|

काठमाडौं : नेपालमा कोरोनाविरुद्धको दोस्रो खोप अभियान आइतबार सुरु भएको छ। याे अभियानको पहिलो दिनमै १ लाख ६५ हजार ४२८ जनाले खोप लगाएका छन् ।

सरकारले  ६५ बर्ष माथिका जेष्ठ नागरिक र यसअघि छुटेका स्वास्थ्यकर्मीलाई खोप दिने व्यवस्था मिलाएको थियो। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका अनुसार ३७४ वटा पालिकाका २ हजार ४१९ वटा खोप केन्द्र सञ्चालन भइरहेको छ।

सरकारले यसअघि सुनिश्चित गरिएको खोप नआएपछि अन्तिम समयमा ६५ बर्ष उमेर समूह माथिकालाई मात्रै खोप अभियान सुरु गरेको छ। खोपको उपलब्धता र जोखिमको आधारमा ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई दोस्रो चरणको सुरुवातमा  खोप लगाइ दोस्रो चरण सुरु भएको करिब १० दिनपछि ५५ देखि ६४ वर्षसम्मका ज्येष्ठ नागरिकलाई खोप दिइने यस अघि नै मन्त्रालयले जनाइसकेको छ।

सुनिश्चितता भएको खोपसमेत नआएपछि अब गत माघ १४ गते पहिलो चरणमा खोप लगाएकाहरूले दोस्रो डोज लगाउने समय पनि लम्बिन सक्ने मन्त्रालय स्रोतले जनाएको छ। यसअघि मन्त्रालयले पहिलो खोप लगाएकाहरूलाई ८ देखि १२ हप्तापछि दोस्रो खोप लगाउने बताएको थियो। मन्त्रालय स्रोतले भन्यो ‘ हुन त दोस्रो डोज खोप जति ढिला लगायो उति नै प्रभावकारी हुन्छ भनिएको छ तर हाल खोपको उपलब्धताको आधार हेर्दा दोस्रो डोज लगाउनुपर्ने खोपको समय अझै लम्बिन सक्छ।‘

यता विश्व स्वास्थ्य संगठन र ग्लोबल भ्याक्सिन अलाइन्स (गाभी) ले ‘कोभ्याक्स सुविधा’अन्तर्गत २० प्रतिशत ९६० लाख नागरिकलाई पुग्नेगरी खोप दिने र पहिलो चरणमा २२ लाख ५६ हजार खोप दिने घोषणा गरेपनि ३ लाख ४८ हजार डोज खोप मात्रै आइतबार  आइपुगेको छ। भारतको पुणेस्थित सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप कोभ्याक्सले खरिद गरेर नेपाल पठाएको हो।

मन्त्रालयले यसअघि २० लाख डोज खोप खरिदका लागि सेरम इन्स्टिच्युट अफ इन्डियालाई अग्रिम रकम भुक्तानी गरिसकेको भए पनि १० लाख डोज मात्रै खोप आएको छ भने बाँकी १० लाख खोप कहिले आउछ भन्ने निश्चित नभएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले  फेरी  थप ५० लाख डोज ‘कोभिसिल्ड’ खरिद गर्ने तयारी गरेपनि हालसम्म कम्पनिले कुनै जवाफ नदिएको बताइएको छ। मन्त्रालय स्रोतले भन्यो ‘ एकै पटक धेरै देशहरुले  खोप अर्डर गरेर होला कम्पनिले पनि कुनै जवाफ पठाएको छैन। अब खोप समयमा नै आएपनि खरिद गर्ने खोप बजार मुल्यमा नै किन्नु पर्ने हुन्छ होला।‘

खुल्ला बजार मुल्यमा कोभिसिल्ड खोप किने ५ डलर पर्न आउने मन्त्रालयका अधिकारीले जनाएका छन् । यसअघि सरकारले खरिद गरेको २० लाख खोप सम्झौतामा दुई चरणमा गरी १५ दिन भित्र सबै खोप नेपाल पठाउने भनिएको थियो। सिरमले सम्झौता भएको ५ दिनमै पहिलो लटको १० लाख डोज खोप पठाएको थियो।

 सरकारले गत माघ १४ गते भारतले अनुदान स्वरुप दिएको १० लाख डोज खोपबाट नेपालमा कोरोनाविरुद्धको खोप अभियानको पहिलो चरण सुरु गरेको थियो। आइतबारबाट सुरु भएको दोस्रो चरणको खोप अभियान अनुदान स्वरुप आएको १० लाख डोजमध्ये बचेको ५ लाख डोज खोप र खरिद गरेर आएको १० लाख डोज खोपबाट खोप अभियान सुरु गरेको थियो।

चीनले अनुदानस्वरुप दिने भनेको ५ लाख डोज खोप पनि हालसम्म आइपुगेको छैन। नेपाल सरकारले अहिले चिनियाँ खोप र भारतको सिरम इन्स्टिच्युटबाट उत्पादित कोभिशिल्ड खोप प्रयोगका लागि अनुमति दिएको छ। नेपालले चीनको सिनो फार्म कम्पनीको ‘भेरो सेल’ खोप प्रयोग गर्न अनुमति दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.