|

विराटनगर : मोरङको टंकिसिनुवारी–१ स्थित म्याजिक चप्पल कारखानामा भीषण आगलागी भएको छ। शुक्रबार बिहान ४ बजेतिर लागेको आगो पूर्ण रुपमा अझै नियन्त्रणमा आएको छैन। आगलागी ७५ प्रतिशत मात्रै नियन्त्रणमा आएको मोरङका प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले बताए।

चप्पल कारखानामा केमिकल तथा प्लाष्टिकका धेरै सामान भएको कारण आगो नियन्त्रणमा कठिन भएको उनले जानकारी दिए। ‘अहिले पनि १२ वटा दमकलले निरन्तर आगो नियन्त्रणको प्रयास गरिरहेका छन्,’ भण्डारीले भने, ‘अझै नियन्त्रण हुन केही समय लाग्छ।’

आगलागी नियन्त्रणमा लिन विराटनगर, सुनसरीको इटहरी, इनरुवा र धरान तथा सप्तरीको राजविराजबाट समेत दमकल आएका छन् भने ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा स्थानीयसमेत खटेका छन्।

विद्युत सर्ट भएर आगलागी भएको अनुमान स्थानीयको छ। आगलागीको कारण अझै खुलिनसकेको प्रहरीले जनाएको छ। आगलागीबाट कति क्षति भयो भन्ने विषयमा यकिन नभएपनि उद्योगको सम्पूर्ण तयारी माल, कच्चा पदार्थ तथा उद्योगका प्लान्टसमेत जलेर नष्ट भएको छ। जसका कारण करोडौं रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ।

पछिल्लो समय नेपाली स्वदेशी उत्पादन म्याजिक चप्पल निकै लोकप्रिय बनेको छ। म्याजिक चप्पल उत्पादन गर्ने जयश्री पियूटेक उद्योग विराटनगरको बगडिया समूहले सञ्चालन गर्छ। उद्योगको म्याजिक ब्रान्डको चप्पल र जुत्ता पछिल्लो समय नेपाली बजारमा निकै लोकप्रिय बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.