|

  • पेमा लामा 

काभ्रे : सरकारले भूकम्प पुनर्निर्माणको लागि निजी आवास निर्माण गर्न प्रदान गर्ने भनिएको दोस्रो आजबाट काभ्रेका लाभग्राहीहरुले पाउन सुरु गरेका छन् । काभ्रेको रविओपी गाविसमा आज प्रमुख जिल्ला अधिकारी शिव प्रसाद सिमखडाले किस्ता सम्झौतापत्र हस्तान्तरण गरे। पहिलो किस्ता वापतको रकम पनि जिल्लाको रविओपी गाविसबाट नै भएको थियो।

रविओपी गाविस–४ का होमनाथ कोइराला सहित करिब १० जनालाई सिमखडाले दोस्रो किस्ता बापतको अनुदान सम्झौता हस्तान्तरण गरे। सो सम्झौतापछि अब उनीहरुले दोस्रो किस्ताबापत रु. १ लाख ५० हजार पाउनेछन्। सम्झौता पत्र हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी शिव प्रसाद सिमखडाले सरकारको राजश्व कसैले पनि दुरुपयोग गर्न नहुने बताए।

'यो पुनः निर्माणका लागि सरकारको उपस्थिति मात्रै हो,' सिमखडाले भने। सरकारले पुनर्निर्माणको लागि पहिलो किस्ताबापत ५० हजार वितरण गरेको ७ महिनापछि काभ्रेका भूकम्प पीडितले दोस्रो किस्ताको रकम पाएका हुन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका प्रमुख ध्रुव गैडाले पुनर्निर्माण भएका घर भूकम्प प्रतिरोधी हुनुपर्ने बताए। उनले जिल्लामा दोस्रो किस्ता बापतको रकम अब धमाधम वितरण हुने बताए । उक्त गाविसमा ९ सय ७० जना भूकम्प पीडितको नाम लाभग्राही सूचिमा प्रकाशन भएको  छ। ति मध्ये ९ सय ३० जनाले मात्रै पहिलो किस्ता बापतको रु. ५० हजार पाएका छन्।

घर निर्माणका लागि १ सय ३० जनाले आवेदन दिएको गाविस कार्यालय सहायक पुष्प कोईरालाले बताए। दोस्रो किस्ताको लागि ४० जनाले मात्रै आवेदन दिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका प्रमुख ध्रुव गैडाले जानकारी दिए।

जिल्ला विकास समिति, काभ्रेपलाञ्चोकका अनुसार भूकम्प पीडितलाई दोस्रो किस्ताको रकम वितरण गर्नका लागि रु. ९९ करोड ५८ लाख ५० हजार विनियोजन भएको छ। जस अनुसार सो रकमबाट दोस्रो किस्ताबापत रु. १ लाख ५० हजारका दरले ६ हजार ६ सय ३९ जनाले मात्र रकम पाउँछन्। जिल्लामा लाभग्राहीको सूचिमा रहेका  ६७ हजार ७ सय ११ जनाले प्रथम किस्ता बापतको रु. ५० हजार पाएका छन्।

पहिलो किस्ता लिए जग समेत खनेको छैन

आवास निर्माणको लागि सरकारले अनुदान स्वरुप वितरण गरेको पहिलो किस्ता बापत ५० हजार लिएको ७ महिना बित्न लाग्दा पनि अहिलेसम्म अधिकंशले जग समेत खनेको छैनन्।

सरकार निकायले अनुगमन नगर्दा भूकम्पपीडितले राहत स्वरुप ५० हजार लिएपनि जग समेत नखनेको हो। तर पहिला किस्ता लिएकाहरुले पुर्ननिर्माण सुरु गरेर दोस्रो किस्ताका लागि निवेदन दिए वितरण सुरु गर्ने तयारी गरिरहेको प्रमुख गैडाले बताए।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति काभ्रेका प्रमुख ध्रुव गैडाले हालसम्म जिल्लामा १९ सय ७६ घरधूरीले मात्रै पुन निर्माणको कार्य सुरु गरेको बताए। उनका अनुसार  भूकम्पपीडितहरुले आफ्नै हिसाबले ९ सय ८२ घर निर्माण गरिसकेका छन्। 'अन्यत्र घर भएकाहरुले रकम लिएर घर पुनर्निर्माण सुरु नगरेको, कामदार बेलैमा नपाएको, खानेपानी, निर्माण सामग्री र घरमूली नहुनाले निर्माण कार्यमा ढिलाई भइरहेको छ,' उनले भने,'यसमा सबैको ध्यान जान जरुरी छ।'

लाभग्राहीमा नाम छुटेकाहरुको चाहि कहिले ?

च्यासिङखर्क–५ गोलेटोलका प्रेमबहादुर ब्लोनले जब गाउँमा प्राधिकरणका कर्मचारीहरु भेटछन्। सोधिहाल्छन्,' हाम्रो नाम लाभग्राही सूचिमा छुटेको छ, राहत कहिले पाउने?’ उनले उनको जस्तै जिल्लाको भूकम्प पीडितहरुले लाभग्राहीको सूचीमा आफ्नो नाम नपरेको भन्दै भरेको काभ्रेमा २१ हजार २९ जनाले गुनासो फराम भरेका थिए। त्यसमध्ये ८ हजार ३ सय २८ जनाको सुनुवाई भएको छ।

जिल्लाबाट गुनासो गर्नेहरुमध्ये केन्द्रबाट आवश्यक छानविनको क्रममा ८ हजार ३ सय २८ जनाको सुनुवाई भएर आएको गैडाले बताए। लाभग्राहीको सूचीमा पर्नेहरुको केन्द्रबाट बजेट आउने वितिकै वितरण हुने गैडाको भनाइ छ। ‘केन्द्रबाट कहिलेसम्ममा बजेट आउँछ भन्नेमा कुनै निश्चित छैन, आएपछि वितरणको काम शुरु हुन्छ,’ गैडाले भने ।

जिल्लाभर ७२ गाविस र पाँच नगरपालिकामा नै भूकम्पपीडितहरुले यस्तै गुनासो गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.