|

काठमाडौ :  सरकारले फागुन २४ गतेदेखि कोरोना विरुद्धको खोप समुदायस्तरमा लगाउने तयारी गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशषज्ञ चिकित्सक डा.रोशन पोखरेलले ​फागुन २४ गतेदेखि समुदायमा खोप लैजाने तयारी मन्त्रालयको रहेको बताए । हाल जारी खोप अभियानलाई नरोक्न खोप खरिद प्रकृया अगाडि बढेको उनले जानकारी दिए ।

डा. पोखरेलले दोस्रो चरणको खोप अबको केही हप्तामा नै आउने संकेत गरे । पोखरेलले भने, 'समुदायमा खोप पाउनुपर्ने वर्गले खोप पाएका छैनन्, जबसम्म समुदायमा खोप पायौं भन्ने अवस्था रहँदैन त्यो बेलासम्म खुशी हुन सकिँदैन ।’

भारतले  गत माघ पहिलो हप्ता सिरम कम्पनीले उत्पादन गरेको कोभिशिल्ड खाेप दिएकाे थियाे। सो खोप सरकारले गत माघ १४ गतेबाट पहिलो प्राथामिकतामा परेकाहरुलाई लगाइरहेको छ।

तर कोरोनाको जोखिमयुक्त उमेर समूहका धेरै नागरिक समुदाय स्तरमा रहेको हुँदा सरकारले अब खोप समुदायस्तरमा लगाउने तयारी गरिरहेको बताएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशषज्ञ चिकित्सक डा. पोखरेलले २० लाख डोज कोरोना विरुद्धको खोप दोस्रो चरणमा ल्याउने तयारी भइरहेको र सो खोप आउने वित्तिकै समुदायस्तरमा खोप अभियान सन्चालन गरिने बताए।

सरकारले खरिद प्रकृया अघि बढाएको भन्दै उनले भने, ‘२० लाख डोज खोप भनेको समयमा आएमा फागुनमै हामीले समुदायस्तरमा अबको खोप अभियान सन्चालन गर्छौँ तर भनेको समयमा खोप आएन भने एक दुई हप्ता ढिलो पनि हुनसक्छ।‘

डा‍.पोखरेलका अनुसार जोखिमयुक्त उमेर समुहमा धेरै नागरिक समुदायस्तरमा रहेका हुनाले अबको प्राथामिकता समुदायस्तरमा खोप अभियान रहेको बताए।  उनले भने ‘जनताले खोप पाएका छैनन्,५५ बर्ष माथिका धेरै जोखिम उमेर समूहका जनता समुदायमा नै रहेकाले हामीले अबको खोपको प्राथामिकता उहाँहरुलाई राख्नुपर्छ हामीले सोही अनुसार तयारी गरिरहेका छौँ।‘  

मन्त्रालयले दोस्रो चरणमा पनि भारतकै कोभिशिल्डकै खोप ल्याउन लागेकाे हो । केही खोप अनुदान र केही खोप खरिद गरेर ल्याउने गरी मन्त्रालयले तयारी गरेको बताइएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.