|

उदयपुर : फागुनको तातो घाममा उदयपुर सदरमुकाम गाईघाट भएर बग्ने त्रियुगा नदी किनारमा पसिना बगाउँदै एक महिला बालुवा चाल्दै थिइन्। देश विदेशमा  अन्तराष्ट्रिय १०७ औं श्रमिक महिला दिवश भव्य रुपमा मनाइएको छ। त्यसैले महिला दिवसको सन्दर्भमा हामीले यी महिलालाई सोध्यौं कसरी मनाउनुहुन्छ यो दिवस?

लिलामैया सदाले महिला दिवसका विषयमा आफुलाई केही थाहा नभएको बताइन्। 'हामी काम गरी खानेलाई के-को श्रमिक महिला दिवस,' उमेरले ४१ काटीसकेकी उनले भनिन्,'बालुवा चाल्दै समय बित्छ।'

सिरहा स्थायी घर भई हाल गाईघाटको बरुवा खोलाको पुल नजिक बस्‍ने दिलकुमारी मण्डलले आज महिला दिवस भन्ने सुनेकी छिन्। तर महिला दिवस केका लागि मनाइन्छ भन्ने उनलाई थाहा छैन्। '३७ वर्षको भएँ, जीवनभर बालुवा चालेर गुजारा गरेकी छु,’ थाहा खबरको भेटमा उनले भनिन्, 'हाम्रो त सभा तथा आमसभा जाने फुर्सद हुँदैन, गए बेलुका नानानानीहरुको छाक कस्ले पुर्‍याइदिन्छ।'

लिलामैया र दिलकुमारी प्रतिनिधि पात्र मात्रै हुन्। उनीहरुजस्ता ज्याला-मजदुरी गरेर दैनिक छाक टार्ने लाखौं महिलालाई '१ सय ७ औं श्रमिक महिला दिवस' का विषयमा पर्याप्त जानकारी छैन्।

'हामी बालुवा चाली खानेलाई के-को महिला श्रमिक दिवस ? के दिवसले खान दिन्छ र ?' कुराकानीकै क्रममा दिलकुमारीले भनिन्।

दिलकुमारीजस्ता श्रमिक महिलाहरुलाई श्रमिक दिवसका विषयमा चासो राख्ने फुर्सद नभएपनि यो दिवस मनाउनेहरुको संख्या नेपालमा ठुलो छ। बुधबार १०७ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उदयपुरमा पनि विभिन्‍न कार्यक्रम भए।

महिला मुलधार सेवा केन्द्र (मासवेस) उदयपुरको संयोजनमा पद यात्रा आयोजना गर्‍यो। यसैगरी महिला पुर्नस्थापना केन्द्र (ओरेक) उदयपुरले अन्तरक्रिया कार्यक्रम आयोजना गर्‍यो। यसबाहेक विभिन्न दलसँग आबद्ध महिलाका संघ-संस्थाले र्‍याली, सभा र गोष्ठी आयोजना गरे।

नदि किनारमा श्रम बगाएर पेट पाल्ने महिलाहरुको दैनिकी र वर्षमा एकदिन भव्य कार्यक्रम आयोजना गर्ने महिला दिवस मनाउनेहरुबीचको भिन्‍नता राज्यले छुट्याउन नसकेको स्थानीय जोगमाया खत्री बताउँछिन्।

'वास्तविक श्रमिकहरुलाई नै यो दिवसका विषयमा थाहा छैन्। आजका दिन श्रमिकहरु कुन अवस्थामा छन् भन्ने खोजी राज्यले गरेको छैन् भने गैर-सरकारी निकायलाई के-को महत्व? महिलाहरुको तथ्यङक राज्यले गर्नुपर्छ भने गैर सरकारी निकायले महिला दिवसको बारेमा बनाउने योजना पारर्दशी हुनुपर्छ,' उनले भनिन्।

ज्यालामा विभेद कायमै

दैनिक ज्यालादारी गर्ने महिलाहरुले पुरुषको तुलनामा कम ज्याला पाउने गरेको प्रतिक्रिया दिएका छन्। 'महिलाले ८ घण्टा पुरुषको सरह काम गरे पनि ज्याला कम पाउँछन्,’ त्रिनपा २ मा घर बनाउनको लागि बालुवामा पानी हाल्दै गरेकी सुनिमाय दासले भनिन्,'महिलाले ३ सय पाउँछन भने पुरुषले ७ सयसम्म दैनिक रुपमा लिने गरेका छन्। यसका बारेमा कसले बोलिदिने?' सुनिमायले दुखेसो गरिन्।  

यस्तो छ श्रमिक महिला दिवसको उद्देश्य

आजभन्दा १ सय ७ वर्षअघि समान ज्याला र सम्मानको माग राख्दै महिला श्रमिकहरुले अमेरिकाको न्युयोर्क शहरमा वृहद प्रदर्शन गरेका थिए। सन् १९०८ मार्च ८ मा न्यूयोर्क शहरको गार्मेन्ट कारखानामा काम गर्ने महिलाहरू कारखानाका मालिक विरूद्ध सडकमा उत्रेको दिन श्रमिक महिला दिवसको इतिहासमा पहिलो दिन मानिन्छ। 

न्युयोर्कबाट जागेको श्रमिक महिलाहरुको अभियान अमेरिकाको सिकागो हुँदै युरोप तथा एशियासम्म फैलियो। सन् १९१० मा कोपेनहेगनमा सम्पन्न अन्तर्राष्ट्रियस्तरको श्रमिक महिलाहरूको सम्मेलनले महिलाहरूले आन्दोलन उठाएको दिन ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने निर्णय गर्‍यो।

यही निर्णयलाई अनुसरण गर्दै नेपालका वामपन्थी महिला संगठनले महिला दिवस मनाउन थाले। तर महिला दिवसका अवसरमा जतिसुकै चर्का भाषण,गोष्ठी र सेमिनार आयोजना गरिएपनि नेपालमा श्रमिक महिलाहरुको अवस्था उस्तै छ। श्रमिक महिलाहरुले समान पारिश्रमिक र न्याय पाउन सकेका छैनन्।

यसरी मनाइयो उदयपुरमा, फोटो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.