|

विराटनगर : मोरङ केराबारी गाँउपालिका –८ स्थित खदम खोलामा जनप्रतिनिधिको मिलमतोमा अवैध उत्खननका कारण गाउँ नै जोखिममा परेको भन्दै स्थानीय आन्दोलित बनेका छन्। 

कोराबारी गाउँपालीका–८ आमाजुङीका स्थानीयले जनप्रतिनिधिको मिलेमतोमा क्रसर उद्योगको मनोमानी उत्खननका कारण गाउँ नै जोखिमा परेको भन्दै गाउँपालिका कार्यालय अगाडी आइतबार प्रदर्शन गरेका हुन्। 

गाउँपालिका अध्यक्ष रोहित कार्की र क्रसर उद्योग सञ्चालक भीम पौडेलको मिलेमतोमा अवैध उत्खनन हुने गरेको स्थानीयको आरोप छ। दश वर्षदेखि क्रसर व्यवसाय सञ्चालनमा आएको उक्त स्थानमा विगतका दिनमा अवैध उत्खनन नभएको केराबारी–८ का जितबहादुर बस्नेत बताउँछन्। ‘हाम्रोमा करिब पाँच सय घरधुरी छन्,  क्रसर व्यवसाय सञ्चालन भएको दश वर्ष भयो यो भन्दा अगाडि यस्तो भएको थिएन, बस्नेतले भने, भीम पौडेल भित्रिएको करिब डेढ वर्ष भयो यो समयअवधिमा जताततै ज्यादती भएको छ।’ 

अवैध उत्खनन नियन्त्रण गर्न खोज्दा क्रसर उद्योगीले खोलामा रहेको मापदण्डमा रहेर काम गर्छौ भन्ने आश्वासन दिएको भए पनि अवैध कार्य नरोकिएको स्थानीहरुको गुनासो छ।

‘अवैध क्रियाकलापलाई रोक्न गत मंसिर– ८ गते गाउँपालिका, वडा, प्रशासनमा समेत हामीले निवेदन दिएका थियौँ,' बस्नेतले भने, 'हामी शुक्रबार तपाईंहरुलाई बोलाएर छलफल गराउँछौँ भन्नु भएको थियो केराबारी गाउपालिका मेयरले तर मेयरले पनि बेवास्ता गर्नुभयो।’ 

सुरक्षा माग गर्दा चोरी आरोप 

अवैध उत्खननका कारण ५ सय घरपरिवार जोखिममा पर्ने भएपछि स्थानीयले सुरक्षा माग राख्दै महादेवा मिनरल इन्ड्रष्ट्रीमा शनिबार आन्दोलन गरे। आन्दोलनका क्रममा क्रसर महादेवा मिनरल इन्ड्रष्ट्रीको अफिस र बिल काउण्टरमा शनिबार स्थानीयले तोडफोडसमेत गरेका छन्। उक्त इनड्रष्ट्री मनोज खड्काको नाममा दर्ता रहेको र भीम पौडेलको ठेक्कामा रहेको सोही इनड्रष्ट्रीमा कार्यरत एक कर्मचारीले जानकारी दिए। 

आफूहरुले सुरक्षा माग  गर्दा उद्योगी पौडेलले १९ लाख ५० हजार चोरीको आरोपसमेत लगाएको स्थानीय गोपाल खड्काको गुनासो छ।  

‘पाँच सय घर परिवार जोखिममा परेको छ। त्यसमा पनि अतिविपन्न परिवार पनि विस्थापित हुन्छन्। हामीले हाम्रो सुरक्षा माग गर्दा हामीलाई चोरीको आरोप लाग्ने?,' खड्काले प्रश्न गर्दै भने, ‘गोपाल खड्का, गोपाल थापा, जितबहादुर बस्नेत र राजेश राईलाई केराबारीमा ठाडो उजुरी दिएर बेलबारीमा जाहेरी दिएको छ भन्ने हामीले सुनेका छौं।’ 

'आउँदिनँ भन्नुहुन्छ हाम्रो मेयर'

बर्खा लाग्दा बाढीको त्रासले पोका कसरे बस्न बाध्य केराबारी गाउँपालीका–८ आमाजुङीका स्थानीलाई खोला उत्खनन भएसँगै विस्थापित नै हुनुपर्ने त्रास बढेको स्थानीय सावित्रा विश्वकर्मा बताउँछिन्। 

'जहाँ मेसिन लगाएर खन्दैछन्, त्यो खोला होइन,' उनले भनिन्, 'हामीले डोकोमा ढुंगा बोकेर जाली लगाएर स्थानीयलाई सुरक्षा दिएको ठाउँ हो, तर पैसाको लोभले हामी जनतालाई बालुवा र धुलो मात्रै खुवाउने?' 

आफूहरुले भोट दिएर पठाएका जनप्रतिनिधि नै मिलेमतो रहेको आरोप लगाउँदै सावित्रीले भनिन्, 'जनतालाई अन्याय भएको अवस्थामा खोलामा आउँदिनँ भन्नुहुन्छ हाम्रो मेयर।' उनी थप्छिन्, 'कुलो पैनी केही छैन, हाम्रो बालबच्चा कसरी पाल्नु? 

के भन्छन जनप्रतिनिधि ?

मापदण्डविपरीत ठेकेदारले नदी उत्खनन गरेको केराबारी गाउँपालिका–८ का वडाध्यक्ष मनोज कुमार खड्काले स्वीकार गरेका छन्। ‘हामीले तोकिएको मापदण्डमा रहेर ढुंगा, बालुवा र गिट्टी निकाल्ने आचरसंहिता बनाएका थियौं,’ वडाअध्यक्ष खडेकाले भने, ‘त्यसको अहिले पालना भएको छैन।’

जनप्रतिनिधिले पनि अवैध खोला उत्खनन र चोरी तस्करी रोक्न नसकेको उनको भनाइ छ। यता केराबारी गाउँपालिकाका मेयर रोहित बहादुर कार्कीले कुनै प्रतिक्रिया दिन मानेनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.