|

काठमाडौं : नेकपा एमालेले सप्तरीमा ४ जनाको मृत्यु हुने घटनामा सरकार र मधेसी मोर्चा दोषी रहेको बताएको छ। सप्तरी घटनाबारे जानकारी दिन बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा एमाले नेताहरुले सरकारमा सहभागी दल र मधेसी मोर्चाका कारण घटना भएको दावी गरेको हो।  

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई समर्थन गरेको मधेसी मोर्चाको पहिलेदेखि नै तराइमा उत्तेजना फैलाइरहेको र एमालेले मधेसमा कार्यक्रम नेतृत्वको नै हत्या गर्ने योजना बुनिएको आरोप लगाए। 'यसरी उत्तेजना फैलाइन्छ, दिनभरी लगातार हमला-हमला।  मान्छे मराउने को? प्रत्यक्ष देखिएको मधेसी मोर्चा। उत्तेजना फैलाएर प्रहरीमाथि आक्रमण गराएर कुनै हालतमा मान्छे मराउने र त्यसमाथि राजनीति गर्ने उनीहरुको पूर्वनियोजित थियो-ओलीले भने। 

एमालेमाथि आक्रमण हुँदा पनि प्रतिवाद नगरेर चुपचाप लागेको भन्दै ओलीले सरकारको आलोचना गरे। 'नेकपा एमालेमाथि आक्रमण भइरहने। घर जलिरहने। एमाले हुन नपाइने। एमाले बहिस्कार भन्‍ने तर एमालेमाथि आक्रमण गर्ने। हमला गर्ने। आगजनी र तोडफोड गर्ने?' ओलीले प्रश्न गरे। 

ओलीले सप्तरीमा भएको घटनामा सरकारकै दोष रहेको बताए।  'यी सबै कुरा अहिलेको सरकार पक्षबाट भएको छ। त्रिपक्षीय सत्ता गठबन्धनबाट भएको छ। सत्तापक्षले प्रतिपक्षलाई यो-यो ठाउँमा जान दिन्‍न, तराइमा जान दिन्‍न भन्छ। मधेसी मोर्चा गठबन्धन भनेका सत्तापक्ष हुन्'  उनले भने 'नाटक गरेर विपक्षी बेञ्‍चमा गएर बस्छन्। प्रतिपक्षलाई रोक्न देशविदेशबाट भेला भएका गुण्डा दल मात्रै होइन। अपराधिक तत्वहरु बम र बन्दुक समेत भेला हुन्छन्।'  

सप्तरी घटनामा एमाले नेता र जनताको सुरक्षा गर्दा सरकारले सुरक्षा निकायका प्रमुखलाई तुरुन्त फिर्ता बोलाएको भन्दै मिलीभगत बुझिनसक्नु भएको बताए। अहिले मधेसी मोर्चाले समर्थन फिर्ता लिन्छौ भनेपनि मोर्चाको चाहनाले मात्र समर्थन फिर्ता लिन सक्ने अवस्था नभएको ओलीले दावी गरे। 

कार्यक्रममा बोल्दै एमाले सचिव योगेश भट्टराईले एमालेको अभियान बिथोल्ने मात्र नभएर सिङ्गो पार्टीको नेतृत्वको हत्याको योजना बनाइएको आरोप लगाए। राजनीतिक विचार बोकेका पार्टीले त्यस्तो अपराधिक गतिविधि गर्नै नसक्ने भन्दै उनले सप्तरी घटना अराजनीतिक गतिविधिको पराकाष्टा भएको बताए। 'सप्तरीमा जुन ढङ्गले आततायी हमला भएको छ यसको शब्द सायद नेपाली डिस्नरीमा छैन। काँकडभिट्टाबाट अभियान शुरु हुदा नै दुष्टहरुको मुटु ढुकढुक भइसकेका थिए-भट्टराईले भने, हामीले सबैबाट सुचना लिएका थियौं सप्तरीको राजविराजमा एमाले नेतृत्वको हत्या गर्ने योजना बनेको थियो तरपनि हामी डराएनौ।'।

एमाले स्थायी कमिटी सदस्य तथा २ नम्बर प्रदेश कमिटी संयोजक सत्यनारायण मण्डलले सप्तरीमा टीकापुर घटना दोहोर्‍याउन मधेसी मोर्चा, गृहमन्त्री र सरकार जिम्मेवार भएको बताए। कार्यक्रमको तयारी गर्दादेखि नै एमालेका कार्यकर्ता कुटपिट गर्ने, कालोमोसो दल्ने जस्ता अमानवीय व्यवहार गरिएको भन्दै त्यसबारेमा प्रशासनलाई जानकारी दिइएपनि वेवास्ता गरिएको बताए। 'हाम्रा कार्यकर्तालाई कुटपिट गरियो। कालोमोसो दलियो। यो कस्तो व्यवहार हो ?' नेता मण्डलले भने, विदेशी पैसा खन्याएर एमालेमाथि आक्रमण गर्न लगाइयो'

कताबाट कति हातहतियार, बम आयो भनेर स्थानीय प्रशासनलाई जानकारी दिएपनि प्रशासनले उपयुक्त कदम नचालेको समेत मण्डलले 'स्थानीय प्रशासनको आग्रहमा कार्यक्रम स्थल परिवर्तन गर्यौ तरपनि एमाले उस्तो यस्तो भनेर मिडियाले उछित्तो काढ्दैछन्' उनले भने।

पोलिटब्युरो सदस्य लालबावु पण्डितले केही कांग्रेस, केही माओवादीका नेताको निर्देशनमा मोर्चाका कार्यकर्ताले एमाले सभामा आक्रमण गर्न लगाइएको आरोप लगाए। 'गृहमन्त्रीले पछाडिबाट साथ दिएर सप्तरीमा दुखद घटना घटाइयो। नेपालको राष्ट्रिय झण्डामा आगो लगाउने काम भएको छ। विदेशीको पैसा खाएर उनीहरूले राष्ट्रियता कमजोर बनाउन लागेका छन्।'

सप्तरी घटनापछि तीन दिन अभियान स्थगित गरेको एमालेले आफ्नो मेची महाकाली राष्ट्रिय अभियान शुक्रबार हेटौंडाबाट सुरु गर्दैछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.