|

गुल्मी : वैदेशिक रोजगारीबाट फर्किएका रेसुङ्गा नगरपालिकाका युवाहरु सामूहिक तरकारी खेतीमा लागेका छन्। वडा नम्बर १० सिमिचौरका पाँच र वडा नम्बर ४ अर्खलेका ६ जनाले ७२ रोपनी जग्गामा सामूहिक तरकारी गरेका छन्।

गत जेठदेखि राजन कुँवर, टोपबहादुर कुँवर, फर्सुराम कुँवर, रवि कुँवर, सुवास कुँवर र टेकराज कुँवरले सामूहिक तरकारी खेती गरेका हुन्। उनीहरु कोरोना भाइरस महामारीका बेला भएको लकडाउनका बेला वैदेशिक रोजगारीबाट फर्किएका हुन्। 

रेसुङ्गा–१० सिमिचौरका ४० वर्षीय राजन कुँवर १० वर्षदेखि मलेसियामा वैदेशिक रोजगारीको सिलसिलामा थिए। उनी गत फागुन २४ मा फर्किएपछि पुनः फर्किन पाएनन्। त्यसपछि परिवार चलाउनकै लागि अर्थोपार्जनका विभिन्न उपाय सोच्दै सामूहिक तरकारी खेतीमा लागेको बताउँछन्। 

६ जना युवाले सिमिचौरमा १० जनाको ७२ रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएको राजनले बताए। ६ वर्षदेखि बाँझो रहेको उक्त जग्गामा रुख उम्रिएर जंगलमा परिणत भएको थियो। त्यही जंगललाई ६ लाख लगानीमा फडानी गरी अहिले तरकारी लगाएका छन्। जग्गाधनीमध्ये केहीले एक वा दुई वर्षको भाडा छुट गरेका छन्। जग्गाको वार्षिक ६० हजार रुपैयाँ भाडा बुझाउनुपर्ने राजनले बताए। उक्त जग्गामा अहिले पाँच क्विन्टल आलु लगाएका छन्। त्यस्तै बन्दाकोपी, प्याज, काँक्रा, घिरौलालगायतका तरकारीका नर्सरीहरु रहेका छन्। 

प्याज, बन्दा, फुल काउलीलगायतका बेर्ना बिक्रीबाट मात्रै एक लाख रुपैयाँभन्दा बढी आम्दानी गरिसकेको राजनले बताए। बारीमा बन्दाकोपी, गाँजर, साग, मुला, गोलभेडा, केराउलगायतका तरकारीहरु रहेका छन्। उत्पादित तरकारी रेसुङ्गा नगरपालिकाको हाटबजारमा बिक्री हुने गरेका छन्। कृषि उपज लिन नगरपालिकाको गाडी फर्म नजिकै आउने भएकाले बजारको समस्या नभएको अर्का किसान फर्सुराम कुँवरले बताए।

विदेशमा गरेको मिहनेतको ६० प्रतिशत मात्रै गरे राम्रो आम्दानी हुने राजनको भनाइ छ। भविष्यमा आफूहरुले उक्त ठाउँलाई गोलभेडाको पकेट क्षेत्र बनाउने योजना रहेको उनले बताए। 

२०/२२ रोपनी जग्गामा बाख्रा पाल्ने र केही भाग बाख्राको लागि चरन क्षेत्र बनाउने उनीहरुको योजना छ। अब एक÷डेढ महिनाभित्रै खोर बनाउन सुरु गरिने राजनले बताए। खोरमा करिब ४०० वटा बाख्रा पाल्ने र उक्त बाख्राको लागि घाँस पनि लगाउने टोपबहादुरले बताए।

सामूहिक कृषि खेतीमा लागेका अर्का सदस्य ३७ वर्षीय टेकराज कुँवरले पाँच वर्ष मलेसियमा बिताए। कोरोनापछि गाउँ बस्ने सोच बनाएर सुरु गरेको तरकारी खेतीबाट सन्तुष्टि मिलेको उनको अनुभव छ। काम गर्नको लागि विभिन्न कृषि सामग्री फर्मसम्म पुर्याउन तथा उत्पादित कृषिजन्य उपजहरु बजारसम्म लैजान मोटर बाटोको समस्या तथा सिँचाईको लागि पानी भए पनि पाइपको समस्या रहेको उनले बताए। त्यस्तै विभिन्न कृषिजन्य सामग्री हाते ट्रयाक्टर, टनेल, बीउ तथा आवश्यक मल लगायतका सामग्री पाए आफूहरुको उत्पादनमा बृद्धि हुने उनले बताए।

नगरपालिकाभित्रका व्यावसायिक फर्महरुलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए। किसानलाई तालिमलगायत कृषि औजारहरु अनुदानमा दिने नगरपालिकाले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.