|

धनगढी : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तराई र पहाडबीच फाटो ल्याएर देश टुक्र्याउने षड्यन्त्र भइरहेको बताएका छन्। तर, एमालेले त्यसलाई सफल हुन नदिने उनको जिकिर छ।

एमालेको मेची-महाकाली राष्ट्रिय अभियानअन्तर्गत धनगढीको गणतन्त्र चोकमा बिहीबार भएको सभालाई सम्बोधन गर्दै ओलीले संविधान संशोधनलाई नेपालबाट तराईलाई छुट्याउने कसरतका रुपमा ब्याख्या गरे।

आफ्नो प्राधानमन्त्रीत्वकालमा पनि संविधान संशोधन गरेको स्मरण गर्दै ओलीले त्यसले नदिएको निकास अबको संशोधनले पनि नदिने ठोकुवा गरे। संविधान संशोधन र स्थानीय चुनावबीच कुनै सम्बन्ध नरहेको उनको भनाइ छ।

साथै अध्यक्ष ओलीले एमालेलाई जनतामा जानबाट रोक्न खोजिएको भन्दै आपत्ति जनाए। 'एमालेलाई जनतामा जान नदिने, एमाले जाँदा बन्द घोषणा गर्नेहरु देशलाई नै अघि बढ्न नदिन सक्रिय छन्,' ओलीले भने, 'संविधान बन्न नदिन खोज्ने तथा शान्ति कायम गर्न नदिने यिनीहरु नै हुन्।'

प्रचण्डलाई जालमा पारे : वामदेव

सोही कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष वामदेव गौतमले मुलुकलाई नै समाप्त पार्ने षड्यन्त्र भएकाले मेची-महाकाली अभियान चलाएको बताए। 
भारतले देशभित्रका कमजोर शक्तिलाई प्रयोग गरेर ओली सरकार ढालेको उनको आरोप छ। गौतमले चीनसँगको पारबहन सम्झौता र ओलीको लोकप्रियतासँग डराएकाहरुले प्रचण्डलाई प्रयोग गरेको टिप्पणीसमेत गरे।

साथै उनले मधेसी दलहरुको विरोधप्रति व्यङ्ग्य गरे। 'हामीलाई कालो टालो देखाउँछन्, त्यसमा आफ्नै अनुहार देखिन्छ, अनि एमालेको विरोध गरेको ठान्छन्,' वामदेवले भने।

एमाले नेताहरु धनगढीको सभा सकेर कञ्चनपुरतर्फ लागेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.