|

कञ्चनपुर : संविधान र पार्टीबारे मधेसी जनतामा भ्रम रहेको र त्यसलाई चिर्न भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मेचीको किनार झापाको काँकडभिट्टाबाट थालेको मेची–महाकाली राष्ट्रिय अभियान बिहीबार सुदूरपश्चिम पुगेर समापन भएको छ। 

संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि र स्वाभिमान, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि मेची–महाकाली अभियान नारा बोकेर एमालेले सुखानीका सहिदलाई सम्झिँदै फागुन २१ गते थालेको अभियान बिहीबार कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा भएको कार्यक्रमसँगै समापन भएको हो। 

मेची–महाकाली अभियान अर्थात् चुनाव प्रचार 

बिहीबार एमालेले सुदूरपश्चिमका तराईमा पर्ने २ जिल्ला कैलालीको धनगढी र कञ्चनपुरको महेनद्रनगरमा कार्यक्रम गर्‍यो। समापन कार्यक्रममा एमालेको यो अभियानले अरु राजनीतिक दलहरूमा तहल्का मच्चिएको विश्लेषण अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताले गरे। उनीहरूको भनाइ थियो, ‘यसको परिणाम आसन्न स्थानीय तहको निर्वाचनमा देखिने छ।’ 

एमालेले मेची किनारबाट सुरु गरेको अभियानले आफ्ना पक्षमा स्थानीय तहको निर्वाचनको वातावरण बनेको र स्थानीय कार्यकर्तामा हौसला थपेको एमाले नेताहरुले बताए। अध्यक्ष ओलीले कञ्चनपुरमा भने, ‘वैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचन हुनैपर्छ, यसमा कुनै बहानाबाजी चल्दैन।’ 

वरिष्७ नेता माधव नेपालको भनाइ थियो, ‘एमाले जनतामा जाँदा अरु दल आत्तिएका छन्। उनीहरू बम, भाला ल्याएर आएका थिए।’ यी अवरोधका बाबजुद सभाहरूमा उल्लेख्य उपस्थिति रहेको र यसले स्थानीय तहको निर्वाचनमा जनमत आफ्नो पक्षमा पर्ने विश्लेषण एमालले गरेको छ।

मोर्चाको खेदो खनियो अभियानभर

एमाले नेताहरूका प्रत्येक भाषणमा मधेसी मोर्चाका नेताहरूको चर्को आलोचना भयो। यो क्रम अन्तिम दिन पनि कायम रह्यो। एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेसी मोर्चाका नेताले लोकतन्त्रको नाश गर्न खोजेको बताए। उनले धनगढी र कञ्चनपुरका कार्यक्रममा मोर्चालाई संविधान संशोधनमा लिएको अडानको उद्देश्य दृश्यमा र पर्दापछाडि फरक रहेको बताए। उनले भने, ‘संविधान संशोधन र स्थानीय तहको निर्वाचनमा कुनै साइनो छैन। यो संशोधन पहाड र तराई टुक्राउनेमा केन्द्रीत छ।’ 

अध्यक्ष ओलीले आफू सरकार प्रमुख भएका बेला पनि संविधान संशोधन प्रयास भएको र सुशील कोइरालाको नेतृत्वको सरकारमा भएका बेला पनि संशोधन गरिएको तर मोर्चामा केही फरक नआएको गुनासो गरे। 
मोर्चाको आलोचना गर्नेमा अभियानभर उपाध्यक्ष वामदेव गौतम पनि अग्रस्थानमा रहे। उनले मधेसी नेता कसबाट परिचालित भएका हुन् भनेर प्रष्ट हुनुपर्ने मात्र भनेन् उनीहरूको राष्ट्रियताबारे समेत शंका गरे। बिहीबारको सभामा उनले भने, ‘आफूलाई नेपाली हुँ भन्नेहरूले भारतको सिपाही भएर नाकाबन्दी गरे।’

गौतमले मोर्चाका नेताहरुको नाम नलिए पनि ‘तिर’ भने मोर्चातिरै लक्षित थियो। यस्तै नागरिकता र भाषाका विषयमा पनि गौतमले मोर्चाका नेताहरू अन्तैबाट परिचालित भएको आरोप लगाए। एमाले नेताहरुले मोर्चाका नेताहरूका बारेमा आलोचना नगरेको कुनै कार्यक्रम नै थिएन।

अभियानका क्रममा ५ को मृत्यु, दर्जनौं घाइते

एमालेको मेची महाकाली अभियानको तेस्रो दिन सप्तरीमा भएको कार्यक्रममा मधेसी मोर्चाले चर्को विरोध गर्‍यो। कार्यक्रमपछि प्रहरीले गोली चलाउँदा २ जनाको  घटनास्थलमै र ३ जनाको उपचारका क्रममा मृत्यु भयो। सर्वसाधारणको मृत्युको विरोधमा मधेसी मोर्चाले मधेस बन्द गर्यो। २ नम्बर प्रदेशमा एमालेको व्यापक विरोध गर्‍यो।

यसका कारण एमालेले २ नम्बर प्रदेशमा कार्यक्रममा नै गर्न सकेन। ३ दिन स्थगित गरी हेटौंडाबाट कार्यक्रम सुरु गर्‍यो। अभियानकै क्रमममा बाँकेको गुनाना चोकमा गोली चलेको थियो। जहाँ एक प्रदर्शनकारी घाइते भए। अन्य केही ठाउँमा मोर्चाले काला झण्डा देखाए पनि अप्रिय घटना घटेनन्। 

२४ सभामा अभियान

एमाले–क्याराभान नामले समेत परिचित मेची महाकाली अभियानमा पूर्वदेखि पश्चिमसम्म २४ सभाको आयोजना गरिए। सभालाई अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्षहरू, सचिव र अन्य नेताहरुले सम्बोधन गरे। 

सभाहरूमा एमालेले कुनै जाति, समुदायविरोधी होइन भन्ने पुष्टि गर्न अध्यक्ष ओली लगायत नेता स्थानीय वेशभूषामा देखिए। २ नम्बर प्रदेशको सभामा अध्यक्ष ओली मधेसी पहिरनमा उपस्थित भए। त्यस्तै कोशी पूर्वका क्षेत्रमा राई, राजवंशी, लिम्बू जातिका साँस्कृतिक पहिचान प्रस्तुत गरिए। पाँच र सात नम्बर प्रदेशमा थारू, मगर समुदायको पहिचान प्रदर्शन गरिए। 

२ नम्बर प्रदेशमा के होला?

एमालेको मेची–महाकाली अभियान विधिवत् रूपमा सकिएको छ। तर, २ नम्बर प्रदेशमा घोषित सभा भने स्थगित गरिएको जनाइएको छ। रोकिएको सभा कहिले गर्ने भन्ने टुंगो नलागे पनि प्रचारप्रसार विभाग प्रमुख योगेश भट्टराईले ५ लाख जनता उतारेर चाँडै सभा गर्ने बताएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.