'यी सामान लोग्ने बोक्छन्। हाम्लाई क्यै नाइँ!'
ताल्चा विमानस्थलमा भारी बोक्न नपाएकोमा आइमाईहरू रिसाए। केटाहरू भारी बोकेर लम्केका थिए लुइँलुइँ।
केटाहरूलाई 'लोग्ने' भनेका थिए ती भरिया आइमाईले।
हामीसँग अरू तीन केटा थपिए- रमेश रोकाया, हेमराज रोकाया र धर्मराज रोकाया। दक्षिणपट्टिको धुलाम्मे बाटो नाघेर पश्चिमी तेर्पेतिर हामी लाग्यौँ।
'कर्णालीको विकट भनेको यै होला!'
खिटिक-खिटिक फोटो खिच्ने रोमनाथ ज्ञवाली मेरा अघिपछि भइरहेका छन्। झन् अघिदेखि नै लापत्तिएका प्रेमबहादुर गुरुङ त लामो क्यामेरा बोकेर म भन्दा धेरै पछाडि नै छन्।
मैले नेपालगञ्जमै भएभरका लुगा ठूलो धोक्रामा पठाएकोले झोला सजिलो छ पछाडि। उही ज्यान मात्र लस्काउन सक्नुपर्यो।
निकै तल आएपछि बाटो पश्चिमतिर पसारियो। मास्तिर घना वन पातलिँदै थियो। दक्षिणतिर अनौठा पहाड र चेपमा कुदेको देखिरहेको छु बाटो।
दीपकबहादुर बुढा हाम्रा अगुवा छन्, यो घुमघाममा। सबैले मानेका छौँ, उनको अह्राइसिकाइ।
'याँ आएका बड्डा गल्न लागे। घोडा पठाऊ चाँडो-चाँडो!'
उनी मोबाइल थिचिरहेका छन्।
तर राम्रो खबर उता नपुगेको कि उनले बताउन नसकेका- त्यै कुरा घरिघरि हामी सुनिरहेका छौँ।
घाम र चिसो हावाले पिरती गाँसेको गाँसेकै छ। त्यसको मार पर्यो हामीलाई। पानी नपरेर छारो उडेको छ बेपत्तैले।
बाटाभरि डाले चुकका बोट थिए। चुत्रोका काँडे पोथ्रा थिए बाटैभरि।
रारा राष्ट्रिय निकुञ्जको साँध भएर गइरहेका छौँ हामी। छानी-छानी रूख लडाएको देखेर मन विरक्तियो, हुनसम्म। वनभरि रूखका फेदमा बन्चरो चलाएको हामीले पनि सुन्यौँ।
ज्ञवाली त बेला-बेला 'को हो रूख काट्ने?' भन्दै पनि हिँडिरहेका हुन्थे। उनी त निक्कै खिन्न लाग्थे वन फँडानी देख्दा।
'यै तालले हो भने राराको मूल सुकिहाल्छ नि!', मैले उनको चिन्तालाई सघाएँ।
दक्षिणतिर झ्यारी गाउँ रहेछ। झुरुप्प घरैघर। माटोले छानो छाइएका घरहरूमा अगाडिपट्टि ठूला भर्याङ तेर्सिएका थिए। त्यै एउटा खाँबो जस्तोमा सिँडी थियो। पाइला मात्र अडिने खुड्किलो।
गरैगरा थिए दक्षिण-पश्चिमतिर।
'चार महिना भो पानी नपर्या। खडेरीले हाम्लाई भोकमरी थप पर्न्या भो', बाटामा धनरूपा बूढाले भनिन्।
रिग्मु धारामा चियापानी खाइयो। चाउचाउ उमालेर खान लाग्दा मुमा गाउँबाट आएका तन्नेरीले कोखिलाबाट तीन-चार ठूला-ठूला रोट्टा झिकेर तेर्स्याए- 'बड्डा, खाऊ!'
खाइयो, मज्जैले खाइयो।
डढेलो लगाएका डाँडाहरू जतासुकै देखिन्थे। हावा हुइँकिएर धुवाँको मुस्लो जतासुकै फैलेको देखिन्थ्यो। रूखा पहाड हेरेर मनभित्र खिन्नको बादल छोडेन गर्जिन।
साथी भयो तेर्पे बाटो।
अनौठा रूख, बिरुवा र पोथ्रासँग चिनाजानी भइरहेको थियो। भन्नलाई तीन घण्टामा रारा किनारमा पुगिन्छ भने पनि बाटो हेर्दा त्यो छाँट त्यति चाँडै आइपुग्ला जस्तो लागिरहेको थिएन मलाई।
खुट्टाका दुवै कान्छी औँला च्यापिएर थला परेका ज्ञवाली मुस्किलले लस्किरहेका थिए। मेरो ज्यान घरि गर्मीले बाफिन्थ्यो, घरि चिसोले शीताङ्गे। लाउने र खोल्ने रफ्तारमा थिएँ म।
लेकाली चराका बथान भुर्रुर-भुर्रुर वेग हान्थे अकाशमा। पहाडको छाया नाघेर अर्को छाया झन् पर पुग्थ्यो। पहाडपछि पहाड। भीरपछि भीर। खोँचपछि खोँच। आँखाले देखिरहेका थिए। काला र खरिखुन्ने चुचुरामा कताकति हिउँको छरछार पारिएको भेट्थे आँखाले।
'ए, काँ पो पुगेँ म त!'
मनले चिच्याए पनि किलकिले बाहिर आउन दिइनँ।
बाटो निकै तेर्सो छ। घरिघरि उकालो छ, दम्साइलो। उत्तरतिर निकुञ्जको वन। दक्षिणतिर नि बस्ती, खेत र मान्छेको चहलपहल देखापर्छ हलुका।
कुइनेटोबाट उकालो लाग्दा अँगालाभरिका रूख सोत्र्याम्म-सोत्र्याम्म लडाएका देखिए- पाखैभरि।
'यै तालले वन रित्तिन के बेर?', ज्ञवालीको चिन्तामा गुरुङ पनि थपिए।
हामी लडेका र आगो लगाइएका रूख नाघ्दै मास्तिरको पाखोमा आइपुग्यौँ।
लौ हाम्रा झिटिगुन्टा त बाटामा पो!
'अघि गएका केटा काँ गए?', मैले सोधेँ अत्तालिएर।
'यसो एक चरन देउडा खेलूम् भनेर तन्नेरी गा' हुन्', बुढाले बताए।
मैले आँखा च्यातेर हेरेँ- दुई, तीन तरुनी गाई धपाउँदै तल चौरमा आइरहेका देखिए।
सल्लीपिरको उकालो नाघेर तल देखियो टार। त्यहाँ धुवाँ पुत्ताइरहेको देखियो। चार, पाँच केटाकेटी खेलिरहेका थिए। त्यहीँबाट पारि चङ्खेलीको लेक पनि देखियो।
पुरानो एक रुपियाँको नोटमा राखिएको रहेछ- चङ्खेलीको तस्वीर। वनैवन र देखिने अरू डाँडाले नयाँ छाप पार्न थाले मनमा।
तीन घण्टा नाघेछ- हिँडेको बाटो।
'घोडा आएनन्। बड्डालाई गाह्रो भो है!', आदर गरिरहेका छन् बुढा।
तै चौर आयो। हिँड्नलाई सजिलो भयो निकै नै। घोडा, बाख्रा चरिरहेका चौर देख्ता मनभरि खुसी छायो।
सबै सुकेर पहेँलै भएको छ। त्यही सुख्खा घाँस पनि जरै लाएर खाइरहेका थिए- घोडा, बाख्रा र भेडाका बथान।
'बर्खामा यहाँ फूल देख्न पाइन्छन्, हजारौँ रङका। यहाँ नफुल्ने फूल दुनियाँमा कहीँ पनि हुँदैनन्', दीपक बोलिरहेछन् उज्यालो अनुहारमा।
म जाडोले काट्ठिएको हातले आँखा पुच्छु, गाला छाम्छु र चस्मा पुच्छु। कानका लोती हत्केलाले तताउँछु। नाकेडाँडीमा कर्णालीको चिसोले लिपपोत गरिरहेकै छ, पटक-पटक।
'यहाँ किन विमानस्थल नबनाएको होला?'
यो प्रश्न ज्ञवाली, बुढा र नयाँघरेको एक साथ थियो।
सम्भवतः अघि जाने गुरुङको पनि थियो होला। उनी हामी भन्दा निकै अघि गइरसकेथे, लम्की-लम्की।
ताल्चा विमानस्थल त जबरजस्ती भीर सम्याएर बनेको लाग्थ्यो। यो छत्तीस सालमा बनाउन सुरु गरे पनि अहिलेसम्म पूर्ण रूपमा बनिसकेकै छैन। यहाँ बनेको भए तालको प्रचार र पर्यटकको धुइरो लाग्ने कुरामा विमति थिएन। फेरि कालोपत्रे मात्र गरिदिए- अरू टन्टै साफ!
तर किन हो- त्यो हुन पाएनछ।
'साथी हो, मलाई त चौरमै लडीबडी गर्न मन लाग्यो', मैले खुसी रोक्न नसकी भनेँ।
साथीहरू हाँसे।
हामीतिर आइरहेका थिए, भेडाका बथान र ठूला-ठूला भोटे कुकुरहरू। चिल्ला र सुकिला घोडाहरूको बगाल चौरको दक्षिणी र पश्चिमी कुनामा देखियो।
कुनै समय ताल यहाँसम्म थियो कि जस्तो लाग्थ्यो। अथवा माटो पहिरेर ताल यहीँबाट परतिर धकेलिएको हो कि भन्ने भान लाग्थ्यो।
अब घाम पनि हरायो।
घना वन झन् टुप्लुक्कियो, नजिकै। हरियो जङ्गल र गोधूलिको घामलाई बामपुड्क्याउने सुन्दरता लापत्ता थियो यस बेला। मन त पुगेछ रमाएर कहाँ... कहाँ...!
'अझै एक घण्टा लम्किनुपर्ला बड्डा।'
काठे पुलहरू धमाधम देखापरे। मास्तिरबाट रसाएर आएका कुलकुले सङ्ला मूलहरू सामु परे।
'हैन, यो वनमा कसले माटो खनेको? हलो जोते झैँ जसरी!', ज्ञवालीले सोधे।
'यो त बँदेलले खनेको नि!', दीपकले बताए।
ओहो, जताततै खेत खनेजस्तो देखियो। बँदेलले आफ्नो आहारा खोज्न दाह्रा धसेको रहेछ- वनैभरि।
अब त झन् खुट्टा लम्काउनुपर्यो। म त नजानिँदो गरी भित्र-भित्रै डराएँ, अत्तालिएँ। ओर्लिरहेको साँझमा घना जङ्गलले घेरिरहँदा ढुक्क कसरी पो हुनु!
खुट्टा र ढुकढुकी एकै साथ चले।
'बेलैमा जङ्गल काट्नुपर्ला', बुढाले चिमोट्न छोडेका छैनन्।
निकै लम्केपछि देखियो- नीलो रारा।
ओहो, अद्भूत रारा!
डुब्दो घाममा राराको ढलपल-ढलपल। लहरले नुहाएर बसिरहेको रारा। किरमिरे छालको वारिपारि पौडिरहेका पहाडै पहाडको तस्वीर। किनार पुगेर फर्किरहेका लयालु लहरहरू।
पहाडका तरेलीले घेरिएको छ रारा। हरियो वनले यो रारा सुरक्षित छ।
हाँसका बथान डुबुल्किएर आलोकित थिए। पहाडका उत्ताल छाया राराको लहरमा उत्रिन्छन्, डुब्छन्।
मैले राराको पानीले अनुहार धोएर भनेँ- 'अर्को कुन सौन्दर्य होला!'
म निकै बेर हराएँ। मेरो मन समाहित भयो- राराको गहिराइमा।
मेरा आँखाले राराको रङलाई पढ्न खोजिरहे... खोजिरहे।
हामीले निकै बेर राराको कञ्चन पानीलाई निहाल्यौँ। पानीको अटल गहिराइलाई नापिरह्यौँ... नापिरह्यौँ...। पानीमा मिसिएको लहरलाई पछ्याइरह्यौँ... पछ्याइरह्यौँ...।
पर... परसम्म पौडिरहेका हाँसका बथानले अकाश ढाकेर उड्ने र फेरि ताल ढाक्ने गरिरहेका थिए। एकदम चकमन्न संसार। पानीले हरेक कुरालाई कोमल बनाएको छ। हरेक तरलतामा झन्-झन् तरल बन्छ।
'के संसारबाट बिटुलिन यति टाढा आएर बसेको?'
तालसँग बिदा हुने बेलामा मेरा ओठ बोले।
कुदिरहेका छौँ हामी। भालुको डर छ, बँदेलको डर छ, बाघको डर छ। साँझले बेरिएका पहाड र वनमा अर्कै रूप देखापर्न थाले।
तालको उत्तरपट्टि सेनाको क्याम्प देखियो। अरू केही सरकारी अड्डा पनि आँखासामु परे। उत्तरी किनार भएर बाटो गएको पनि देखियो प्रष्टसँग।
'भोलिका दिनमा हेरुँला बड्डा। छिटो जङ्गल कटौँ', दीपकले हतारो देखाए।
म पनि अत्तालिएको थिएँ।
औँलाको पीडाले रन्थनिएका ज्ञवाली हामीले 'छिटो कि छिटो' भनिरहँदा उनी झनै रिस र पीडाले पिल्सिएका हुँदा हुन्।
दक्षिणपट्टकिो किनार भएर हामी हिँडिरह्यौँ- सास फुलाई-फुलाई।
सल्लीपिरले बाटो रोके पनि हामी लम्किहाल्थ्यौँ। खुट्टा खस्थे स्वात्त-स्वात्त।
निकै अघि छुट्टिएका साथीहरू हामीलाई कुरेर बसेका रहेछन् बाटोमा। उनीहरू भेटेपछि मनमा आश उम्रियो।
पश्चिमी पाटोमा तालको पानी निस्कँदोरहेछ। यसलाई गाउँलेहरू 'निजार' भन्दा रहेछन्।
त्यही कुलकुलाएको खोलाको साथी भएर हामी फेरि लाग्यौँ, पश्चिमतिरै।
ताल, वन र खोलोसँगै मान्छेको खलबल।
अघिको स्वाँ-स्वाँ केही कम भयो। जाडो र चिसोले भुलभुल आँसु उमार्यो आँखामा।
कठै, मेरो कोट! आफैँले डाउन ज्याकेट खोज्यो!
झमक्क गाढा अँधेरी साँझ। मान्छे कोही पनि नचिनिने भएपछि हामी माझघट्ट पुग्यौँ। तीनचार घर थिए, त्यहाँ। हाम्रो बसोबास यहीँ हो कि भनेको- फेरि साथीहरूले अँध्यारोमा कराए- 'बड्डाहरूलाई उता राख्ने, उता!'
बिसाइएका झोला फेरि काँधमा बोकेर पश्चिमतिर लाग्यौँ। जीउले जिस्काएको ठानेर गुत्थ पर्यो।
ओह्रालो झरेर उक्लेलगत्तै फराकिलो आँगनमा पुग्यौँ।
घरमूली रहेछन्- नन्दसिंह रोकाय।
अब हाम्रो एक साता यै घरमा किलो गाडिने भो।
०००
६ मंसिर, २०७२।
राति बडेमानको स्लिपिङ ब्यागभित्र पसेथेँ। म ब्यूँझँदा त बाघ गर्जेजस्तो लाग्दैथ्यो।
पल्लो खाटमा ज्ञवाली र झन् पल्लोमा दीपक थिए। मसँगै जोडिएको दक्षिणतिरको कोठामा गुरुङ थिए।
बिहान पाँच बजे सबैको घुराइ 'रिले रेस' मा गुन्जायमान थियो। सायद नब्यूँझिँदा त मै पनि त्यसको अर्को सदस्य थिएँ हुँला।
बाहिर आएर अकास हेरेँ। जून धेरै तल आएको थियो। जाडो राराको पानीमा मिसिएर आएकोले होला- धेरै बेर बाहिर बस्ने हालत थिएन। भयानक स्याँठले लाछलुछ पार्यो ज्यानलाई।
निकै उज्यालो भएपछि अँगेनोमा घुस्रियौँ।
घोडा मच्चा चिया खुबै खाइयो, थपी-थपी। पीरो-पीरो हुने एकखालको घाँस घोडाले खाँदोरहेछ। त्यसलाई चियाको रूपमा खाने गरिँदोरहेछ- घोडा मच्चा।
मेरो गिलासमा नन्दकी पत्नी कलाले थपेको थपेकै गरिन्- त्यो चिया।
हिउँ नपरेर सबै बुङबुङी धूलो थियो। ठाउँ-ठाउँमा ढुङ्गासमेत चोइटिएर खस्न थालेका छन् रे- तातो र गर्मीले। पानी नपरेर जौसमेत नउम्रेको बाटो हिँड्नेहरू बताइरहेथे।
पर्वतीय प्रशिक्षण प्रतिष्ठानको पर्यटन तालिममा सहभागी भएकोले समाज, मानिस र संस्कृति पढ्ने मेरो रहर छ। मौका मिल्यो कि कुरा गरिहाल्न मन गर्थें म।
गम, करान, सोरु र खत्याड गरी चार भेग रहेछन्, रारा वरिपरि। गम भेग अलिक सुगम, करान निकै सुख्खा क्षेत्र रहेछ। सोरु भेग पनि निकै उराठिलो मानिँदोरहेछ भने खत्याड भेग केही रसिलो रहेछ।
जतिखेरै दाउरा बालिने चुह्लोमा रसिलो पोसिलो पाक्ने कम देखेँ। झोल, पानी र दूधमोही लगभग शून्य नै थियो।
रोट्टा र बुगुल्टो खाना खाएका देखिन्थे सबैका घरतिर। हामीले हरेकजसो छाकमा मह र रोटी नै खायौँ।
सिमी खुबै फल्दोरहेछ यहाँ। अरूहरू सुख्खा खान्थे तर साथीहरूले झोल हालेको पकाउन जोडबल गरे। सुरूप्प-सुरूप्प खुबै खाइयो- खैरो र सेतो सिमीको रस।
एक साँझ त मकै र सिमी मिसाइएको कोल खाइयो। गरिबले मात्र खान्छन् रे कोल! तर यो त फाइदा हो भन्दा, अरूहरू खान रुचाउँदैनथे।
माझघट्ट भएर मानिसहरू ताल्चा र गमगढी जाँदारहेछन्। गौँडो रहेछ यो ठाउँ।
निकुञ्ज बनेपछि यो ताल छेवैका रारा र छाब्रु गाउँ २०३५ सालमा मधेसमा सारिएछ।
अहिले गावर, चिसापानी र रजानामा बस्ती सारिएकाहरू आफन्त भेट्न हरेक वर्ष जस्तो यता आउँछन् रे!
बाटोमा भेटिनेहरू आइमाईलाई सोध्दा भन्थे- 'तल्तिर गा'हुन्।'
हरेक लोग्ने मान्छेहरू कामका लागि नेपालगन्ज, सुर्खेत वा सीमापार जाँदारहेछन्। 'तल्तिर' भनेको ठाउँ त्यै रहेछ।
०००
म त फुर्सद मिल्यो कि रारा तालतिर गैहाल्थेँ। कहिले को, कहिले को साथी बनी पनि हाल्थे।
मैले साँझमा पनि हेरेँ ताललाई, बिहान पनि हेरेँ, मध्य दिउँसो पनि हेरेँ। रारा हरेक क्षणमा फरक लाग्थ्यो। हरेक समयको रारा भिन्न लाग्थ्यो र बेग्लै लाग्थ्यो। यो हरेक कोणबाट अप्रतीम लाग्थ्यो।
पश्चिमपट्टि राराको पानी जाने सानो खोल्सो थियो। त्यत्रो रहको पानी निकास हुने ठाउँ निकै सानो लाग्थ्यो।
पानी गएनिर यो ठाउँ निजार पुल रहेछ। त्यस वरपर लागुड, तेलाई, सिमापानी, बगई गाडा, मिलिचौर, भदाली, काकचुच्चा ठाउँका नाम थिए। यस्तै बताडिल, रारा महादेव, हुटु, सैन ओखरबोट, हिम तालछेउका ठाउँ रहेछन्।
राराका चारै कुनामा चुच्चेमारा, मुमाटप, मालिका र ठाकुरज्यू गरी चार किल्ला जस्ता भयानक अग्ला थुम्काहरू ठडिएका छन्। कुनै हरिया, कुनै कालै पल्टेका थिए, गजधुम्मे थुम्काहरू।
तालको उत्तरी किनारमा सेनाको टुकडी रहेछ। हामीलाई सहसेनानी ध्रुवकुमार विष्टले हार्दिकता देखाए। ताल छेवैमा लटरम्म फलेका स्याउ चखाए उनले।
करप्प टोक्दा महका पत्रे-पत्रे तह थिए, रसिला स्याउमा। जिब्रैमा झुन्डिए टोकेका स्याउदाना।
'बड्डा, ताल फन्को मार्ने मन गर्या हन्।'
विष्टलाई भनेछन् देवीकृष्ण रोकायाले।
अनि हामी ताललाई फन्को मार्न सकेका थियौँ। सेनाका जोसिला गोताखोरले निकै कुशल पारामा नाउ चलाए। हामी यस्तै आधी घण्टा जलविहारमा रमायौँ।
सङ्लो पानीमा डुङ्गा हेलाउनुको आनन्द नै बेग्लै।
दिउँसो हावा बेस्सरी चल्ने हुनाले बिहान मात्र यो औसर जुट्दोरहेछ। हामी बिहानै गएका कारणले 'चान्स' पाएका थियौँ- नौका चढ्ने।
तालका उत्तरतिर चङ्खेली र बेउलाबेउली हिमालको सुन्दरता झनै मोहक थियो।
सेता हिमालमा अनेक लस्करले मनमा उज्यालो ओर्लिन्थ्यो, हर्ष चम्किन्थ्यो र खुसी खित्काउँथ्यो। जीवन लाग्थ्यो जीवन जस्तो। नसा-नसामा एउटा उल्लासको झरी पर्थ्यो, झमझमी।
तालको कथा सुनाए देवीकृष्णले।
'उहिल्यै एउटा जोगी गाउँमा आएछन्। पानी खान माग्दा एउटी बूढीले भनिछन्, यहाँ साह्रै दुःख छ पानीको। अनि जोगीले आफ्नो त्रिशूल प्रहार गरेपछि पानीको मूल फुटी यो ताल बनेको रे!'
उनका कुरा सुनेँ।
सत्य के थियो थाहा छैन, तर राराको मूलबारे अहिलेसम्म कसैले पनि पत्तो पाउन सकेका रहेछन्। निकास भने पश्चिमी निजार रहेछ।
राराको पानी भुलभुलाएर किनार छोइरहेको देख्दा सबै वेदना गुमनाम हुन्छन्। राराको लहर ढलपल-ढलपल गर्दा जम्मै हैरानी लापत्ता हुन्छन्। राराको छालले चारै सुरमा चुम्बन गर्दा पूरै दिग्दारी बेपत्ता हुन्छन्।
राराका वरिपरि वन, बुट्यान देखिन्थे- औधी घना। औषधि र गुणकारी ती रूखपातले रारामा पानीको 'जल-भेला' पारिरहेको लाग्थ्यो। तालको लहरमा वरिपरिको हरियो ढलपल गर्थ्यो। उत्तरतिरबाट सोहोरिएको लहरले चिसो ल्याउँथ्यो। दक्षिणपट्टिबाट जरैदेखि बढारिएको छालले घोलघाल पार्थ्यो, त्यो चिसोलाई।
रारामा छ अद्भूत सुन्दरता, शालीनता र सौम्यता।
मन नअघाउने, आँखा नथाक्ने र चेतना नगल्ने। राराले दिने उपहार यै, कोसेली यै। खुट्टा ठाउँको ठाउँमै बसेर आँखाले पिएको पिएकै गर्छन्। अचल मनले राराको लहरमा पानीको सम्पूर्णता भेट्छन्, देख्छन् र अनुभूत गर्छन्।
रारालाई फन्को मारेदेखि पूरै एक दिन लाग्नेरहेछ। एक झमट त मन पनि गरेका थियौँ हामीले। तर घोडा परे बड्किहाल्ने अनि चम्किइहाल्ने घोडाबाट चढ्ने र उक्लिने साहस भएन हामीसँग।
'ठाउँ-ठाउँमा घोडा नि लोट्छन्। झर्नै पर्छ', वीरबहादुर कामीले भनेका थिए।
त्यै भएर रारा प्रदक्षिणा गर्ने साहस आएन हामीलाई।
ठाउँ-ठाउँमा बाटो बिग्रिएका, ढुङ्गा खसेका र रूखका जराले हिँड्नै पर्ने कुरा पनि सुनियो।
रारासँग दुइटा हिमालको गहिरो नाता देखेँ। सिस्ने र कान्जिरोवा हिमालको अग्लाइले रारासँग बात मारेजस्तो देखिन्थ्यो। उत्तरपट्टि टल्ल टल्केका यी दुवै हिमालले बोलेको भाषा र राराको लहरले निकालेको स्वरमा केही न केही नातो छ जस्तो मैले मानेँ।
सास साटेर बाँचेजस्तो, सपना बाँडेर बाँचेजस्तो- हिमाल र राराले।
उत्ताउला लहरहरूसँग हिमालबाट आएका हावाले पटक-पटक कानेखुसी गरेजस्तो लाग्यो अनि ती छालमा हाँसका बथानले डुबुल्की मार्दा फेरि उत्पातको चित्रले आँखामा ठाउँ पाउँथे।
रारा छेउमा चराको कति धेरै खलबल! पन्छी लीला देखेर अवाक् हुन्थेँ म त।
एक साँझ साथीहरूले ताल छेउमै देउडा घन्काए-
रातो कोद्या सुकाइराख्नु
बास आई चिनुँला
लाइराख्नु कम्पनी माला
रारा देइ चिनुँला।
केटाका जवाफ केटीहरूले यसरी दिएथे-
जार लाउँदा जरेनी लाउँदा
भोट्याका जन्तर
मेरो माया राखिदिया
कलेजी अन्तर।
रारासँग रङैरङको लुकामारी हुँदोरहेछ। राराले सबै खाले रङको घुम्टो ओढेको लाग्थ्यो मलाई। मैले हरेकसँग राराले अँगालो हालेको भेटेँ।
०००
माझघट्टमा बास थियो हाम्रो।
धेरैजसो गाउँलेहरू माथि मुमा गाउँतिर बस्दारहेछन्। खेतीपाती, चरन, खर्क र अन्नपात यतै थियो।
धामी, झाँक्री औधी मान्ने मुगुका गाउँमा छाउपडीको कहालीलाग्दो कथा रोकिएको थिएन। मैले तालिममा आएका हजारमती शाही, जानुकला रावल र कला रोकायाका मुखैबाट छाती भरिने कुरा सुनेँ।
ती सबैले आफूहरू 'छुइ' हुँदा गोठमा सुत्नुपरेको कथा सुनाए। तिनले सुत्केरी हुँदा गाई र भैँसीसँगै रात बिताउनुपरेको कथा बताए।
'हिउँ परेको बेलामा पिँडीसम्म हिउँ आउँथ्यो, तर म बाहिरै बसेर रात कटाएँ', दिलमाया शाहीले अतीत सुनाएकी थिइन्।
'भर्खर जन्मेको सालनालसहितको बच्चा लिएर गोबरलाई थिचथाच पारी त्यसमै मैले हप्तौँ बस्नुपरेको थियो', रावलको इतिहास सुनेँ।
'छुइ हुँदा पानी थाप्न जाँदा, मैले अर्को महिना घरभित्र पस्नै पाइनँ', देउरूपाको पीडा थियो।
राराको सङ्लो पानीमा तैरिएका आँसुहरू हुन् यी। सिस्ने हिमालको उज्यालोमा पोतिएका काला धब्बाहरू हुन् यी। कान्जिरोवाका हिउँचुलीमा पोतिएका घृणाका बोली हुन् यी।
०००
१० मंसिर, २०७२।
मनले नमान्दा-नमान्दै पनि हामी सबै रारा छेउमा पुग्यौँ। बिदाबारीको दिन भएकाले आँखामा अँध्यारो र मनमा खिन्नता आएकै थियो।
साता दिनसम्म एउटै खालको साँझ-बिहान मैले भोगेको थिएँ।
तालिम लिन सिमिकोट, कालिकोट, डोल्पा, जुम्लाबाट आएकाहरू घर पुग्न हतारिएका थिए। बादलको लम्कीझम्की हेर्दा हिउँ ओर्लिन आँटे-आँटेजस्तो लाग्थ्यो। त्यै भएर सबै आत्तिएका होलान्।
दिउँसो भएपछि हामी लाग्यौँ- गोठीजिउलातिर।
तीन घोडामा हाम्रा झोला र खाजासामल कसिए टनटनी। दीपक, रोमनाथसँग मेरा गोडा फटाफट लम्किए।
छातीमा थियो- राराको सङ्लो तस्वीर!
०००
तपाईंको ईमेल गोप्य राखिनेछ ।