गुरुकुलदेखि रिसर्च सेन्टरसम्म

|

काठमाडौं : पूर्व पश्चिम राजमार्गमा चितवनको नारायणी पुलबाट बुटबलतर्फ २३ किलोमिटर यात्रा गरेपछि नवलपरासीको दुम्कौली पुगिन्छ। देवचुली नगरपालिका २ दुम्कौलीमा राजमार्गको दायाँतर्फ देखिने ठूलो होडिङ बोर्डले चौधरी ग्रुपको औद्योगिक क्षेत्रको चिनारी गराउँछ। होडिङ बोर्डबाट ५० मिटर अघि बढ्दा तपाईले एउटा मनमोहक मन्दिर देख्नुहुन्छ।

जुन मन्दिर हालै निर्माण सकिएको शास्वतधामभित्र रहेको छ। यो धाम फागुन २४ गतेदेखि सर्वसाधारणको लागि खुला भएको छ। सीजी इन्ड्रस्ट्रियल पार्क परिसरमै रहेकाले यो भनिरहनु पर्दैन कि शास्वत धामको निर्माण नेपालका डलर अर्बपति विनोद चौधरीले बनाएका हुन्। करिब सात विघा क्षेत्रफलमा फैलिएको यस धामको मध्यभागमा खजुरावान शैलीमा बनेको बुट्टेदार एकम्बरेश्वर शिव मन्दिर रहेको छ। मन्दिर चारैतिरबाट तालले घेरिएको छ। बद्री, केदार, हरिद्वार, मुक्तिनाथ र पशुपतिनाथ जस्ता प्रसिद्ध धार्मिक तीर्थस्थलबाट ल्याइएको जल मिसाएर बनाइएको यो ताललाई सर्वतीर्थ सरोबर ताल नाम दिइएको छ।  

शास्वत धाममा मन्दिरसँगै गुरुकुल विद्याश्रम, अखण्ड अग्निकुण्ड, शक्तिघाट, धर्मशाला, यज्ञकुण्ड, हनुमान मन्दिर, धार्मिक प्रदर्शनी, धार्मिक संग्रहालय, डिजिटल धार्मिक पुस्तकालय, हेरिटेज बिल्डिङ हल, गौशाला, अर्गानिक फार्म समेत छ। यहाँ ४५ जनाका लागि आवासीय सुविधासहित योग तथा ध्यान केन्द्र, शाकाहारी अर्गानिक भोजनालय, विश्रामस्थल छ।

शाश्वतधामको अर्को विशेषताको रुपमा अत्याधुनिक अडियो भिडियो केन्द्र रहेको छ। केन्द्रमा धार्मिक पर्यटक तथा आगन्तुकहरुले नेपाल र भारतमा रहेका पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्वारी, गोसाइँकुण्ड, बद्री, केदार, हरिद्वार जस्ता प्रमुख धार्मिक स्थलका पछिल्ला गतिविधि ठूलो पर्दामा हेर्न सक्नेछन्।

त्यसै गरी ओझेलमा परेका नेपालका विभिन्न धार्मिक तीर्थस्थलहरुको पनि प्रचारप्रसार गर्ने व्यवस्था यहाँबाट मिलाइएको छ। शाश्वतधामभित्र धार्मिक सूचना केन्द्र छ जसबाट देशभरका प्रमुख धार्मिक तीर्थस्थल, मठमन्दिर, शक्तिपीठ तथा वैदिक सनातन धर्मसम्बन्धी जानकारी पाइन्छ। 

धाममा वर, पीपल, अशोकालगायत १२ राशी २७ नक्षत्रको प्रतिनिधित्व हुने गरी विभिन्न रुख विरुवाहरु लगाइएका छन्। धामलाई आकर्षक बनाउनको लागि मन्दिर वरीपरी मनमोहक पानीको फोहरा (वाटर फाउन्टेन) समेत निर्माण गरिएको छ।  करीब ३ सय जना क्षमता भएको अन्नपूर्ण भोजनालय छ। यहाँ भक्तजनहरुले न्युनतम शुल्कमा सात्विक खाजा तथा भोजन गर्न सक्छन्।

विभिन्न चाडपर्व तथा अन्य मौसममा आउने भक्तजनहरु धेरै रहेका बेला मन्दिर बाहिरबाटै आरती गर्न सक्ने व्यवस्था मिलाइएको छ। यहाँ एक ‘मनोकांक्षा पुरा गर्ने भित्तो’ रहेको छ, जहाँ आगन्तुकहरुले आफूले चिताएको कुरा पुग्ने प्रार्थनासहित डोरा बाँध्न पाउनेछन्।

यो मन्दिर फागुन २४ गतेदेखि सर्वसाधारणको लागि खुला गरिएको छ। शाश्वतधाम विश्वभरका सनातन धर्म मान्नेहरुको साझा तीर्थस्थल बन्नुका साथै धार्मिक पर्यटकीय स्थलको रुपमा स्थापित हुने चौधरी ग्रुपको विश्वास छ।

यसरी निर्माण भयो विशाल धाम

निर्माणकर्ता विनोद चौधरीका अनुसार यो धामको परिकल्पना भने सन् १९९८ बाट सुरु भएको थियो। उनलाई धाम बनाउने प्रेरणा भारतीय धर्म गुरु शंकाराचार्यले दिएका थिए। 'आज भन्दा १९ वर्ष अघि गुरु शंकाराचार्य नेपालको पशुपतिनाथ दर्शक गर्न आउनु भएको थियो, त्यही समयममा मेरो उहाँसंग भेट भयो र धाम बनाउन प्रेरणा दिनुभयो' चौधरीले भने 'उहाँले नेपाल हिन्दुहरुको आस्थाको केन्द्र हो तर यहाँ मन्दिरका पूजारी समेत पाउन सकिदैन त्यसैले पुजारी उत्पादन गर्नको लागि विद्या श्रम तथा योगपीठ खोल भन्नुभयो, अनि म अघि बढे।' 

शंकराचार्यको प्रेरणा अनुसार चौधरी ग्रुपको सामाजिक एवं मानवीय कल्याणकारी निकाय चौधरी फाउण्डेसनले सन् २००३ देखि यो धाम निर्माण सुरु गरेको हो। धामको शिलान्यास पनि उनै शंकराचार्यले गरेका थिए। सुरुमा चौधरीले एउटा मन्दिर र संस्कृत कर्मकाण्ड अध्ययन गर्ने विद्याश्रम खोल्ने योजना बनाएका थिए। अहिले पनि यस धाममा १३ जनाले चौधरी ग्रुपकै खर्चमा संस्कृत कर्मकाण्ड पढिरहेका छन्। 

तर पछि यसले विशाल धामको स्वरुप लियो। 'सुरुमा एउटा मन्दिर मात्रै निर्माण गरौ भन्ने सोच चौधरी ग्रुपको हो, तर बनाउदै जाँदा विशाल धाम नै निर्माण गरौं भन्ने कुरा आयो र त्यतैतिर लागियो' चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन तथा पब्लिक रिलेसन महाप्रबन्धक मधुसुधन पौडेलले भने।

यो धाम चौधरीले भारतीय धर्म गुरु शंकाराचार्य र  रविशंकरको परामर्शमा निर्माण गरेका हुन्। चौधरीले यो धाम सनातन धर्म अध्ययनको साझा थलो हुने अपेक्षा गरेका छन्।  बुधबार धामको उद्घाटन कार्यक्रममा चौधरीले भने  'सनातन धर्मको लागि आवश्‍यक सबै विषय र कुरा जानकारी गराउने साझा थलो शाश्‍वत धाम बनाउने गरी हामीले निर्माण गरेका छौं।' 

धाम निर्माणमा १४ वर्ष र अर्बको लगानी

धाम निर्माणमा लागेको यकिन खर्च अझै निकाल्न बाँकी रहेको र निर्माण पनि नसकिएको चौधरी ग्रुपका एक अधिकारीले बताए। तथापी अहिलेसम्म एक अर्ब भन्दा बढीको खर्च लागेको उनीहरुको दाबी छ। 'अहिलेसम्म कति खर्च लाग्यो हामीले खर्च हिसाब भर्खर गर्न थालेका छौं, तर ठूलो खर्च यसमा लगाएका छौं, एक अर्ब भन्दा धेरै लगानी भएको हाम्रो अनुमान रहेको छ' चौधरी ग्रुपका एक अधिकारीले भने। उनले अझै केही क्षेत्रमा खर्च गर्न बाँकी रहेको समेत बताएका छन्।

मन्दिर शिलान्यास गरिएको १४ वर्षपछि गत मंगलबार राष्ट्रपति विद्या भण्डारीबाट मन्दिरको उद्‍घाटन र पूर्व राजा ज्ञानेन्द्र शाहबाट मन्दिरमा पूजाआजा सुरु गरिएको छ। उद्घाटन समारोहमा आर्ट अफ लिभिङ फाउण्डेसनका संस्थापक रविशंकर, काञ्ची कामाकोठी पीठका शंकराचार्य जयेन्द्र सरस्वती र प्रमुख धार्मिक गुरुहरु सहभागी भएका थिए। त्यस्तै उद्‍घाटन समारोहमा विभिन्न देशबाट विशिष्ट व्यक्ति धर्म गुरु तथा योग गुरुका साथै सर्वसाधारण गरी ३० हजार भन्दा बढी व्यक्ति उपस्थित भएका थिए। 

आकर्षक रिसर्च सेन्टर

यो धामको मूख्य आकर्षको रुपमा धर्म रिसर्च सेन्टर रहेको छ। हिन्दु सनातम धर्म सम्बन्धी अध्ययनका लागि सबै सामग्री उपलब्ध हुने गरी रिसर्च सेन्टर बनाउन लागिएको पौडेलले बताए। यसका लागि अहिले विभिन्न योग पीठ तथा संग्रहालयहरुबाट अभिलेख संकलन कार्य सुरु गरिएको छ।

केशर पुस्ताकालय, पशुपति विकास कोष, जनकपुर विकास कोष, लुम्बिनी विकास कोष, भारतका विभिन्न योगपीठका साथै पाकिस्तान, श्रीलङ्का र बंगलादेशबाट अभिलेख खोज्ने कार्य आरम्भ गरिएको चौधरी ग्रुपका महाप्रबन्धक पौडेलले बताए। 'हिन्दु सनातन धर्मको आस्थाको केन्द्र नेपाल हो तर यसका विषयमा रिसर्च गर्न यहाँ गाह्रो छ अहिले त्यसैले पनि सम्पूर्ण अभिलेखहरु हामीले यहीबाट दिने छौं' उनले भने। 

धार्मिक पर्यटक बृद्धि गर्ने अपेक्षा

गत मंगलबार धामको उद्‍घाटन गर्न पुगेकी राष्ट्रपति विद्या भण्डारीले धाम धार्मिक पर्यटक तान्न सहयोगी बन्ने बताइन्। उनले नेपालको धार्मिक क्षेत्रमा धेरैको आस्था रहेता यस्ता क्षेत्रको पूर्वधार कमजोर भएको बताउदै निजी क्षेत्रबाट गरिएको पूर्वाधार निर्माण धार्मिक पर्यटकको आकर्षक केन्द्र बन्ने बताइन्। 'धार्मिक पूर्वधार विकासमा राज्यको न्युन उपस्थिति छ, तर निजी क्षेत्रको लगानीमा यति ठूलो धाम निर्माण गरिनुले धार्मिक पर्यटक वृद्धिमा सहयोग पुग्ने अपेक्षा मैले गरेकी छु' राष्ट्रपति भण्डारीले भनेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.