|

  • ईश्वर थापा

धनकुटा : सामान्यतया जीवित मानिस बस्नका लागि घर बनाइन्छ तर, यहाँ अचम्म लाग्ने कुरा आत्मा बस्ने घर छ। करिब पाँच वर्षअघि नाम्जेस्थित यो घर बनाइएको हो। नौलो र अनौठो घर भएकै कारण उक्त घर हेर्नका लागि अहिले विभिन्न स्थानबाट आन्तरिक तथा बाह्य पर्यटकहरु नाम्जे पुग्ने गरेका छन्।

अन्तर्राष्ट्रिय सञ्चार संस्था सिएनएनले यस घरलाई विश्वको १२ ‌औं घुम्न लायक गन्तव्यको सूचीमा राखेको छ। धनकुटाको भेडेटारस्थित नाम्जेमा रहेको आत्मा बस्ने घर आन्तरिक तथा बाह्य पर्यटकको लागि निकै आकर्षक बनेको छ। मृत्यु भएका व्यक्तिको आत्मा बस्ने भन्दै बनाइएको घर हेर्दैमा अचम्म र आर्कषक देखिन्छ।

आत्मा बस्ने घर हेर्नका लागि अहिले दैनिक ५० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेको स्थानीय मनकुमार मगरले बताए। मगरका अनुसार तुलनात्मक रुपमा पछिल्लो समय पर्यटकहरुको संख्या बढदै गएको छ। आत्मा बस्ने घर हेर्नका लागि पूर्वाञ्चलका विभिन्न जिल्लासँगै भारतबाट पनि पर्यटक आउने गरेका छन्। आत्मा बस्ने घर भित्रको दृश्य हेर्न अन्य दिनको तुलनामा बिदाको दिन भने धेरै  पर्यटकहरु आउने थापा बताउँछन्।

भेडेटार गा.वि.स. ६ र ७ वडाका १ सय १३ मगर जातिको समाधिहरुलाई एकै ठाउँमा राखी मृत पुर्खाहरुको सम्मानमा २०६८ साल जेठमा आत्मा बस्ने घर बनाइएको हो। हरेक जात जाति र धर्ममा आस्था राख्नेहरुलाई पुर्खाहरुको स्मरण गराउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आत्मा बस्ने घर निर्माण गरिएको स्थानीयवासीको भनाइ छ। अमेरिकन नागरिकहरुको पहल र प्राविधिक सहयोगमा उक्त घर निर्माण गरिएको हो। घर जाने बाटोमा ढुंगाको गेट आत्मा ढुंगै–ढुंगाको पर्खालको बीचमा सिसाले छोपेर समाधिस्थल बनाइएको छ। मानिसको मृत्युपश्चात् आत्मा स्वर्गमा पुग्छ भन्ने जनविश्वास रहेकाले सिसाको माध्यमबाट सबैमा महसुस गराउने उद्देश्यले सो घर निर्माण गरेको स्थानीय बताउँछन्।

फरक विशेषता बोकेको नौलो  आत्मा बस्ने घरसहित अन्य पर्यटकीय स्थलहरु पनि प्रशस्त रहेकाले यो क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ।

 त्यस्तै, हेर्दै मनै लोभ्याउने भेडेटार बजारबाट २ किलोमिटर पश्चिममा रहेको नाम्जे गाउँ पर्यटकको लागि अति आकर्षण केन्द्र बनेको छ। नाम्जे गाउँमा ९७ प्रतिशत मगर जातिको बसोवास छ। समुद्र सतहबाट १७ सय ७० मिटर उचाइमा रहेको यो गाउँ मगर जातिले मौलिक सांस्कृतिक हुर्रा नाच नाचिने आफ्नै रमाइलो परम्परा रहेको छ। पर्यकीय गाउँ नाम्जेमा घर–घरमा होमस्टेको  राम्रो प्रबन्ध रहेको छ। होमस्टेमा बास बस्न आउने पाहुनाहरुलाई हुर्रा नाच देखाएर स्वागत गर्ने र जाने बेलामा पनि हुर्रा नाचेर नै बिदा गर्ने चलन छ।

होमस्टेमा आउने पर्यटक याहाँको अग्र्यानिक खानाबाट खान पाउँदा झन् खुसी भएका स्थानीय अमृत मगरले बताउँछन्। रमाइलो डाँडाकाँडा रहेको नाम्जेबाट तराईका मोरङ सुनसरी लगायतका जिल्लाहरुको फाँटका साथै त्यहाँबाट उत्तरमा मकालु, कन्चजंघा, कुम्भकर्ण हिमाल र विश्वको सर्वोच्च शिखर सगरमाथाको समेत दृश्य र क्षितिजमा सूर्यास्तको दृश्यसमेत हेर्न सकिन्छ।

 भेडेटारमा रहेको पाथिभरा मन्दिर, ध्वजेडाँडा, सिम्सुवामा रहेको नमस्ते झरना,  लगायतका अति रमणीयस्थलले पर्यटकको मनै लोभ्याउछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.