|

दमक : सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै झापामा चुनावी चहलपहल बढेको छ। जिल्लामा क्रियाशील राजनीतिक निर्वाचनको तयारीमा जुटेका छन्। करिब दुई दशकदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन बन्दा जनताले पाउनु पर्ने सेवा सुविधा सहज ढंगले प्रवाह हुन सकेको थिएन। निर्वाचन घोषणा भएपछि स्थानीयमा उत्साह छाएको छ। चिया पसलदेखि घर–घरमा स्थानीय तह निर्वाचनको विषयमा चर्चा सुनिन्छ। 

स्थानीय निर्वाचनमा महिला, दलित, जनजाति, मधेसीको प्रतिनिधित्वका लागि आवाज उठ्न थालेको छ। महिलाको अधिकार सुनिश्चितताका लागि महिला उम्मेदवारलाई विजयी गराउनुपर्नेमा सांसद तथा झापाका सबै पार्टीका महिला नेतृको जोड छ। उनीहरु आफ्नो पार्टीले महिलालाई उचित स्थान नदिए तथा विजयी गराउन इमान्दार नदेखिए पार्टी छाडेर भए पनि योग्य महिलालाई जनप्रतिनिधि बनाइछाड्ने बताउँछन्।

महिलालाको उमेद्वारी देखाउन मात्र नभई जिताउनका लागि पार्टीले इमान्दारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा नेकपा माओवादी केन्द्रकी नेतृ भूमिका कोइरालाको जोड छ। ‘सबै क्षेत्रमा महिलाई ५१ प्रतिशत अधिकार पाउनुपर्छ भनेर माग गरिरहेका छौँ, यो स्थानीय तहमा पनि लागु हुनुपर्छ’, उनले थपिन्, ‘प्रत्येक स्थानीय तहमा एकजना महिला उपप्रमुख बनाउने ब्यवस्था गरिनुपर्छ, महिलालाई पुरुषसँग प्रतिस्पर्धा गर्ने वातावरण बनाउनु हुँदैन, त्यसैले महिलाको एक पद सुरक्षित गर्नुपर्छ।’

स्थानीय तहको निर्वाचन गर्दा सबैलाई समानरुपले सहभागी गराउनु पर्ने दलित अगुवा हुकुम नेपालीको भनाइ छ। स्थानीय तहमा सबैको समान सहभागिताका लागि पछाडि परेको वर्ग दलित, आदिवासी, जनजाति, मुस्लिम लगायतलाई समेत नेतृत्व तहमा पुर्‍याउनु पर्नेमा उनले जोड दिए। ‘जातीय जनसंख्याको अनुपातमा राज्यको हरेक तह र निकायमा उनीहरुको प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ, त्यसो गरेमात्र पछाडि पारिएको वर्ग र समुदायको उत्थान हुनसक्छ,’ उनले भने।

अहिलेसम्म राज्यको कुनै पनि तहमा पछाडि परेका वर्गले नेतृत्व तहमा पुग्न नपाएकाले अबको स्थानीय तह निर्वाचनमा आदिवासी जनजति र पिछडिएको वर्गलाई प्राथमिकता दिनुपर्ने नेपाली काँग्रेस निकट तरुण दलका केन्द्रीय पार्सद भूमिराज राईले बताए। उनले दमक नगरपालिकाको प्रमुखमा उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् । उनी भन्छन्, ‘अहिलेसम्म यो देशमा नेतृत्व गर्ने सबै उपल्ला जातिका छन्, अब पिछडिएका र उत्पीडनमा परेका वर्गले पनि नेतृत्व गर्न पाउनुपर्छ।’ यस क्षेत्रमा आदिवासी जनजातिको बहुल्यता रहेकाले अदिवासी जनजातिलाई प्राथमिकता दिनुपर्ने उनी बताउँछन्।

नेकपा एमाले झापा पनि मेची महाकली अभियान झापाबाट सुरु गरेर स्थानीय तहको निर्वाचनमा होमिएको बताउँछ। लामो समयसम्म स्थानीय निकाय जनप्रतिनिधिविहीन बन्दा जनताले सास्ती खेप्नु परेको समयमा एमालेले स्थानीय तहको निर्वाचनलाई स्वगत गरेको एमाले जिल्ला सचिवालय सदस्य होम थापा बताउँछन्। ‘हामीलाई पनि निर्वाचन लागिसकेको छ, हामी अरुजस्तो प्रक्रियाविना उमेद्वार घोषणा गर्दैनौँ, अहिले कार्यकर्ताको राय लिने क्रममा छौँ, अब छलफल गरेर उम्मेद्वार घोषणा गछौँ।’ एमालेले निर्वाचनमा पिछडिएको वर्गको समान सहभागितालाई समेत प्राथमिकता दिने उनको भनाइ छ।

नेकपा माओवादी केन्द्रले अरुभन्दा एक कदम अघि बढेर नगर प्रमुख र उपप्रमुखमा उम्मेद्वारी घोषणा गरिसकेको छ। पार्टीको नगर कमिटीले औपचारिक कार्यक्रम नै गरेर नगर प्रमुखमा युवा नेता रेवतराज पुरी गगन तथा उपप्रमुखमा आदिवासी तथा महिला नेतृ शान्ति धिमालको उमेद्वारी घोषणा गरेको हो।

यस्तै नेपाली काँग्रेसका भूमिराज राई र घनेन्द्र सुब्बाले दमकको नगरप्रमुखमा उम्मेद्वारी दिने दाबी गरेका छन्। एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमकलाई स्थानीय तहको निर्वाचनमा महत्वका साथ हेरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.