु गरिने र त्यहाँ आजै कर्मचारी पुगिसकेका श्रेष्ठले जानकारी दिए। संक्रमण दर कम भए पनि विगतमा हटस्पट क्षेत्र भएको ठाउँलाई प्राथमिकतामा राखेर परीक्षण गरिने उनको भनाइ छ।

मुख्यतया समुदायमा कोभिड संक्रमण फैलिएको छ छैन, त्यसको पहिचान गर्न सजिलो हुने उनले सुनाए। मानिसले पछिल्लो समय कोरोना परीक्षण गर्न छाडेपछि एन्टिजेन परीक्षणले थप संक्रमितको पहिचान गर्न सजिलो हुने उनको दाबी छ।

सातै प्रदेशमा परीक्षण

मुलुकभर कोभिड संक्रमितको कस्तो अवस्था छ त्यसको अध्ययन सरकारले गर्ने भएको छ। सातै प्रदेशको मुख्य-मुख्य सहरमा परीक्षण गर्न सरकारले तीव्रता दिएको छ। मन्त्रालयका मुख्य कर्मचारी कोभिड संक्रमणको उच्च जोखिम रहका जिल्ला भ्रमण गरी त्यहाँको अवस्था बुझ्न लागेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बासुदेव पाण्डेले जानकारी दिए।

पाण्डेले भने, 'स्थानीय र प्रदेश सरकारको सहकार्यमा परीक्षण गरिन्छ। माघ र फागुनमा मुलुकभर ५ लाख मानिसको एन्टिजेन परीक्षण गरिने भएको हो।' सबै स्वास्थ्यकर्मीलाई एन्टिपरीक्षणबारे तालिम दिइसकेको पाण्डेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.