|

जयमान बुढा मगर

रुकुम (पूर्व) : दुर्गमका गाउँलाई मध्येनजर गरेर रुकुमपूर्व भूमे गाउँपालिकाले हरेक हप्ताको सोमबार एमबिबिएस डाक्टरबाट घुम्ती स्वास्थ्य सेवा सञ्चालन गरिरहेको छ। आर्थिक समस्या सँगसँगै टाढाको अस्पताल धाउनुपर्ने अवस्थाका दूरदराज  गाउँका व्यक्तिको स्वास्थ्य उपचारबाट वञ्चित रहेका सर्वसाधरणलाई गाउँगाउँमै सेवा प्रवाह गर्ने उद्देश्यले भूमे गाउँपालिकाले रहेक हप्ताको सोमबार घुम्ती शिविर सञ्चालन गरिरहेको हो।

लुम्बिनी प्रदेश सरकारले अस्थायी कोरोना अस्पताल सञ्चालनको लागि गाउँपालिकालाई १० लाख रुपैयाँ बजेट उपलब्ध गरेको छ। उक्त बजेटले गत पुस महिनादेखि स्वास्थ्य चौकी भूमे‐२ काँक्रीमा कोभिड‐१९ अस्थायी अस्पताल स्थापना गरी कोरोना जोखिम भत्ता सेवा थप गरेर करार एबीबीएस डाक्टरको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले जानकारी दिए।

हाल डाक्टरबाट हप्ताको पाँच दिन कोभिड‐१९ अस्थायी अस्पताल  काँक्रीबाट सेवा प्रभाह भइरहेको छ, भने हरेक सोमबारका दिन नागरिकको घर दैलोमै पुगेर एबीबीएस डाक्टर अशोककुमार महतोबाट गाउँपालिकाबासीलाई स्वास्थ्य सेवा दिइ राखिएको अध्यक्ष बुढाले बताए।

दुर्गम गाउँ ठाउँका सर्वसाधारण नागरिकमा आर्थिक समस्या र अस्पताल सम्म आउन नसक्नेलाई हरेक हप्ताको सोेमबारको दिन डाक्टर सहित अन्य स्वास्थ्यकर्मीको टोलीबाट उनीहरूकै घर आगनमै पुगेर स्वास्थ्य सेवा दिइ राखिएको गाउँपालिका स्वास्थ्य शाखाका सह‐संयोजक सञ्जीब खड्काले जानकारी दिए।

'कोभिड‐१९ अस्पताल काँक्रीमा सबै नागरिक आउन नसक्ने भएकाले उनीहरूको घर दैलोमै पुगेर स्वास्थ्य सेवा दिनुपर्छ' डाक्टर महतोको भनाइलाई उदृत गर्दै खड्काले बताए।

साथै गाउँ घरका नागरिकको स्वास्थ्य स्थिति अवस्थाबारे अध्ययन गर्नुका साथै यदि कसैलाई जटिल प्रकृतिका रोग देखा परेमा थप उपचारको लागि साथ सहयोग एवं स्वास्थ्य परामर्श दिने मुख्य उद्देश्यले रहेक हप्तामा घुम्ती स्वास्थ्य सेवा प्रभाह भइरहेको सह‐संयोजक खड्काको भनाइ रहेको छ।

हाल वडा नम्बर १, ३ र ४ मा घुम्ती स्वास्थ्य सेवा दिइ सकिएको छ। उक्त वडाहरूमा कुनैमा पनि जटिल प्रकृतिको रोग देखिएको छैनन्। सोमबार (आज) भूमे‐५ सेराबाङमा एमबीबीएस डाक्टर मार्फत स्वास्थ्य सेवा दिइएको छ।

२१ जना पुरुष र ४७ जना महिला गरी जम्मा ६८ जनाको स्वास्थ्य चेकजाँच गरिएको छ। खासै जटिल अवस्थाको  रोग देखा नपरेकोमा एक शिशु कुपोषित, पाँच जना महिलामा पाठेघर सम्बन्धि समस्या, यूरिकएसिडका चार जना र पाँच जना प्रेसर बिरामी भेटिएकालाई थप उपचारको लागि अस्पताल जान परामर्श दिइएको सह‐संयोजक खड्काले जानकारी दिए। अन्यको सामान्य अवस्था देखिएको छ।

अब आउने सोमबार भूमे–६ महतमा स्वास्थ्य शिविर सञ्चालन गरिने भएको स्वास्थ्य शाखाले जनाएको छ।  

केही समयमै एक्सरे सेवा पनि काँक्रीबाट दिइदै

कोभिड–१९ अस्थायी काँक्रीमा हाल ल्याब परीक्षणसहितको एमबिबिएस डाक्टरबाट सेवा दिइराखिएको छ। एक्सरे सेवाको लागि हाल सामग्री खरिद प्रक्रियामा रहेकोले केही समयपछि एक्सरे सेवा पनि दिइने भएको गाउँपालिकाले जनाएको छ।

यसले गाउँपालिकाबासीलाई थप स्वास्थ्य सेवामा प्रभावकारी हुने छ। हाल उक्त स्वास्थ्य उपचारको लागि अस्थायी जिल्ला सदरमुकाम रुकुमकोट, रुकुम पश्चिम, दाङ, नेपालगञ्ज लगायतमा जाने गरेका छन्।

दुर्गम ठाउँमा डाक्टर बस्न अस्वीकार गर्दै

दुर्गम ठाउँ भएको कारणले एमबिबिएस डाक्टर बस्न अस्वीकार गर्ने गरेका छन्। हालको डाक्टरलाई पनि तीन महिनाको करार सम्झौता गरेर मात्र हाल बसेर सेवा दिइ राखेको गाउँपालिकाका अध्यक्ष बुढाले बताए।

तीन महिनाको करार सम्झौता सकिएमा डाक्टरले पुनः करार नियुक्ति थप गर्न चाहेमा नियुक्ति थप गरिदिने बुढाले जानकारी दिए। करार डाक्टर दरबन्दी दरखास्त आह्वान गरेकोमा कुनैको पनि निवेदन नपरेपछि डाक्टर महतोलाई गाउँपालिकाले सम्पर्क गरी लिएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.