|

धनुषा : जिल्ला मालपोतका कर्मचारीले करोडौं रुपैयाँ लेनदेनमा जनकपुरको बहुमूल्य वग्गा अवैधानिक रूपले रजिस्ट्रेसन गरी हिनामिना गरेको खुलेको छ।
जनकपुर–१ रेलवे स्टेसनस्थित एक बिघा दुई कठ्ठा १० धुर १ कल्मा जग्गा मंगलबार भारतीय नागरिक बच्चाप्रसाद सिंह (गत मंसिरमा मात्र नेपाली नागरिकता बनाएका) को नाममा रजिस्ट्रेसन पास गराई सोही दिन फेरि अरुको नाममा बिक्रीसमेत भएको हो।

जनकपुर उपमहानगरपालिकाको नक्कली सिफारिसपत्र प्रयोग र अदालतको आदेशविपरीत उक्त जग्गा एकै दिन नम्बरीसमेत गरी बिक्री भइसकेको कागजात तयार भएपछि यो रहस्य बाहिर आएको हो।

जिल्ला अदालत सर्लाहीले गत मंसिर १६ गते मालपोत कार्यालय धनुषाको नाममा पठाएको पत्र फागुन २९ गते मालपोतले प्राप्त गरेको छ। उक्त पत्रमार्फत अदालतले बच्चाप्रसादको नाममा दर्ता रहेको जनकपुर–१ सिट नम्बर १३५६१९८ को कित्ता नम्बर ७१ को एक बिघा दुई कठ्ठा १० धुर एक कल्मा क्षेत्रफलसहितको जग्गा कुनै किसिमबाट हक हस्तान्तरण गर्न नपाउनेगरी अदालती बन्दोबस्ती १७१(क) नम्बरबमोजिम रोक्का गर्न भनिएको छ।

मालपोतले भने उक्त जग्गा बच्चाप्रसादको नाममा दर्ता नै नरहेको जवाफ पत्रमार्फत अदालतलाई दिएको छ। त्यसको अर्को दिन अर्थात् फागुन ३० गते होलीको विदा पर्यो। धनुषा सोनिगामा–६ बस्ने रामहृदय साह तेली र जनकपुर–१ बस्ने बच्चाप्रसादबीच लेनदेन बिगो मुद्दामा भएको आदेशअनुसार चैत १ गते सर्लाही जिल्ला अदालतले अर्को पत्र लेखेर जग्गाको चारमध्ये एक भाग रोक्का र्ग अनुरोध गरेको छ।

मालपोतले भने दुई दिनअघि बच्चुप्रसादको नाममा दर्ता नै नरहेको भनेको जग्गा अदालतबाट अर्को पत्र आएकै दिन उनकै नाममा रजिस्ट्रेसन पास गरी अन्य पाँच जनाको नाममा बिक्री गरेको कागजात तयार पारेको छ।

बच्चुप्रसादको अनुपस्थितिमा उनको नाममा जग्गा पास भएको र फेरि बिक्री पनि भएको स्रोतले जनायो। स्रोतका अनुसार बच्चुप्रसादको नक्कली हस्ताक्षर गरी जग्गा पास भएको हो।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.