|

बारा : आफन्त र केही छिमेकीको असहमति बाबजुद पनि बाराको निजगढ नगरपालिकामा एक अन्तरजातीय जोडीले जग्गेबाट नै विवाह गरेका छन्। निजगढ ७ का २७ वर्षीय ऋतेश सुनुवार (विश्वकर्मा) र ९ की २३ वर्षीया पार्वती आले मगरले आफन्त र छिमेकीबाट भएको विरोधको पर्वाह नगरी बिहीबार परम्परा अनुसार दाम्पत्य जीवन सुरु गरेका हुन्। 

'धेरैले जात नमिल्नेसँग नगर्नु भनेका थिए' बेहुली पार्वतीका दाजु कुमार आलेले भने ' तर दुबै राजी भएपछि घरको जग्गेबाटै अन्माइदिएँ।' कुमारले दाम्पत्य जीवन सफल हुन जात भन्दा पनि भावना र विचार मिल्नुपर्ने बताए। केही वर्षअघि पिता गुमाएपछि आमा सानुमाया र दाजु कुमारले पार्वतीको कन्यादान गरेका हुन्। ऋतेश करिब ५० जना जन्तीका साथ ब्याण्डबाजा बजाउँदै दिउँसो डेढ बजे पार्वतीको घर पुगेका थिए।

३ वर्षअघि देखि प्रेम सम्बन्धमा जोडिएका नवदम्पतीले परम्परा अनुसार मागी विवाह गर्ने प्रस्ताव गरेपछि आफन्त र छिमेकीले समेत विरोध गरेका थिए। तल्लो जातको केटासँग बिहे गरेको भन्दै असन्तुष्ट बेहुली पार्वतीका काका टंक आले, काकी लगायतका आफन्त र अधिकांश छिमेकी पनि विवाह कार्यक्रममा अनुपस्थित थिए।

मगर कुलका स्थानीय पुरोहितले विधि अनुसार फरक जातकालाई मण्डपमा राखेर विवाह गर्न नमिल्ने बताएपछि आफन्त र छिमेकी पनि विवाह कार्यक्रममा सरिक हुन हच्किएका हुन्। पुरोहित कृष्णप्रसाद कोइरालाले अस्वीकार गरेपछि दाजु कुमारले हेटौंडाका अर्का पण्डित बोलाएर विवाह सम्पन्न गरेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.