आधा दशक बितिसक्दा पनि घोषणामै सीमित
आधा दशक बितिसक्दा पनि घोषणामै सीमित
काठमाडौं : एक वर्षअघि काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले साइकल चढेर लेन तोकेको घोषणा गरे। माइतीघरदेखि तीनकुनेसम्म त्यसअघि नै तोकिसकेको साइकल लेनलाई मङसिर २८ गते पुनः महानगरले लेन तोकेको भन्दै प्रचार गराएको थियो।
खासमा उक्त साइकल लेन ६ वर्ष अगाडि नै बनाइएको थियो। तर न सञ्चालनमा ल्यायो, न यसबीचमा आवश्यक पूर्वाधार थप्यो। छिमेकी ललितपुर महानगरपालिकाको थापाथली पुल कट्नासाथ साइकलयात्रीहरू साइकल लेनमै सरर यात्रा गर्न पाउँछन्।
त्यही पुल कटेर काठमाडौंतर्फ आउनासाथ साइकल लेन बेपत्ता हुन्छ। गाडीहरूको ठेलमठेल र बेलगाम गतिबीच साइकल यात्रीलाई ज्यान जोगाउनै मुस्किल पर्छ।
महानगरको मेयर पद जित्न चुनावी प्रचार गर्दैगर्दा विद्यासुन्दर शाक्यले प्रतिबद्धताका निकै लामो सूची सार्वजनिक गरेका थिए। चुनावी घोषणापत्रमा लेखिएका यस्ता प्रतिबद्धतामध्ये काठमाडौंलाई साइकल सिटी बनाउने पनि एक थियो।
शाक्यले चुनाव जिते, तर काठमाडौंका सडकमा डेडिकेटेड लेन र सडक सुरक्षा नमिलाउँदा साइकल यात्रीहरूको ज्यान गइरहेको छ, घाइते भइरहेका छन्। काठमाडौं महानगरका सडकमा साइकल लिएर निस्कनुअघि ज्यानको बाजी लगाउनुपर्छ।
लेन नबन्दै बजेट बढ्यो
गत वर्षको मंसिरताका काठमाडौं महानगरपालिकाले आफ्ना कामबारे खासै प्रचार-प्रसार गर्न भ्याएको थिएन। दशैंतिहार लगत्तै मिडियाहरू पुन: चाडपर्वअघिकै लयमा फर्कन प्रभावकारी समाचारहरूको खोजीमा थिए। यस्तो बेला उसै पनि आलोचित महानगरको पक्षपोषण हुनेगरी समाचारहरू आउने सम्भावना थिएन।
नियमित कामलाई पनि निकै ठूलो उपलब्धि हासिल गरेझैं प्रचार गर्ने गरेको महानगरलाई मिडियामा कभरेज चाहिएको थियो। महानगर दिवस पनि त्यसैबेला परेको थियो। नयाँ काम भएको छैन, के देखाउने त ?
महानगरले सडकको दायाँबायाँ रहेको लेन ७.६ इन्च फराकिलो हुनेगरी २ करोड ६० लाख बजेट रुपैयाँ विनियोजन गरेको थियो। काम नै नभई महानगरको बजेट एकाएक बढेको छ। यो खण्डमा लेन बनाउन पाँच करोड लागत लाग्ने महानगरले जनाएको छ।
आधा दशकमा पनि बनेन
महानगरपालिका प्रमुख शाक्य आफैं उपस्थित भएर तोकेको साइकल लेन निर्माण हुन सकेको छैन। लेन निर्माण भइसकेको भए यतिखेर लेनमा साइकल यात्रीहरू निर्धक्क यात्रा गरिरहेका हुन्थे।
अनेक लोकप्रिय योजना सुनाउने, तर कार्यान्वयनमा ढिलासुस्ती गर्दै जाँदा काठमाडौं महानगरलाई साइकल सिटी बनाउने योजना अलपत्र पर्दैछ। २५ औं महानगर दिवसको अवसरमा साइकल सिटी घोषणा गरेको महानगरले २६ औं दिवस मनाइसक्दा पनि पनि साइकल लेन निर्माण गर्न सकेको छैन।
साइकल लेन बनेको भए यतिखेर उपत्यकामा सार्वजनिक यातायात गुड्ने सडकको बीचबाट जोखिम मोलेर साइकल हाँक्नुपर्ने थिएन। अहिले पनि लेनमा नभई सडकको छेउतिर मुस्किलले साइकल चलाइरहेका यात्रीहरू देखिन्छन्।
'डिजाइन गर्नै समय लाग्यो'
लेन घोषणा गरे पनि सर्भे र डिटेल डिजाइन गर्न समय बढी लागेको महानगरले बताइरहेको छ।
समन्वय नगरी निर्माण प्रकृया बढाउँदा सडक विभागले अनुमति नदिएको महानगरपालिकाका अधिकारीहरू बताउँछन्। तर, महानगर आफैं स्थानीय सरकार हो। आफ्नो क्षेत्रमा भएको अधिकार प्रयोग गर्न नसक्दा पनि निर्माण प्रकृयामा ढिलाइ भएको सहजै थाहा लाग्छ।
काठमाडौं महानगरपालिकाका अधिकारीहरूको कुरा पत्याउने र सडक विभागलाई दोष दिने हो भने ललितपुरमा पनि यतिखेर डेडिकेटेड साइकल बन्न असम्भव थियो। तर, ललितपुरका मुख्य सडकमा अहिले साइकल यात्री ढुक्कसँग यात्रा गर्न पाएका छन्। साइकल लेन नै मिच्नेगरी गाडी र मोटरसाइकल पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा भने थोरै समस्या देखिन्छ।
सडक विभागको बाधा
महानगरपालिकाभित्र साइकल लेन बनाउने घोषणा गरे पनि तत्कालै अघि बढाउन नसकिएको शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत बताउँछन्। प्राविधिक रुपमा केही ढिलाइ भएकोले काम गर्न नसकेको उनले जानकारी दिए।
'साइकल लेन निर्माण गर्न सडक विभागको अनुमति लिनुपर्ने भएको छ। विभागले अहिलेसम्म मौखिक रुपमा सहमति दिएको छ,' उनले भने, 'एक-दुई दिनमा लिखित सहमति गर्नेछौं। राजश्वसहित ५ करोड रुपैयाँ लागतमा लेन निर्माण हुन्छ।'
नयाँ डिजाइनमा बन्ने साइकल लेनमा साइकल स्टेन पार्क बनाउन लागेको बस्नेतले बताए पारे। नयाँ ढंगले लेनको निर्माण गर्ने हुँदा पनि यसमा केही ढिलाइ भएको उनी तर्क गर्छन्।
पहिलेको डिजाइन अनुसार निर्माण नहुने हुँदा पनि केही ढिलाई भएको बस्नेतले स्वीकारे। डिजाइन भइसकेको लेनलाई नक्सामा परिवर्तन गर्नुपर्ने भएकोले पनि केही समस्या भएको उनी बताउँछन्।
कोरोना त्रासले साइकल लेनको डिजाइनमा प्रभाव परेको उनले बताए। उनका अनुसार लकडाउनको कारण कर्मचारी अभाव हुँदा पनि काम गर्न अघि बढेन।
'साइकल लेन डिजाइन भएको छैन'
महानगरकै पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाका अनुसार अहिलेसम्म साइकल लेनको डिजाइन तयार भएको छैन।
उनले भने, 'डिजाइन बनेको भए विभागमा आइसक्थ्यो, डिजाइन नै नबनेकोले यस कामका लागि बोलपत्र प्रकृया समेत थाल्न सकिएको छैन।'
सडक विभाग, नेपाल टेलिकम र विद्युत प्राधिकरणसँगको समन्वयमा काम गर्नुपर्ने भएकोले केही ढिलाइ भएको उनले बताए। सडक विभागले पनि निर्माण प्रकृयामा अनुमति दिन नसक्दा पनि काम बढन नसकेको उनको दाबी छ।
'डिजाइन तयार भए एक महिनाभित्रै टेन्डर प्रकृयामा जानेछ,' थापाले भने, 'सबै निकायसँग समन्वय काम अगाडि बढेमा साइकल लेन निर्माण गर्न सकिन्छ। तर, समन्वय भएन भने तत्कालै सम्भव छैन।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।