|

सुजता लिम्बू

विराटनगर : मोरङको विराटनगर महानगरपालिका–१२ बर्खीकी आरती साह (नाम परिवर्तन)को विवाह भएको तीन वर्ष भयो। तीन वर्ष बितिसक्दा पनि उनी आमा बन्न सकेकी छैनन्। सन्तान जन्माउन नसकेको भन्दै श्रीमानले मानसिक तथा शारीरक यातना दिनेको गरेको उनले बताइन्। 

स–सानो विषयलाई लिएर श्रीमानले आफूलाई कुटपिट गर्ने गरेको उनको दुखेसो छ। श्रीमानको दैनिकको किचलो र कुटपिट सहन नसकेर घरबाट भागेर माइती पुगेकी आरतीले श्रीमानविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएकी छन्।

‘पहिले त ठिकै चल्दै थियो। आजभोलि मैले सन्तान जन्माउन सकिन भनेर धेरै टर्चर दिने गर्नुहुन्छ,’ जिल्ला प्रहरी कार्यालयमा भेटिएकी उनले भनिन्, ‘दैनिक जस्तो घर झगडा हुन्छ। प्रहरीकोमा आयो, सम्झाएर लग्यो। केही समय त ठिकै हुन्छ। फेरि उस्तै हुन्छ। अब सँगै बस्न सक्दिन। श्रीमानसँग छुट्टिएर बस्छु।’

यता श्रीमान भने आरतीलाई माया गरेर नै राखेको बताउँछन्। ‘धेरै दिनदेखि कल (तराई भेगमा प्रयोग हुने धारा)मा लुगा थन्किएको थियो। किन नधुएकी भन्दै दुई झापड हानें,’ प्रहरी कार्यालयमा भेटिएका अनिल साह (नाम परिवर्तन)ले भने, ‘भागेर माइत पुगे छिन्।’

यद्यपि, उनीहरुको सन्तान नहुनुमा आरतीको नै स्वास्थ्यमा खराबी रहेको अनिल जिकिर गर्छन्। तर, डाक्टरको भनाई अनुसार आरतीको स्वास्थ्यमा कुनै समस्या नरहेको आरतीकी माइती पक्षको भनाइ छ। 

विराटनगर महानगरपालिका–१२ की सुनिता (नाम परिवर्तन) आफ्नै देवरले यौन दुर्व्यवहार र्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिन आइन्। पीडित र पीडकबीच प्रहरी कार्यालयमा छलफल भयो। परिवारको दवावले सुनिताले देवरविरुद्ध मुद्दा दर्ता गरिनन्। 

मुद्दा दर्ता गर्ने भनेर प्रहरी समक्ष आएका महिलाहरु पनि दवावको कारण नै मुद्दा फिर्ता लिएर जाने गरेको जिल्ला प्रहरी कार्यालय मोरङकी महिला सेल प्रमुख प्रहरी निरीक्षक एल्जिना राई बताउँछिन्। ‘कतिपय महिलाहरु अपराधविरुद्ध मुद्दा दर्ता गर्छु भनेर नै आउनुहुन्छ,’ प्रहरी निरीक्षक राईले भनिन्, ‘तर परिवार, आफन्तको प्रेसरले मुद्दा दर्ता गर्न सक्दैनन्। पीडितले मुद्दा फिर्ता लिएपछि उसको इच्छा विपरीत हामीले दवाव दिन मिल्दैन।’

पिछडिएको क्षेत्रमा बढी हिंसाका घटना

जिल्ला प्रहरी कार्यालय मोरङको चालु आर्थिक वर्षको पुससम्मको तथ्यांङको अनुसार १०८ वटा मुद्दा दर्ता भएका छन्। जसमा ९९ प्रतिशत महिला घरेलु हिंसामा परेका छन् भने एक प्रतिशत पुरुष महिलाको हिंसामा पर्ने गरेको प्रहरी निरीक्षक राईले बताइन्।

प्रहरी समक्ष आउने अधिकांश मुद्दामा शारीरिक यातना, मानसिक यातना, आर्थिक र यौनजन्य यातना रहेको राईले बताइन्। ती मुद्दाहरु मोरङको पिछडिएका क्षेत्र घिनाघाट, रङगेली, बर्खीलगायतका स्थानहरुबाट आउने गरेका छन्। 

‘श्रीमानले श्रमतीलाई खान लगाउन नदिने अर्थात् आर्थिक यातना दिने खालका केसहरु पनि हामीकहाँ आउने गरेका छन्,’ प्रहरी निरीक्षक राईले भनिन्, ‘स्थानीय तह र प्रहरीले कानुनी सुविधा दिएको छ भन्ने अझै पनि पीडितलाई थाहा छैन। थाहा हुने पीडितहरु हामीकहाँ आइपुग्नुहुन्छ। थाहा नहुनेहरु अन्धकारमा नै हुनुहुन्छ।’

अशिक्षा, रुढीवादी परम्परागत र साँघुरो सोंच हिंसाको प्रमुख कारण भएको प्रहरी निरीक्षक राईको भनाइ छ। ‘जबसम्म हामी सोंच बदल्दैनौँ तबसम्म हामीमा बदलाव आउँदैन र हिंसा न्यूनीकरण हुँदैन,’ उनले भनिन्, ‘सबैभन्दा पहिले सोंचमा परिवर्तन ल्याउन जरुरी छ।’

न्यायिक समितिले सहज 

महिला हिंसासँगै पुरुष हिंसामा परेका मुद्दा पनि स्थानीय तहको न्यायिक समितिमा आउने गरेको विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्कीले बताउँछिन्।

‘श्रीमतीले श्रीमानलाई घर निकाला गरेको, श्रीमतीले मादक पदार्थ सेवन गरेर बच्चाको रेखदेख गर्न नसकेको र वैदेशिक रोजगारीका लागि गएका पुरुषको श्रीमतीले घर बेचबिखन गरेर दोस्रो पुरुषसँग विवाह गरेको जस्ता केसहरु हामी कहाँ आउने गरेका छन्,’ उपप्रमुख कार्कीले भनिन, ‘प्रतिशतको हिसाबले हेर्दा पुरुषभन्दा महिला नै बढी हिंसामा पर्ने गरेको देखिन्छ।’

स्थानीय तहमा न्यायिक समिति भएकाले पीडितहरुले न्याय पाएर सन्तुष्टि भएर नै गएका उपप्रमुख कार्की बताउँछिन्। महानगरको न्यायिक समिति÷कानुन शाखामा चालु आर्थिक वर्षमा ७६ वटा घरेलु हिंसासम्बन्धी मुद्दा दर्ता भएका छन्। यद्यपि, धेरैजसो महिलाले आफूमाथि भएको हिंसा लुकाउने गरेको विराटनगर–११ की वडा सदस्य रिङ्कु परियार बताउँछिन्। पीडितहरु गुनासो लिएर जनप्रतिनिधिसम्म आइपुगे पनि केही समयपछि घटना लुकाउन खोज्ने गरेको उनको अनुभव छ। हिंसाविरुद्ध जनचेतना बढाउन पछिल्लो समय जनप्रतिनिधि नै ग्रामीण क्षेत्रमा पुगेर कार्यक्रम गर्दै आइरहेको वडा सदस्य परियारले बताइन्। 

महानगरपालिका कानुन महाशाखा प्रमुख शारदा थपलिया महिलाहरु सशक्तीकरणको पाटोमा अगाडि भए पनि हिंसा कम हुन नसकेको बताउँछिन्। महिलालाई हर्ने दृष्टिकोणमा परिवर्तन नआउनु, पृतिसत्तात्मक सोंच रहिरहनुले महिला हिंसा कम नभएको उनको बुझाइ छ।

‘मेरो पुस्ताले घर, समाज र मैले पढेको पाठ्यपुस्तकबाट नै पुरुषलाई माथि पारिएको शिक्षा सिकेर आएको थिए,’ थपलिया भन्छिन्, ‘मैले पढ्ने पाठ्यपुस्तकमा आमा खाना पकाउनुहुन्छ, बुवा अफिस जानुहन्छ भन्ने थियो। तर पछिल्लो समय केहि परिमार्जित भएर आएका छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.