|

एजेन्सी : अफगानस्तानको राजधानी काबुलस्थित सैनिक अस्पतालमा बन्दुकधारीले गोली चलाउँदा ३० जनाको मृत्यु भएको छ। अस्पतालको प्रवेशद्वारमा आत्मघाती हमला गरिएको र केही बन्दुकधारीले अस्पताभित्र प्रवेश गरेर अस्पतालका कर्मचारी तथा बिरामीलाई गोली हानेको अफगान रक्षा मन्त्रालयलाई उद्र्त गर्दै बीबीसीले लेखेको छ।

स्थानीय समयअनुसार बुधबार बिहान ९ बजे सरदार दाउद अस्पतालमा हमला भएको थियो। अस्पतालमा हमला गर्ने ४ बन्दुधकधारीलाई अफगान कमान्डोले मारेपछि दोहोरो गोली हानाहान अन्त्य भएको थियो। प्रत्यक्षदर्शीहरुका अनुसार बन्दुकधारीहरु डाक्टरको भेषमा अस्पताल प्रवेश गरेका थिए।

अफगान अधिकारीहरुले सबै बिरामीलाई अस्पतालबाट अन्तै सारिएको बताएका छन्। अस्पतालमा भएको आत्मघाति हमलाको जिम्मेवारी आतंककारी संगठन स्लामिक स्टेटले लिएको छ। तालिबानले घटनामा आफ्नो संलग्नता नरहेको बताएको छ।

'सेतो कोट लगाएको बन्दुकधारीले म माथि गोली चलाएको थियो, म भर्‍याङबाट तल झरे। त्यतिबेला नै उसले अर्का डाक्टरमाथि गोली चलायो,' हमलाबाट बाँचेका डाक्टर अब्दुल कादिरले बीबीसीलाई भनेका छन्।

अफगान राष्ट्रपति असरफ घानीले अस्पतालमा भएको हमला मानविय मुल्य-मान्यता विपरित रहेको बताएका छन्। 'सबै धर्ममा अस्पताललाई सुरक्षित मानिन्छ। अस्पतालमा गरिएको हमला पुरै अफगानस्तानमा गरिएको हमला हो,' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.