|

काभ्रे : आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षामा काभ्रे जिल्लाबाट २ जना दृष्टिविहीन, ४ जना कैदीबन्दी र ७ जना बहिरा विद्यार्थी परीक्षामा सहभागी भएका छन्।

जिल्ला शिक्षा कार्यालय काभ्रेको परीक्षा शाखाका शाखा अधिकृत रामबहादुर तामाङका अनुसार दृष्टिविहीन सरिता कार्की र प्रवेग तामाङले श्रीखण्डपुर मावि केन्द्रबाट परीक्षा दिएका हुन्।

त्यस्तै, जिल्ला कारागार शाखा काभ्रेबाट विभिन्न मुद्दामा बन्दी रहेका ४ जनाले परीक्षामा सहभागिता जनाइरहेका छन्। वीरबहादुर तामाङ अपहरण तथा हातहतियार मुद्दा, सुरेश श्रेष्ठ कर्तव्य ज्यानमुद्दा, दिनेश श्रेष्ठ सवारी मुद्दा र पेमा लामा ज्यान मुद्दामा कैद खेपिरहेको कारागार स्रोतले जनाएको छ। उनीहरु चारै जनाले जिल्ला कारागारबाटै परीक्षा दिइरहेका हुन्।

यसैगरी, सञ्जीवनी मावि केन्द्रबाट ७ जना बहिरा विद्यार्थीहरुले परीक्षा दिइरहेका छन्। जसमा शिशिर दवाडी, प्रदीप सापकोटा, लुना पन्त, शारदा अधिकारी, भेषकुमारी चौलागार्इं, रेविका तामाङ र सुनिता नेपाल रहेका छन्।

शाखा अधिकृत तामाङका अनुसार सहभागीमध्ये ८ हजार ८० जना नियमिततर्फको परीक्षार्थी रहेको बताए। त्यसबाहेक एक्जाम्टेडतर्फ नयाँमा ३ सय १५ र पुरानातर्फका २ सय २५ जना रहेको बताए।

कुल परीक्षार्थीमध्ये १ सय ६५ जना भने विद्यालयको कुल हाजिरीको ७५ प्रतिशतभन्दा कम हाजिर भएकाले परीक्षामा सहभागिता जनाउन नपाएको शाखा अधिकृत तामाङले जानकारी दिए। जिल्लाका सामुदायिक र संस्थागत विद्यालय गरी २ सय १६ वटा विद्यालयका विद्यार्थीहरु परीक्षामा सहभागी भइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.