|

बाँके : संकटा क्लब नेपालगञ्जमा भैरहेको दोस्रो टुबोर्ग नेपालगन्ज गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सशस्त्र प्रहरी (एपीएफ) लाई २–१ गोलले पाखा लगाउँदै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो।

खेलमा पहिलो गोल भने एपीएफले गरेको थियो। खेलको ५५ औँ मिनेटमा एपीएफका श्याम नेपालीले गोल गरेर टिमलाई अग्रता दिलाए। गोल खाएपछि आक्रामक खेलेको संकटाले ७२ औं मिनेटमा बराबरी फर्कायो। रवि सिलवालले ७२ औं मिनेटमा बराबरी गोल फर्काए। त्यसको चार मिनेटपछि राज पौडेलले निर्णायक गोल गरे। त्यसपछि दुबै पक्षबाट आक्रमक खेल भएपनि गोल हुन सकेन। संकटाका राज पौडेल म्यान अफ द म्याच भए।

एपीएफले पाएका केही राम्रा अवसर सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ। संकटाले यो वर्ष सशस्त्रलाई निरन्तर हराइरहेको छ। सशस्त्रले आफ्ना ४ जना खेलाडी राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेकाले नेपालगन्ज आउन नपाएको जनाएको छ।

एपीएफका प्रशिक्षक कुमार थापाले पछिल्ला खेलमा संकटालाई जित्न नसक्दा दबाब बढेको बताए। उनले खेलाडीहरुले अगाडि पाएको बल पछाडी धेरै पास खेलेकाले हार व्यहोर्नुपरेको बताए। 

संकटाका प्रशिक्षक सल्यान खड्गीले धेरै खेलाडी घाइते हुँदा सोचेजस्तो खेल खेल्न नसकेको बताए। ‘मैदान नराम्रो भएकाले स्तरिय खेल पस्किन सकेनौं,’ खड्गीले भने, ‘पाएको मौका सदुपयोग गर्न नसक्दा धेरै गोल हुन सकेन।’

संकटाले अब फाइनल पुग्नका लागि सुदूरपश्चिम–११ सँग प्रतिस्पर्धा गर्नेछ। आइतबार मनाङ मस्र्याङ्दी र रुपन्देही–११ का बीच खेल हुने बाँके जिल्ला फुटबल संघले जनाएको छ। यो खेल जित्नेले सेमिफाइनलमा नेपाल प्रहरीको सामना गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.