|

पाकिस्तानमा लाहोर विश्वविद्यालयमा सार्वजनिक रुपमा प्रेम प्रस्ताव राखेपछि एक प्रेम जोडीलाई निष्कासन गरिएको छ।

विश्वविद्यालयमा सबैका अघि घुँडा टेक्दै ती प्रेमीले आफ्नी सहपाठी प्रेमिकालाई फूल दिएर अँगालो हालेका थिए।

उक्त घटनालाई लिएर विश्वविद्यालयले तत्कालै ती प्रेम जोडीमाथि कारबाही गरेको हो।

विश्वविद्यालयले एक विज्ञप्ति जारी गर्दै ती विद्यार्थीहरूलाई अनुशासन समितिले बोलाएको, तर उनीहरू उपस्थित नभएको जिकिर गरेको छ। नियम उल्लंघन गरेको आरोप लगाउँदै विश्वविद्यालयमा उनीहरूको प्रवेशमै प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ। 

तात्यो सामाजिक सञ्जाल

यस घटनाबारे ट्वीटरमा टिकाटिप्पणी शुरू भएको छ। पाकिस्तानबाट मात्र नभई अन्य मुलुकका ट्वीटर प्रयोगकर्ताले विश्वविद्यालयको प्रशंसा र आलोचना गरिरहेका छन्।

वकिल जैनाब मजारी हाजिरले लेखेका छन्, 'यस देशका विश्वविद्यालयहरू यौन हिंसा, भीड हिंसा, खुफिया क्यामेरा (विद्यार्थीहरूलाई ब्ल्याकमेल गर्ने) व्यक्तिबारे मौन बस्छन्‌, तर प्रेम गर्ने जोडीहरूलाई भने कारबाही गर्छन्‌।'

पाकिस्तानका धेरै विश्वविद्यालयहरूमा शिक्षक तथा कर्मचारीहरूबाट महिला विद्यार्थीमाथि यौन उत्पीडनका धेरै घटना भएका छन्।

२०१७ मा वाचा विश्वविद्यालयका मसल खानको हत्या भएको थियो। उनीविरुद्ध ईश्वर निन्दा गरेको आरोप लगाइएको थियो। अन्य विश्वविद्यालयहरूमा पनि राजनीतिक र धार्मिक संगठनहरूबीच हिंसात्मक घटनाका खबर सार्वजनिक हुने गरेका छन्‌।

विशेषगरी पाकिस्तान क्रिकेटसँग सम्बन्धित विषयमा कुरा गर्ने क्रिकेट विश्लेषक डेनिस फ्रिड्म्यानले ट्वीटरमा आफ्नो नाम परिवर्तन गरेर डेनिस लाहोर विश्वविद्यालय राखेका छन्।

एक प्रयोगकर्ताले उनको ट्वीटमा प्रत्युत्तर फर्काएका छन्‌, 'विश्वविद्यालयहरू विवाह ब्यूरो होइनन्, त्यसैले विश्वविद्यालयलाई आफ्नो काम गर्न दिउँ।' डेनिसले उनको सवालको उनकै पारमा जवाफ दिँदै भनेका छन्, 'ठीक छ, क्याम्पसमा खाना खानु हुँदैन, किनकि विश्वविद्यालय रेष्टुराँ होइन।'

अफजल खान जमालीले लेखेका छन्, 'यहाँ बच्चाहरूलाई बलात्कार गर्न सकिन्छ, मार्न सकिन्छ, शोषण गर्न सकिन्छ, तर जब प्रेमको कुरा आउँछ-मान्छे भन्छन् कि यो इस्लामिक रिपब्लिक अफ पाकिस्तान हो, सार्वजनिक रुपमा प्रस्ताव गर्दा के गल्ती भयो?'

एजाज अलीले लेखेका छन्, 'यो देख्दा धेरै दु:ख लाग्छ कि एक जवान जोडीलाई एउटा सानो आरोपमा विश्वविद्यालयबाट निकालिएको छ, मलाई आशा छ-लाहोर विश्वविद्यालयले यस निर्णयलाई फिर्ता लिनेछ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.