अपमान सहन नसकेर समूह बनाउनु परेको स्पष्टीकरण

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पटकपटक अपमान गरेको बताएका छन्। 

पार्टीको एउटा केन्द्रीय कार्यालय पेरिस डाँडामा शुक्रबार प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवहरुसँगको भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो गुनासो गरेका हुन्। भेलामा सहभागी प्रदेश १ का एक केन्द्रीय सदस्यका अनुसार प्रचण्डले सम्बोधनको धेरै समय ओलीले आफूलाई गन्दै नगनेको गुनासो गर्न खर्चिएका थिए।

प्रचण्डले यो कुनै गुटको भेला नभई ओलीले पार्टीटमा फैल्याएको भ्रम चिर्न ग्राउन्डसम्म सन्देश पुर्‍याउन गरिएको कार्यक्रमका रुपमा बुझ्‍न आग्रह गरेका थिए। आफू पार्टीको कार्यकारी अध्यक्ष भए पनि ओलीले कहिल्यै त्यो कुरा नस्वीकारेको धारणा प्रचण्डले भेलामा राखेका थिए। 

'ओलीजीले मलाई कहिल्यै अध्यक्षका रुपमा हेर्नु भएन, बारम्बार अपमान गरिरहनु भयो। यसरी समूह बनाएर हिँड्ने मलाई रहर थिएन तर ओलीजीको व्यवहारका कारण मैले यो कदम चाल्नै पर्ने भयो', दाहालले भने, 'उहाँले तँ अध्यक्ष नै होइनस् भन्‍नु भयो, मलाई रबर स्ट्याम्प अध्यक्ष ठान्‍नुभयो। तेरो हैसियत भनेको सात जनासँग मिल्ने होस् भनेर टिप्पणी गर्नु भयो। त्यही कारण मिल्न बाध्य भएँ।'

ओलीले आफ्नो अपमान नगरेको भए अहिले उनीसँगै मिलेर बस्‍ने दाहालले बताए। 'मलाई अपमान नगरेको भए म अहिले पनि उतै तिर टाँसिइरहेको हुन्थेँ कि!', उनले थपे, 'ओली कमरेडले मेरो अपमान र दुर्व्यवहार मात्रै गर्नुभएन। सम्झौताको उलंघन र पटक पटक धोकाधडी भयो। उहाँले त्यस्तो मलाई मात्रै गरेको होइन, अरुले पनि अपमान सहनु भएको छ। त्यहीकारण आज पार्टी बिग्रने अवस्थामा पुग्यो।'

पार्टी र आन्दोलन जोगाउने हेतुले अहिले आफूसहित वरिष्ठ नेता माधवकुमार नेपाल एकै ठाउँमा उभिन बाध्य हुनुपरेको उनको टिप्पणी थियो। 'पार्टीलाई बिग्रन र फुट्नबाट जोगाउन तपाईंहरु (जिल्ला अध्यक्ष र सचिव) ले साथ दिनुस्', प्रचण्डको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, 'पार्टीलाई जोगाउन ग्राउन्डमा तयार भएर बस्‍नुस्। हामी कुनै हालतमा पार्टी फुट्न दिँदैनौँ। तर यसो भनिरहँदा निरंकुशतावादी शैली पनि सहेर बस्‍न सकिँदैन।'

उनले ओलीविरुद्ध आफूहरुका अडान यथावत रहेको बताउँदै यो लडाइँ पदको लागि नभएको पनि दोहोर्‍याएका थिए। 'अहिले पनि मूल कुरा हाम्रा सबै अडान यथावत छन्', उनले भने, 'यो संकटपूर्ण परिस्थिति निर्माण गर्न केपी ओली नै जिम्मेवार हुनुहन्छ। ओलीले अपमान नगरेको भए म ओलीजीसँगै मिलेर काम गरिरहेको हुन्थेँ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.