आन्तरिक उडानको लागि ६ जहाज थपिंदा बाह्‍य उडानमा एउटा मात्रै

|
http://newsblaze.com

काठमाडौं: विश्‍वकै उत्कृष्ट पर्यटन गन्तव्यमध्ये एक मानिएको नेपालमा होटल र रेष्टुरेन्टसँगै हवाई क्षेत्रमा लगानी गर्न चाहनेहरुको संख्या पनि बढ्दो छ। नेपाल सरकरले लगानीका लागि दोस्रो प्राथमिकताको सुचिमा राखेको पर्यटन उद्योग अन्तर्गत हवाई क्षेत्रमा लगानी गर्न चाहनेहरुको संख्या बढेसँगै नेपालमा भित्रने जहाजहरुको संख्या पनि बढ्नेछ।

हालसम्म २१ कम्पनीका झण्डै चार दर्जन हवाईजहाज (विमान) तथा हेलिकप्टरले आन्तरिक तथा बाह्‍य उडान भर्दै आएका छन्। तर यतिले नपुगेर भर्खरै आन्तरिक उडानको लागि वायु सेवा कम्पनीहरुले दुई दर्जन जहाज ल्याउन नागरिक उड्यन प्राधिकरणसँग अनुमति मागेका छन्।

चालु आर्थिक वर्षमो पहिलो ७ महिनामै ७ वटा नयाँ जहाज नेपालमा अवतरण भइसकेका छन्। २०१७ भित्र  सरकारी र निजी गरेर १४ वटा नयाँ जहाज थप थपिने छन्।

थपिएका र थपिने जहाजमध्ये अधिकांश जहाज आन्तरिक उडानका लागि प्रयोगमा ल्याइने नागरिक उड्‍यन प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले बताए। ' हिमालय एयरलाइन्स बाहेक अहिलेसम्म सबै कम्पनीले आन्तरिक उडानको लागि प्रयोगमा ल्याउने जहाजका लागि अनुमति मागेका छन्,' श्रेष्ठले भने।

आन्तरिक उडानका लागि क्षेत्रमा निजी क्षेत्रसँगै सरकारी स्वामित्वको नेपाल वायु सेवा निगम समेत आकर्षित छ। आन्तरिक उडानको लागि गत वर्ष मात्रै दुईवटा जहाज थपेको वायु सेवा निगमले चालु आर्थिक वर्षमा २ वटा जहाज बढाइसकेको छ भने थप दुईवटा जहाज थप्ने लक्ष्य निगमको छ।

यी हुन् ७ महिनामा भित्रिएका ७ जहाज, कसका जहाज कस्ता ?

  • निजी वायुसेवा कम्पनी बुद्ध एयरले फ्रान्सेली जहाज निर्माता कम्पनीको जहाज भित्र्याएको छ। एटिआर ७२–५०० जहाज बुद्ध एयरले भित्र्याएको हो। ७२ सिट क्षमताको यो जहाजको मुल्य १ अर्ब रुपैयाँ परेको बुद्ध एयरले जनाएको छ।
  • निजी वायु सेवा कम्पनि सौर्य एयरलाइन्सले पनि ७२ सिट क्षमताको जहाज आइतबार मात्रै भित्र्याएको छ। जेट एयरको सीआरजे २०० सिरिजको जहाज मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो। यसअघि  एउटा मात्रै जहाज चलाएको सौर्य एयरलाइन्सले ल्याएको नयाँ जहाजको मुल्य झण्डै १ अर्ब रुपैयाँ परेको बताइएको छ। यो जहाजले नियमित उडान थाल्न भने झण्डै १ महिना लाग्नेछ।
  • अर्को निजी वायु सेवा कम्पनी हिमालयन एयरलाइन्सले पनि चालु आर्थिक वर्षमा नयाँ जहाज ल्याएको छ। हिमालयन एयरलाइनन्सले जर्मनीमा बनेको ३२०–२१४ सीरोजको जहाज ल्याएको हो। १५८ सीट क्षमताको यो जहाजको मुल्य २ अर्ब रुपैयाँ भन्दा माथि रहेको छ। हिमालयन एयरलाइन्सले यो  जहाज बाह्य उडानको लागी मात्रै प्रयोग गरेको छ।
  • चालु आर्थिक वर्षमा गोमा एयरलाइन्सले २ वटा नयाँ जहाज ल्याएको छ। चेक गणतन्त्रमा निर्मित जहाज गोमा एयरले एल ४१० यूपीभी सीरीजका दुई जहाज ल्याएको हो। गोमाले ल्याएका दुई जहाज नै आन्तरिक उडानको लागि हो। जम्मा १९ सीट क्षमता भएको यो जहाजको मुल्य ७० करोड रुपैयाँ रहेको छ। गोमा एयरले एकै पटकमा १ अर्ब ४० करोड रुपैयाँ खर्च गरेर एउटै मोडेलका दुई जहाज ल्याएको हो।
  • त्यस्तै चीन सरकारको सहयोगमा आन्तरिक उडानको लागि नेपाल एयरलाइन्सले समेत २ वटा जहाज ल्याएको छ। गत महिना चीनबाट ल्याइएका दुई जहाजले आन्तरिक उडान सुरु गरिसकेका छन्। निगमले गत माघ १३ गते ५६ सिट क्षमताको एम ६० जहाज ल्याएको थियो। त्यस्तै गत माघ १९ गते १८ सीट क्षमताको वाई १२ जहाज ल्याएको थियो।

यी  थपिंदै छन् 

  • सरकारी र निजी वायु सेवा कम्पनीहरुले २०१७ भित्र थप १४ वटा जहाज थप्दै छन्।
  • यसको लागि ७ कम्पनीले १४ विमान उडानको अनुमति मागेका छन्। जस अनुसार यतिले ४ वटा 'एटिआर ७२' विमान ल्याउने जनाएको छ।
  • गत महिना मात्रै विमान थप गरेको बुद्ध एयरले थप अर्को विमान यसै वर्ष ल्याउने जनाएको छ।
  • श्री एयरले २ वटा जेट 'सिआरजे २००' सिरिज विमान ल्याउने जनाएको छ। अहिलेसम्म नेपाल सौर्य एयरलाइन्सले मात्रै जेट एयर चलाएको छ।
  • त्यस्तै नेपाल वायु सेवा निगमले आन्तरक उडानको लागि यसै वर्षमा थप दुईवटा जहाज थप्नेछ।
  • सिम्रिक एयरलाइन्स ४ वटा स्काइ ट्रक जहाजमा लगानी थप्ने योजना बनाएको छ।
  • सौर्य एयरलाइन्सले थप एउटा जहाज ल्याउने बताएको छ। सौर्यले अब ल्याउने जहाज पनि जेट एयर नै हुने छ यसो हुदा उसँगत तीन वटै जेट एयर पुग्नेछन्।

यी हुन् आन्तरिक उडान भर्ने जहाज 

  • त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार अहिले आन्तरिक तथा बाह्‍य उडानमा सरकारी तथा निजी गरी २१ कम्पनीका जहाजले उडान भरिरहेका छन्। अहिले आन्तरिक उडानको लागि २० वटा र बाह्‍य उडानको लागि २ वटा कम्पनीका ५ विमानले अनुमति लिएका छन्।
  • आन्तरिक उडानमा १० वटा कम्पनिका हेलिकप्टर र नेपाल वायुसेवा निगमसहित १० वटा कम्पनीका जहाज रहेका छन्।
  • जहाज चलाउनेहरु : नेपाल वायु सेवा निगम, बुद्ध एयर, श्री एयरलाइन्स, तारा एयरलाइन्स, यति एयर लाइन्स, सिता एयर,गोमा एयर, सिम्रिक एयर, सिम्रिक एयरलाइन्स र सौर्य एयरलाइन्स रहेका छन्। त्यस्तै मनाङ एयर, फिस्टेल एयर, अल्टिच्युड एयर हेली, हेली अर रेस्ट, प्रभु हेली, माउण्टेन हेलिकप्टर,एयर डाइनेस्टी, एयर कास्ट मण्डप, मकालु एयर, मुक्ट्टिनाथ एयर र तारा एयर

बाह्‍य उडानमा ५ जहाज 

  • अहिले बाह्‍य उडान भने नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सले मात्रै भरेका छन्।
  • हाल सम्म नेपाल एयरलाइन्सका ३ वटा जहाज र हिमालयन एयरलाइन्सका २ वटा जहाज बाह्य उडानमा छन्।
  • बाह्य उडान भर्नको लागी आगामी एक वर्षम भित्रमा नेपाल वायु सेवा निगमले २ वटा जहाज ल्याउने तयारी गरेको छ।
  • त्यस्तै आफ्ना दुईवटा जहाज नै बाह्‍य उडान भरेको हिमालयन एयरलाइन्सले आगामी तीन वर्ष भित्रमा १५ वटा जहाज बाह्‍य उडानमा पुर्‍याउने लक्ष्य राखेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.