|

जनकपुरधाम : तराई मधेस लगायत मिथिलाञ्चलका गाउँ गाउँमा फागू पर्वको आगमनसँगै गाइने जोगिरा सरर (एक प्रकारको परम्परागत गीत) लोप हुँदै गएको छ।  फागू पूर्णिमा भन्दा एक महिना पहिलेदेखि नै तराई मधेसका प्रत्येक गाउँ/गाउँ तथा टोल टोलमा विगतका वर्षमा सुनिने गरेको जोगिरा अब सुनिन छाडिएको वयोवृद्ध होलैयाहरुको भनाइ छ।

पहिले पहिले गाउँका दलानमा डम्फु, झ्याली, हार्मोनियमको तालमा साँझदेखि रातिसम्म विभिन्न उमेर समूहका युवा, वयस्क र वृद्धको छुट्टाछुट्टै टोलीले समूह बनाई जोगिरा गाउने चलन थियो। डम्फुको तालमा गवैया मनोयोगका साथ जोगिराको माध्यमले देवीदेवताको वन्दना गर्ने, हाँसो–ठट्टा, प्रेम–विछोड र हर्षविनोदका भावगीतको माध्यमबाट प्रस्तुत गर्ने जोगिरा अहिले लोप हुँदै गएको छ।

फागू मनाउन केही दिन बाँकी रहँदा पनि महोत्तरी तथा धनुषा लगायतका अन्य कुनै पनि गाउँ ठाउँमा यस वर्ष जोगिरा सुन्न नपाइएको जिल्लावासीहरु बताउँछन्। मिथिलाञ्चलमा फागूका अवसरमा गाइने जोगिरा संस्कृतिको जगेर्ना गर्ने र निरन्तरता दिने युवा समुदायको खाँचो देखिएको जनकपुर जानकी चौकका युवा सुशील कर्णको भनाइ छ। पहिले–पहिले जोगिरा गाउन फागूको एक महिना पहिले नै देश परदेशमा रोजगारीमा गएका युवा घर फर्केर आउँथे र एक महिनासम्म गाउँ गाउँमा रातिसम्म जोगिराले गाउँ/गाउँ गुञ्जायमान बनेको हुन्थ्यो तर अहिले ती सबै हराएर गएको गौशाला नगरपालिकाका होलैया राजकुमार महतो बताउँछन्।

जोगिराको लोपसँगै सामाजिक सद्भाव घट्दै गएको र मिथिलाको मौलिक परम्पराका रुपमा रहेको फागु गीत पनि लोप हुन थालेको वरिष्ठ साहित्यकार एवं पत्रकार रामभरोष कापडी भ्रमर बताँउछन्। जोगिरा गाउने परम्पराको संरक्षणको आवश्यकता रहेको बताउँदै वृद्ध होलैयाहरुले अहिलेका युवामा आपसी सद्भाव, भाइचारा, बन्धुत्व र सामाजिक एकताको अभावमा यसको लोप हुँदै गएको निष्कर्ष निकालेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.